खिलराज रेग्मी राष्ट्रपति बन्न मिल्दैन : संविधानविद

१० कात्तिक, काठमाडौं । राष्ट्रपतिको दौडमा इच्छा देखाएका मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी अन्ततः नयाँ संविधानको प्रावधानकै कारण राष्ट्रपति पदका लागि ग्राह्य नहुने भएका छन् ।
संविधानका जानकारहरुका अनुसार सर्वोच्च अदालतको प्रधानन्यायाधीश भैसकेको व्यक्ति भएका कारण रेग्मीले राष्ट्रपतिको उम्मेद्वार बन्न नपाउने भएका हुन् ।
पूर्वप्रधानन्यायधीशले सरकारी नियुक्ति लिन नहुने भन्दै संविधानको धारा १३२ को उपधारा २ मा लेखिएको छ- ‘प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भैसकेको व्यक्ति यस संविधानमा अन्यथा उल्लेख भएकोमा बाहेक कुनै पनि सरकारी पदमा नियुक्तिका लागि ग्राह्य हुनेछैन ।’
पहिले पनि असंवैधानिक

विगतमा रेग्मी प्रधानन्यायाधीशमा बहाल रहेकै अवस्थामा मन्त्रिपरिषदको अध्यक्ष बनेका थिए । रेग्मीको यो जिम्मेवारी पनि अन्तरिम संविधानविपरीत नै थियो । तर, बाधा अड्काऊ फुकाएर उनलाई मन्त्रिपरिषद अध्यक्ष बनाइएको थियो ।
तर, अहिले नयाँ बनेको संविधानले पूर्वप्रधानन्यायाधीशलाई सरकारी नियुक्ति ग्राह्य नहुने स्पष्ट व्यवस्था गरिसकेको छ । यो अवस्थामा अब रेग्मीका लागि राष्ट्रपति बन्ने ढोका बन्द भएको छ ।
के अब रेग्मीले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्न मिल्छ ? अनलाइनखबरको प्रश्नमा संविधानविद एवं नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले भने, ‘संविधानको धारा १३२ को उपधारा (२) अनुसार राष्ट्रपतिका लागि उहाँको उम्मेद्वारीसमेत दर्ता गर्न मिल्दैन ।’
वृन्दावनदेखि मन्त्रालयसम्म दौडधूप

प्रधानन्यायाधीश हुँदाहुँदै कार्यपालिका प्रमुख बनेर शक्ति पृथक्कीकरण खल्बल्याउन भूमिका खेलेका रेग्मीमा सत्ताको स्वाद चाख्ने रहर अझै मेटिएको छैन । रेग्मीले संविधानमा रहेको प्रावधानसमेत विचार नगरी शीतल निवासको कुर्सीमा आँखा लगाउन थालेका छन् ।
खिलराजले आफूलाई सम्पर्क गरी राष्ट्रपतिका रुपमा इच्छा देखाएको कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले पार्टीको बैठकमा खुलासा गरिसकेका छन् ।
त्यसैगरी रेग्मीले अन्य विभिन्न दलका नेतालाई पनि सम्पर्क गरी राष्ट्रपति बन्ने इच्छा देखाएका छन् । कानूनमन्त्री अग्नि खरेललाई समेत टेलिफोन गरेर रेग्मीले आफूलाई राष्ट्रपति बनाइदिन आग्रह गरेको बुझिएको छ।
रेग्मीको राष्ट्रपति बन्ने इच्छाबारे शीतलनिवास स्रोतले अनलाइनखबरलाई भन्यो- ‘जुन शक्तिले खिलराजलाई प्रचण्डको मुखबाट सिफारिस गराएर मन्त्रिपरिषदको अध्यक्ष बनाएको थियो, अहिले त्यही शक्तिले देउवाको मुखबाट प्रस्ताव गराएर उनलाई राष्ट्रपति बनाउने प्रस्ताव अघि बढाएको हो ।’
तर, संविधानले नै छेकेपछि रेग्मी राष्ट्रपति बनाउने अदृश्य शक्तिको लाई खेल असफल हुने पक्कापक्की भएको छ ।
राष्ट्रपति बन्ने तीव्र इच्छा प्रकट गरिरहेका रेग्मी भारतले नाकाबन्दी लगाइरहेकै बेला हालै बृन्दावनको तीर्थाटनमा निस्केका थिए । त्यहाँ उनले पूजाआजा गर्नुका साथै नेपाल र भारतको सम्बन्ध राम्रो रहेको भारतीय सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए ।
प्रधान न्यायाधीशजस्तो गरिमायम पदबाट अवकाश लिई पेन्सनसमेत बुझिरहेका रेग्मीका छोराछोरीहरु ग्रिनकार्डसहित अमेरिकामा बसोबास गर्छन् ।
यद्यपि एकपटक सरकार प्रमुखको स्वाद पाइसकेका रेग्मीलाई सत्ताको रस यसरी भिजेको छ कि आफू पूर्वप्रधानन्यायाधीश हुँ भन्ने समेत भुलेर उनी राष्ट्रपतिको दौडमा अघि सरेका छन् ।
मन्त्रिपरिषदको अध्यक्षबाट हटेपछि रेग्मी दुई दिन प्रधानन्यायाधीशको कुर्सीमा बसेका थिए । नेपाल बारले विरोध गरेपछि दुईदिनपछि उनले राजीनामा दिएका थिए
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget