Articles by "InterViews"

पहिलो पटक गर्भवती भएको थाहा पाउँदा तपाईलाई कस्तो अनुभूतिको महशुस गर्नुभयो ?
मेरो विवाह भएको साँढे तीन वर्ष पुगीसकेपछि अब प्लान बनाएर बच्चा जन्माउनु पर्दछ भनेर गर्भवती हुनुभन्दा पहिले डाक्टरमा गएर आफ्नो स्वास्थ्यको जाँच गराएकी थिए । सँगै श्रीमान्को पनि स्वास्थ्य जाँच गराएका थियौँ । त्यसरी हामीले दुवैजनाको सल्लाहमा गर्भ राख्ने निर्णय गर्यौँ ।
सुरुमा गर्भवती भएको थाहा पाउँदा त मलाईं साह्रै डर लागेको थियो । म एकदमै काम गर्ने महिला हुँ । कामकाजी महिलाहरु जतिखेर पनि बाहिर हिडिरहनु पर्ने हुन्छ । एक्कासी अब कतिवटा कामहरु रोकिने हो भन्ने सोचेकी थिए । तर श्रीमानले हैन केही हुँदैन नडराउ सबै काम हामीले सँगै मिलेर गर्ने हो भन्नुभयो । त्यसपछि दोस्रो दिनदेखि अब आफूलाई कसरी खुशी राख्न सकिन्छ भन्ने तर्फ बढी ध्यान दिन थाले ।
सुरुको तीन महिनामा तपाईंलाई कस्तो अनुभव भयो ? कसरी आफ्नो स्वास्थ्यको ख्याल राख्नुभयो ?
सुरुको तीन महिना त सुत्दैमा बित्यो । धेरै थाकिन्थ्यो । कामको लोड धेरै थियो । धेरै वाकवाकी लाग्ने, थकाइ लाग्ने, गाह्रो हुनेसँगै शरिरमा पनि परिवर्तन आउँन थाल्यो । सानो सानो कुरामा चित्त दुख्ने, रुन मन लाग्थ्यो । त्यसमा पनि खशीको मासुको गन्ध नै मलाई मन नपर्ने भएको थियो ।
म गर्भवती भएको सुरुवाती समयमा दशैं परेको थियो । दशैं, तिहार भरी मैले मासु पनि खाइन । गर्भवती हुदाँको सुरुवाती समयमा सानो चित्त हुँदो रहेछ । सानो सानो कुरामा पनि म श्रीमानसँग खुबै झगडा गथ्र्ये । तर पनि महिलाहरुको लागि गर्भवती हुँदाको सुरुवाती समयलाई एकदमै खतराको रुपमा लिने गरिन्छ । यो समयमा गर्भको बच्चा खेरजाने संभावना लगायतका विभिन्न समस्या देखिने भएकाले चाहिने भन्दा धेरै ठाउँहरुमा जाने गरिन । हिड्दा पनि दौडधुप कम भयो । भारी सामानहरु उठाउन छोडिदिए । त्यसपछि खानापानदेखि आफ्नो स्वास्थ्यलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्नेतर्फ नै बढी लाग्न थाले । पहिले म दुध खादैँनथ्यें । क्याल्सियमको कमी थियो मलाई । त्यसपछि मैले दूध, सागसब्जी लगायतका पोषिलो खानेकुराहरु खान थाले ।
यो समयमा श्रीमानको सहयोग कति आवश्यक हुन्छ ?
महिलाहरुका लागि श्रीमानको सहयोग भएन भने त एकदमै गाह्रो छ । यस्तो अवस्थामा एक्लैले कत्तिवटा कामहरु गर्न सकिदैँन । गर्भवती भएको समयमा सामानहरु उठाउन सकिदैँन । आफ्नो सुरुवाल फेर्नेदेखि मोजा लगाउन पनि गाह्रो हुन्छ । हातखुट्टा सुनिन्छ । दिनभर काम गर्यो भने राती सुत्न पनि गाह्रो हुन्छ । शरिर दुख्छ । श्रीमानले श्रीमतीको शरिर मसाज गरिदिने, कुरा सुनिदिने, खानेकुरा ल्याइदिनु गर्नुपर्दछ यो समयमा । साथै सबैभन्दा महत्वपूर्ण त यो समयमा चाहिने भनेको श्रीमानको माया र परिवारको सहयोग नै हो ।
कस्तो अवस्थामा तपाईले डाक्टरको सहयोग लिने गर्नुभएको छ ?
मैले अलि ढिला नै बच्चा जन्माउँदै छु । धेरै सोच विचार गरेर हामीले यो निर्णय गरेका हौँ । एक पटक बच्चा चल्न थालेपछि दिनभर बच्चा नै चलेन पेटमा । त्यसबेला एकदम डर लाग्यो रातभर । भोलिपल्ट बिहानै डाक्टरमा गएर अल्ट्रासाउन्ड गराए । त्यसपछि सबै ठिक रहेछ भन्ने थाहा पाए र मन ढुक्क भयो ।
पहिलो प्राथमिकता भनेको सन्तान हुँदारहेछ । जे गरे पनि सुरुमा मेरो सन्तान ठिक छ कि छैन भन्ने हुन्छ । २८ हप्ता भएदेखि हरेक दिन मैले बिहान र बेलुका मेरो बच्चा ठिक छ कि छैन ? पेटमा खेलीरहेको छ कि छैन भनेर थाहा पाउन केहि समय दिन्छु, पेट छामेर बस्छु ।
जाडो महिना थियो त्यतिबेला म धेरै जसो घरमै बसिरहेकी थिएँ । दिनभर घरमा बस्दा म बिरामी हुने रहेछु भन्ने मलाई त्यतिबेला नै थाहा भयो ।
एकदिन मलाई एक्कासी रिङ्गाटा लाग्यो । त्यस अघि कहिल्यै पनि त्यस्तो भएको अनुभव थिएन । त्यसपछि तुरुन्तै डाक्टरलाई फोन गरेर आफ्नो समस्या सुनाए । डाक्टरले पानी खानुस अनि दुई घण्टासम्म हेर्नुहोस् तपाईको बच्चा चलेको छ भने ठिक छ छैन भने मलाई फेरी फोन गर्नुस भन्नुभयो । अनि नआत्तिएर बसें । गर्भवती भएको समयमा सधैं बाँयातिर ढल्कनु पर्दछ । त्यसै अनुरुप ढल्के । बच्चा चलेपछि ढुक्क भएर आनन्दसँग बसें ।
एकपटक फेरि धेरै काम गरेर मेरो खुट्टा दुख्न थाल्यो । त्यस्तो समस्या पनि अगाडि कहिल्यै देखिएको थिएन । पल्टाउनै नमिल्ने भएपछि फरी डाक्टरलाई फोन गरें । डाक्टरले त्यसमा तातो लगाउन र सिटामोल खान सल्लाह दिनुभयो । त्यसको दुई दिनमै त्यो समस्या पनि हल भयो । जति पढें पनि केतिपय अवस्थामा केहि हुने बित्तिकै मनको शान्तिका लागि पनि डाक्टरलाई फोन गरिहाल्छु ।
यस्तो अवस्थामा आफ्नो सुन्दरताको कसरी ख्याल राख्नुहुन्छ ?
पहिले पहिले महिलाहरुले आफू गर्भवती हुदाँ आफ्नो पेट लुकाएर हिड्ने गर्दथ्यें । प्राय महिलाहरु गर्भवती हुने बित्तिकै मिडियाबाट टाढा हुने गर्नुहुन्थ्यो । तर अहिलेको यो समयमा आएर हामीले त्यस्तो गर्नु हुदैँन । काम गर्ने महिलाहरुले गर्भवती हुने बित्तिकै आफूलाई लुकाउनु हुँदैन । जो कोहिले पनि लुकाउनु पर्ने अवस्था अहिले छैन ।
मैले आफूले समय सापेक्ष लुगाहरु लगाउने, मेकअप गर्ने गर्दछु । किनभने आफू जति राम्रो देखियो, मनलाई पनि त्यति नै राम्रो लाग्दो रहेछ । यत्तिकै कुनै मेकअप र गेटअप बिना हिड्दा आफूलाई पनि यत्तिकै अल्छि लाग्ने रहेछ । यो अवस्थामा महिलाहरु मोटाउने गर्दछन् । त्यसरी मोटाउने बित्तिकै म राम्री देखिन्न भन्ने जस्तो भाव मनमा आउँने रहेछ । त्यसैले फेसन, लुगा, मेकअपमा ध्यान दियो भने आफूलाई पनि रमाइलो लाग्दो रहेछ ।
तपाईले आफूलाई कसरी स्वस्थ राख्ने गर्नुहुन्छ ?
मैले पहिले पनि योगा गथ्र्ये । गर्भवती भएपछि पनि अहिले योगा गरिरहेकी छु । जुन दिन म योगा गर्दिन्न, त्यो दिन म बिरामी हुने गर्दछु । बेलुका बेलुका पहिले म हिड्ने गर्दथ्यें, तर अहिले हिड्न भन्दा पनि योगा नै गरिरहेकी छु । दिनमा २० देखि आधा घण्टासम्म म व्यायाम र योगा गर्छु । त्यसले शरिरमा दिनभर एकदम फूर्ति ल्याउने गर्दछ । र दिनभरीमा म आफ्नो काम मज्जाले गर्न सक्छु ।
गर्भवती अवस्थाको बारेमा कसैसँग केही कुरा सोध्न अथवा भन्न चाहनु भयो भने आफ्नो अनुभव कत्तिको सुनाउनु हुन्छ ?
यही अवस्थामा कतिपय मेरा साथीहरु गर्भवती अवस्थामा हुनु हुन्छ । कतिले बच्चा जन्माइसक्नु भएको छ । त्यसैले मलाई केहि पर्ने बित्तिकै जो चिनेका नजिकमा हुनुहुन्छ, जसले यो अवस्थालाई भोगीसक्नु भएको छ उहाँहरुलाई फोन गरेर रहेक दिन जसो मैले उहाँहरुसँग कुरा गरिरहेकी हुन्छु ।
तपाई जस्तै महिलाहरु कति आमा बन्दै हुनुहुन्छ । कति बन्ने योजना बनाउँदै हुनुहुन्छ । उहाँहरुका लागि कसरी आफ्नो ख्याल राख्ने भन्ने बारेमा आफ्नो अनुभवमार्फत के भन्न चाहानु हुन्छ ?
हाम्रो नेपाली समाजमा गर्भवती हुने बित्तिकै यो गर्नु हुन्छ यो गर्नु हुदैँन भन्ने धेरै कुरा उठ्ने रहेछ । यसरी नहिड, त्यसरी नहिड भन्ने गरेको पनि सुनिन्छ । यस्ता कुरा धेरै सुन्यो भने एकदम दुख लाग्दो रहेछ । त्यस्तो गर्न हुँदैन । आफू खुशी हुनुपर्दछ । आफूलाई कसरी खुशी राख्न सक्नुहुन्छ, त्यसरी नै कामहरु गर्नु पर्दछ ।
गर्भवती अवस्थामा दुई जनाको खाना खानु पर्दछ भन्ने पनि गरेको सुनिन्छ । तर त्यसो होइन । किन भने हाम्रो तौल धेरै हुने गर्दछ । बच्चाको तौल बढीमा ५ किलोग्रामसम्मको हुने गरेको पाइन्छ । त्यसले गर्दा जे पनि ब्यालेन्स मिलाएर खाएन भने झन धेरै मोटाइन्छ । यसले गर्दा बच्चा जन्माउन समस्या हुन्छ । मनोरञ्जनात्मक कुरा हेनुपर्दछ । मारकाटका फिल्म हेर्नु हुदैँन । राम्रा गीतहरु सुन्ने, गर्भवती अवस्थामा कसैले नराम्रो कुरा गर्ने बित्तिकै यस्तो कुरा नगर्नुस भन्नु पर्दछ । सबैभन्दा बढी त सकारात्मक कुरामा मात्र ध्यान दिनुपर्दछ ।
गर्भवती महिलाले कसरी चेकअप गर्र्नु पर्दछ भन्ने बारेमा यहाँलाई कत्तिको थाहा छ ?
इन्टरनेटमा हेर्दा, पढ्दा त बाहिरतिर नर्मल डेलिभरीलाई नै बढी प्राथमिकता दिने गरेको पाईन्छ । त्यस्तो अवस्थामा पहिले मिड वाइफसँग नै सल्लाह गरेको पाइन्छ । त्यसपछि गाइनोलोजिस्टसँग सल्लाह गर्ने गरेको भन्ने थाहा छ मलाई । तर नेपालमा काठमाण्डौँमा बसेको अवस्थामा मलाई अहिलेसम्म त्यस्तो थाहा छैन ।
नेपालमा नर्मल डेलिभरीमा चिरफार गरेको पाइन्छ । यसमा यहाँको धारणा के छ ?
पहिलो प्राथमिकता त नर्मल डेलिभरी नै हो । किनभने त्यसमा पुनःस्थापनाको समय पनि नर्मल नै हुने गर्दछ । र त्यसले महिलाहरुलाई धेरै फाइदा पनि गर्दछ । तर मेरो स्वास्थ्यमा केही समस्या देखिएकोले नर्मल डेलिभरी नहुने सम्भावना धेरै छ । अन्तिम अवस्थामा अल्ट्रासाउन्डको रिपोर्टले अहिलेको समस्या कायमै भएको देखायो भने मेरो सिजरिङ नै गर्नुपर्ने हुन्छ । तर मेरो पहिलो प्राथमिकता भनेको नर्मल डेलिभरी नै हो ।
हाम्रो समाजमा कतिपय कुराहरु आफ्नो श्रीमानसँग पनि भन्न नसकेको देखिन्छ । तपाईको परिवारमा कस्तो छ ?
म र मेरो श्रीमान् बिचमा एक अर्कासँग हरेक कुरा शेर हुने गर्दछ । तर नेपाली जनमानसमा के छ भने लोग्ने मानिसले श्रीमती गर्भवती हुँदा त्यति सहभागीता जनाउन हुदैँन भन्ने छ । यो महिलाहरुले मात्र भोग्नुपर्ने समस्या हो भन्ने सोचेको पाइन्छ । यो एकदम गलत हो । बच्चाको नाम, बच्चालाई नागरिकता आफ्नो नामबाट दिने तर सहभागीता भने न्यून हुने गरेको देखिन्छ । त्यस्तो गर्न हुदैँन ।
किनभने महिलाहरुलाई शारीरिक र मानसिक दुवै दृष्टिले धेरै गाह्रो हुने गर्दछ । त्यस्तो बेलामा झन श्रीमानको आवश्यकता पर्दछ । त्यसैले आफ्नो श्रीमती गर्भवती हुनुुहुन्छ भने सकेसम्म सहयोग गर्नका लागि सबै दाजुभाईहरुलाई आग्रह गर्दछु ।
साभार अन्तरवार्ता
nepaljapan

अभिनेता अनमोल केसी नेपाली फिल्ममा 'स्टार'का रूपमा उदाउन थालेका छन् । फिल्म 'होस्टेल' बाट डेब्यू गरेका उनले सफलतामा ह्याट्रिक गरेका छन् । अघिल्लो हप्ता रिलिज 'ड्रिम्स'मा त उनको स्टारडम प्रस्ट देखियो । फिल्मले अग्रिम बुकिङमा रेकर्ड राखेको बताइन्छ । अत्यधिक फ्यान फलोइङका कारण उनी हलमा जाँदा बडिगार्डसहित पुग्नुपर्ने अवस्था आयो । उनीसँग डिबी खड्का र अनिल यादवले गरेको अन्तरंग कुराकानीः





अहिलेसम्म कुनै पनि नेपाली कलाकारले बडिगार्डको सुरक्षासहित हलमा पुग्नुपरेको थिएन । तर, तपाईंलाई त्यो अवस्था आयो । स्टार भएको महसुस भइरहेको होला ?

मेरा प्रशंसक धेरै छन् । सबै मसँग झ्याम्मिन चाहन्छन् । भीडमा जे पनि हुन सक्छ भनेर बडिगार्ड लिइएको हो । अर्काे, मेरो कुरा काट्ने र कुभलो चिताउने पनि बढेका छन् । त्यसैले सुरक्षाबिना हलमा पुग्दा जे पनि हुन सक्छ भनेर बडिगार्डको व्यवस्था गरियो । आफू स्टार भएको भन्दा पनि फिल्म हेर्ने दर्शक बढेको अवस्था हो जस्तो लाग्छ मलाई ।

अब मनमौजी बाहिर हिँड्ने स्वतन्त्रतासमेत रहेन तपाईंसँग !

त्यो समस्या त आइसक्यो । म सधैँ क्याप र मास्क लाएर हिँड्छु । तर, पनि कहिलेकाहीँ प्रशंसकले चिनिदिन्छन् । कलाकार भएपछि पर्सनल लाइफ जिउन गाह्रो हुँदो रहेछ । त्यस्तो नभइदिए हुन्थ्यो जस्तो त लाग्छ तर म चित्त बुझाउँछु । किनकि, म पनि अब 'पार्ट अफ पर्सेन्ट अफ सेलिब्रिटी' भइसकेँ । दर्शकको मायालाई समस्या ठान्नु हुन्न भनेर मन बुझाइसकेँ।

दर्शकले त राम्रै ठानेर हेर्न आउँछन् तपाईंलाई । तेस्रो फिल्म 'ड्रिम्स'सम्म आइपुग्दा आफूले आफूमा के कमजोरी भेट्नुभयो ?

म अहिले 'ग्रोइङ फेज'मा छु । सबै कुरा बुझेको छैन । एउटा फिल्म हलमा लाग्दा अर्को फिल्मको सुटिङ सकिसकेको हुन्छ । जस्तो 'गाजलु' सकिँदा हलमा बल्ल 'ड्रिम्स' रिलिज हुँदै छ । यस्तो अवस्थामा आफूले अभिनय गरेको फिल्म हेर्दा म सधैँ आफ्नो अभिनयलाई अपरिपक्व ठानिरहेको हुन्छु । अझ राम्रो गर्न सकिने रैछ भन्ने लाग्छ ।

आफ्ना कमजोरीमा सुधार ल्याउन के–के गर्दै हुनुहुन्छ त ?

हरेक फिल्मको सफलतापछि कलाकारमाथि चुनौती पनि थपिरहेको हुन्छ । मेरो हकमा पनि 'अडियन्स एक्सपेक्टेसन' बढिरहेको छ । त्यही भएर अब आफ्नो अर्काे फिल्ममा कसरी धेरै राम्रो गर्ने भनेर सोचिरहेको हुन्छु । अभिनय कक्षा लिने मनस्थितिमा छु । एक्टिङ वर्कसप, फिटनेस, डान्स क्लब सबै ज्वाइन गर्ने तयारीमा छु । मैले कहिल्यै पनि आफूलाई पर्फेक्ट ठानेको छैन । म फस्ट क्लास अभिनय गर्न सक्दिनँ । दर्शकले यति चाँडै माया गरिदिए, स्टार भनिदिए । उनीहरूले स्टार भने पनि ममा सुधार गर्नुपर्ने धेरै छ ।

तपाईंलाई दर्शकले मन पराउनुको मुख्य कारण के हो जस्तो लाग्छ ?

मलाई त मन पराउनुको कारण मेरो फिल्म नै हो । यसमा मेरो 'गुड सेन्स अफ स्क्रिप्ट' को भूमिका पनि छ । लुक्सका कारण चाहिँ होइन । किनभने, मभन्दा ह्यान्डसम केटाहरू धेरै छन् । म त्यस्तो ह्यान्डसम छु जस्तो लाग्दैन ।

प्रशंसा गर्नेभन्दा पनि 'रियल फिडब्याक' दिनेहरूले के–के भन्छन् ?

'ड्रिम्स' रिलिज भएपछि ताल–तालका प्रतिक्रिया पाएँ । साँच्चीकै मलाई फिडब्याक दिनेले 'एक्टिङ सिक्नुपर्छ' भने । म त्यो सुझावलाई मनैबाट स्विकार्छु ।

'ड्रिम्स'मा तपाईंले अघिल्ला फिल्ममा दर्शकले दिएको कुन प्रतिक्रियालाई कार्यान्वयन गर्नुभयो ?

धेरैले अनमोलले एक्सन गर्दैन र गर्न सक्दैन भन्ने प्रतिक्रिया दिएका थिए । यो फिल्ममा मैले त्यो पनि गरेर देखाइदिएँ ।

एक्सन गर्न कत्तिको दुःख गर्नुपर्यो ?

ओहो ! दुःख त बाफ रे, कति भयो कति । कुरै नगरौँ । शरीर पूरै नीलो हुनेगरी दुःख गरिएको छ । बिहान ९ बजेदेखि सुरु भएको सुटिङ भोलिपल्ट बिहान ११ बजेमात्र सकिएको थियो । त्यतिबेरसम्म लगातार पानीमा भिज्दै सुटिङ गर्दा के भयो होला ? मलाई त बिरामी हुन्छु जस्तो लागेको थियो । अर्काे, नेपालमा एक्टरलाई एक्सन गर्न रिस्क पनि छ । भन्याजस्तो प्रोटेक्सन हुँदैन । 'होस्टेल'को सुटिङमा मैले फ्लाइङ किक खाँदा मेरो घाँटीमा चोट लागेको थियो । तीन दिनसम्म खाना निल्न सकेको थिइनँ । किक खानुभन्दा अघि प्याड लगाउनुपर्ने, खाइसकेपछि लगाइदिनुभएको थियो । हाँसो पनि उठेको थियो ।

तपाईंको घरवरिपरि फ्यानको भीड लाग्थ्यो । अहिले अलि कम भएको हो ?

त्यो भीडको रहस्य अर्कै छ । मेरा लागिभन्दा पनि आफ्ना लागि कसैले भीड जम्मा गर्ने रहेछ । खासगरी मेरो घरअगाडि पानीपुरी पसल छ । त्यहाँ धेरै युवायुवती आउँछन् । मेरो नामले पानीपुरी बिक्दो रैछ । पसलेले 'अनमोल बस्ने घर यही हो । यो बेला आउनू, भेट्न सकिन्छ' भन्दा रहेछन् । यही मौकामा पानीपुरी बेच्दा रहेछन् । आफूले त्यस्तो भन्ने गरेको भनेर उनले मलाई बताए । म पनि मेरो नाम लिँदा उनको पसल चल्छ भने राम्रै हो भनेर खुशी छु ।

तपाईंलाई भेट्न पनि त आइरहेका हुन्छन् नि फ्यान ?

धेरै आउँछन् । अस्ति भर्खर दार्जिलिङबाट आठनौजना केटीको ग्रुप नै आएको थियो । त्यत्रो टाढाबाट आएपछि म पनि भेट्न गइदिएँ । मलाई यसरी नै डाइरेक्ट या इन्डाइरेक्ट रूपमा एक दिन सबै फ्यानसँग भेट्न सकूँ भन्ने लाग्छ । अचेल मेरो जस्तै हातमा ड्र्यागनको ट्याटू खोप्ने फ्यान पनि भेटँे । कतिपय ट्याटू सेन्टरकाले त मलाई भिडियो नै खिचेर पठाइदिएका छन् । केटाहरूले त्यस्तो ट्याटू खोप्दा त केही लागेको थिएन, केटीले पनि खोपेको भन्दा चाहिँ अचम्म लागेको थियो ।

कहिले बनाउनुभएको हो ट्याटु ?

एसएलसी सकेपछि बनाएको हुँ । पाँच वर्षभन्दा बढी भयो । चीनमा यसलाई रोडेक्सको चिन्ह मानिन्छ । यसले नेगेटिभ इनर्जीलाई खाइदिन्छ भन्ने विश्वास छ ।

तपाईंलाई आर्टमा कत्तिको रुचि छ ?

म बुकवर्मभन्दा पनि 'आर्ट गाय' नै हो । सानैदेखि म पढाइमा मध्यम भए पनि आर्टमा अघि नै हुन्थँे । म्युजिकमा रुचि थियो । किबोर्ड, ड्रम, गिटार आदि बजाउँछु ।

घरमा पनि थुप्रै 'न्युड' मूर्र्ति सजाएर राखिएको रहेछ । तपाईंले नै हो ?

होइन । यो त सब ड्याडको हो ।

तपार्इंलाई आफ्नो बुबाको सबैभन्दा बढी के कुरा मन पर्छ, जुन तपाईं अनुशरण गर्न खोज्नुहुन्छ ?

उहाँको लगाव र योगदान । उहाँको नाम आउनेबित्तिकै नेपाली फिल्म क्षेत्रको कुरा जोडिन्छ नै । उहाँले जस्तै म पनि यो क्षेत्रका लागि सधैँभरि योगदान पु¥याउन सकूँ भन्ने लाग्छ । नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पुर्याउने उहाँको सपना थियो । त्यसलाई पूरा गर्ने लक्ष्य पनि छ मेरो ।

तपाईंलाई चाहने त धेरै छन् । आफूले चाहेको पनि कोही होला ?

मलाई चाहने फ्यानहरूलाई म फ्यानकै रूपमा लिन्छु । अहिले म मैले चाहेको कस्ती हो ? भन्ने नै बुझिरहेको छैन । एउटालाई चाहँुला तर ऊसँग निकट हुँदै जाँदा मैले चाहेजस्तो नभएपछि सम्बन्ध बिग्रिएला । फेरि, अर्काेसँग त्यस्तै होला । अनि, अनमोलले केटी फेर्दै हिँड्छ भन्ने आरोप लाग्ला । यही कुरादेखि डराएर म त्यतातिर सोच्न डराइरहेको छु । ३५ वर्षको उमेरसम्म त्यतातिर नसोच्ने योजना छ ।

त्यो त बढी नै भएन र ?

केको बढी ? खासमा त ४० वर्षसम्म हो । अलि घटाएर भनेको हुँ । अहिले त मसँग मलाई कस्तो केटी चाहिएको हो भन्ने प्र्रश्नको जवाफ नै छैन । म अलि फरक प्रवृत्तिको केटा हुँ । मलाई प्रेम गरेपछि जीवनभर एउटैसँग मात्र गरौँ भन्ने लाग्छ ।

हिरो भएपछि पहिरन पनि राम्रै लाउनुपर्ने होला । कसरी छान्नुहुन्छ तपार्ईं ?

म लुगा राम्रोभन्दा पनि लाइसकेपछि राम्रो देखिन्छ कि देखिँदैन भन्ने कुरामा ख्याल गर्छु । मलाई अँध्यारो रङको पहिरन बढी मन पर्छ । जस्तै, कालो र ग्रे ।

झन् ह्यान्डसम बन्न के–के गर्नुहुन्छ ?

बुबाजस्तै छु । बिहान ९–१० नबजी बेडबाट उठ्दिनँ । स्ट्रेचिङ चाहिँ गर्छु । खानेकुरामा त अरूले जे खान्छन्, त्यही नै खाने हो । त्योबाहेक खाने भनेको फलफूल हो । त्यस्तो ख्याल गरेर खाने गरेकै छैन । चकलेट भेटे चकलेट नै खाइदिन्छु । मन पर्ने जे भेटे पनि खाइदिएकै छुु ।

'ड्रिम्स' रिलिजको अघिल्लो रात तपाईं स्वयम्भूको दर्शन गर्न पुग्नुभयो रे !

हो । मलाई भगवान्प्रति विश्वास छ । दिउँसो चाहेर पनि जान सक्ने अवस्था हुँदैन । त्यही भएर राति कुन मन्दिर खुला हुन्छ, त्यहीँ जान्छु भन्ने सोच थियो । यसैले रातको ११ बजे स्वयम्भू पुगेँ । राति बाँदर, कुकुर धेरै थिए । तर, डराइनँ । भगवान्को ठाउँमा त के नराम्रो होला र ? भन्ने लाग्यो । भोलिपल्ट बिहान फिल्म हेर्न दर्शक कत्तिको आउने हुन् भन्ने चिन्ता मनमा थियो । भगवान्लाई अहिलेसम्म जे दिनुभा'छ, त्यो पाइरहूँ भनेर मागेको थिएँ ।

स्क्रिप्ट छान्दा के कुरामा ध्यान दिइन्छ ?

पहिलो कुरा त क्यारेक्टर नै हो । मेरो क्यारेक्टर कस्तो छ र म त्यसलाई निर्वाह गर्न सक्छु कि सक्दिनँ भन्ने कुरामा सर्वप्रथम ख्याल गर्छु । दोस्रो कुरा, सपोर्टिङ एक्टर को छन् र उनीहरूको भूमिका कस्तो खालको छ भन्ने कुरा विचार गर्छु ।

अहिलेसम्म तपाईंका फिल्म हेर्दा अभिनयमा विविधता त देखिएन । भूमिका परिवर्तन गर्नुपर्छ जस्तो लाग्दैन ?

मैले अहिले भिन्न–भिन्न भूमिका निर्वाह गर्न नखोजेकै हुँ । प्रियंका चोपडाले सुरुमै 'मेरी कोम'मा अभिनय गरेको भए के हुन्थ्यो ? शाहरुख, सलमानले पनि सुरुमा उस्तै प्रकारको फिल्ममा अभिनय गरेर चिनाएका हुन् । मैले अहिले भूमिका परिवर्तन गर्ने बेला भइसक्यो जस्तो लाग्दैन । जब म आधा दर्जनजति हिट फिल्म दिइसक्छु, मेरो टाइपको फिल्ममा जमिसक्छु, त्यसपछिमात्र अन्य प्रकारका फिल्ममा काम गर्छु ।

आगामी फिल्म 'गाजलु'मा पनि दर्शकले अनमोललाई फरक नपाउने भए !

त्यो फिल्ममा त अहिलेसम्म देखिएभन्दा चाहिँ फरक खालको भूमिकामा छु । अहिलेसम्म धनाढ्य परिवारको केटाका रूपमा अभिनय गरेको छु । तर, 'गाजलु'मा चाहिँ गरिब परिवारको युवाको भूमिकामा छु ।
nagariknews

२०७२ फाल्गुन २७ बिहीवार

घोराही: आठ वर्षकी थिइन् विमला चौधरी । एक दिन उनका बुबाले काखमा लिएर माया गर्दै भने, 'तेरो खुट्टामा चप्पल पनि छैन, फेर्ने कपडा पनि छैन, हाम्रो घरमा खाने करा पनि छैन' उनले स'निरहिन् 'जिम्दारको घरमा बस्, राम्रो खान पाइन्छ, लुगा पनि राम्रो दिन्छन्, जुत्ता चप्पल किनिदिन्छन्।'

'ओहो, मिठो खाने अनि राम्रो लगा लगाउने? अनि त्यो छाप्रोबाट जमिन्दारको घरमा बस्ने !' विमला मख्ख परिन् । अनि बस्न राजी भइन्। बाबले अर्को दिन गाउँकै जमिन्दारको घरमा लगिदिए । साँझ दूध र भात दिए, त्यो खाइन्। पछि पो उनलाई थाहा भो, त्यो दूध र भात त जमिन्दारका छोराछोरीले खाएर फालेको पो रहेछ।


मुछेको थियो 'त्यो बेला जुठोसुठोको के मतलब, मिठो खान पाए पग्थ्यो।' अलिअलि उनी बुझ्ने हुँदै गइन्। गाउँबाट उनलाई घोराही बजारमा 'सरुवा' गरिएको थियो, जमिन्दारको छोरीका घरमा । त्यसपछि बल्ल उनलाई थाहा भो, 'म त कम्लहरी भएको भएको रैछ।'

तीन वर्ष घोराहीमा कम्लहरी बसेपछि फेरि जमिन्दारकी अर्की छोरीको घर बटवलमा 'सरुवा' भो, सुत्केरी स्याहार्न। करिब तीन वर्ष उनले बुटवलमा भाँडा माझिन्। गाउँमा ती बालिकाले जमिन्दारका भाँडा माझ्थिन्। गोठालो जान्थिन् अनि घाँस दाउरा र भकारो सोहर्ने काम थियो।

उनी सानै थिइन्। जमिन्दारका छोराछोरी पलङमा सत्थे। उनलाई भुँइमा सुताइन्थ्यो। एक दिन उनले डर लाग्दो सपना देखिन्। ब्युँझिँदा भूइँ चिसो थियो। उनले ओछ्यानमै पिसाब गरिछन्। त्यसपछि उनले धेरै कुटाइ खाइन्। गाली पनि पाइन्।

सजाय, उनलाई बैठककोठाको भुँइमा सुताइयो। 'कम्लहरी न थिएँ, हरेक दिनको पीडा कसरी भन्न सकुँला र?' ती दिन सम्झिदाँ अहिले पनि उनी भावुक हुन्छिन्।आज यी विमला चौधरी 'घ'म्ने मेच'मा बस्छिन्।

पश्चिम नेपालमा मुक्त भएका करिब साढे १२ हजार मुक्त कम्लहरीको अगवा भएकी छन् । कक्षा १२ मा व्यवस्थापन पढ्दै गरेकी यी पूर्व कम्लहरी किशोरी अहिले 'मुक्त कम्लहरी विकास मञ्च' की पूर्व अध्यक्ष हुन्।

मुक्त भएका कम्लहरीको जीवन व्यवस्थापन र अरूको घरमा बसिरहेका कम्लहरीलाई मुक्त गर्ने अभियान चालेको यो संस्थाले अहिले पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा काम गरिरहेको छ।बुटवलमा कम्लहरी भएकै बखत उनलाई मुक्त कम्लहरीको क्षेत्रमा काम गर्दै आएको 'एफएनसी' ले बटवलबाटै उद्धार गरेको थियो। त्यसपछि उनी केही समय घरमै बसिन्।

कम्लहरी बसेबाफत उनलाई वर्षको पाँच हजार दिइन्थ्यो। त्यो टट्यो । घरमा बबाआमाको कचकच सर हन थाल्यो। त्यसपछि बबा कमाउन विदेश पसे। अर्का दाइ पनि विदेशिए। त्यसपछि फेरि एफएनसीकै पहलमा उनी हापरको उच्चमावि निघवारमा कक्षा ६ मा भर्ना भइन्।

'पढ्ने रहर त सानैदेखि थियो नि', उनले भनिन्, 'कम्लहरी बस्दाबस्दै पनि पढिरहेको थिएँ।' पढ्ने चाहनालाई कसले रोक्ने? कम्लहरी छँदै उनले बबालाई भनेर गाउँकै स्कलमा नाम लेखाएकी थिइन्। बिदा मिलाएर परीक्षा मात्रै दिन आउँथिन्। त्यस्तै गरेर उनले कक्षा पाँचसम्म पढिन्।

त्यसपछि एक दिन मालिकले थाहा पाएर गाली गरे, ‘कम्लहरीले पनि पढ्ने? भोलि अर्काको घरमा जाने जात, पढेर के हन्छ?' त्यसपछि उनको पढाइ एक वर्ष रोकियो। अर्को वर्ष उद्धार भएपछि सीधै कक्षा ६ मा भर्ना भइन्। त्यसपछि त्यही स्कलबाट एसएलसी गरिन्। लगत्तै २०७० सालमा उनी मुक्त कम्लहरी विकास मञ्चको अध्यक्ष भएकी छन्।
सानै उमेरमा ठूलो जिम्मेवारी लिँदा धेरै गाह्रो हँदो रैछ, तै पनि केही गर्ने आँट छ, अझै धेरै गर्नुपर्ने छ। २०७० सालमा उनी अध्यक्ष हुँदा यो संस्था अस्तव्यस्त थियो। १८ वर्षकै उमेरमा यति ठूलो संस्थाको अध्यक्ष !
'अब त जिम्मेवारी पनि बढेको छ, यतिका दिदीबहिनीको भविष्यको जिम्मेवारी छ' भर्खरै २१ लागेकी यी पूर्वकम्लहरी भन्छिन्, 'सानै उमेरमा ठूलो जिम्मेवारी लिँदा धेरै गाह्रो हँदो रैछ, तै पनि केही गर्ने आँट छ, अझै धेरै गर्नपर्ने छ।' २०७० सालमा उनी अध्यक्ष हँदा यो संस्था अस्तव्यस्त थियो।

१८ वर्षकै उमेरमा यति ठूलो संस्थाको अध्यक्ष ! धेरैले विश्वास पनि गरेनन् अनि पत्याएनन् पनि। धेरै विरोध पनि भयो। तर पनि उनले हिम्मत हारिनन्। 'अहिले धेरै सम्हालेकी छ, सबै दाताहरूले सहयोग पनि गरेका छन्, धेरै पूर्वकम्लहरी व्यवस्थित पनि भएका छन्।'

पाँच जिल्लामा विद्यालय गइरहेका करिब ४ हजार मुक्त कम्लहरी, छरिएर रहेका उमेर पगेकाहरूको सीपमूलक तालिमको व्यवस्थापन, पाँच जिल्लामा करिब ३ सय २४ जना कम्लहरीको उद्धार गर्नपर्नेलगायत धेरै जिम्मेवारी छन् उनका। अहिले व्यवस्थापन संकायमा प्लस टु गरिरहेकी उनको लक्ष्य छ, सफल व्यवस्थापक बन्ने। ‘म व्यवस्थाक नै बन्छ होला' कर्सीमा घम्दै उनले भनिन्, ‘आफ्नो क्षेत्र पनि यही पर् यो, राम्रो व्यवस्थापकको जहाँ पनि कमी नै हन्छ।'

विभिन्न संघसंस्थाले दिएको तालिम अनि अवसरले उनको आत्मबल पनि बढेको छ । व्यक्तित्व विकास पनि भएको छ। ‘कम्लहरी बसेको मान्छे, नयाँ मान्छे र नयाँ ठाउँमा बोल्न डर लाग्थ्यो । पछि बानी पर्यो', विमला भन्छिन्, 'अब त आत्मबल पनि बढेको छ। धेरै कुरा जानियो अनि सिकियो जस्तो लाग्छ।'
annapurnapost

फिल्म 'प्रेमगीत'मा गरेको अभिनयका कारण अभिनेता प्रदीप खड्का चर्चाको तापमान वृद्धि गर्न सफल भइरहेका छन् । उनको अभिनयको तारिफ पनि भइरहेको छ । फिल्म 'ठूलो मान्छे'बाट निर्माताका रूपमा यस क्षेत्रमा भित्रिएका उनले फिल्म 'इस्केप'मार्फत अभिनयमा डेब्यू गरेका हुन् । उनीसँग अनिल यादवले गरेको अन्तरंग कुराकानी:



निकै फुरुङ्ङ देखिनुहुन्छ नि !

त्यस्तो त होइन । तर, खुशी लागिरा'छ । 'प्रेमगीत' हेरिसकेपछि सबैले तारिफ गरिरहनुभएको छ । फिल्म पनि तेस्रो हप्तासम्म हलमा चलिरहेको छ । सुनेको थिएँ– 'एभ्री डग ह्याज इट्स डे ।' मलाई पनि मेरो दिन आएजस्तो लागिरा'छ । तीन दिनअघि मात्र अष्टनारायण हलमा पुग्दा फिल्म हेरेर बाहिर निस्किनुभएको एकजना महिला फ्यानले गालामै चुम्बन गरिदिनुभयो । उहाँलाई देखेर फेरि अर्कोले ओठमै चुम्बन गरेर भाग्नुभयो । त्यतिबेला चकित भएँ । यति माया गर्ने फ्यान कमाएछु भन्ने भो । कति हलमा पुग्दा दर्शकले काँधमा बोकेर उचाले पनि ।

भनेपछि सेलिब्रिटी भएजस्तो महसुस भइरा'छ ?

त्यो त होइन । पहिला मलाई दुई–चार सयले चिन्थे भने अहिले अलि बढीले चिन्लान् । त्यतिमात्र हो । मेरो बुझाइमा सेलिब्रिटी त्यो हो, जसलाई देखिँदामात्र होइन, लुक्न खोज्दाखोज्दै पनि दर्शकले चिन्छन् ।

अचेल त तपाईं कतै जानुपर्यो, कसैलाई भेट्नुपर्यो भने पनि 'प्रेमगीत'को निर्मातासँग सोध्नुुहुन्छ रे । निर्माण युनिटको नियन्त्रणमा हुनुहुन्छ भन्ने सुनिन्छ नि !

मेरो घर यही ललिपुर, एकान्तकुनामा हो । मामाघर बल्खुमा छ । तर, एसएलसी दिनुअघिसम्म मैले धरहरा र पशुपतिनाथ पनि देखेको थिइनँ । म एकदमै कडा अनुशासनमा विश्वास गर्ने परिवारमा हुर्किएको हुँ । त्यसकै प्रभाव हुन सक्छ, म उहाँहरूले भनेजस्तै गरिरा'छु । मलाई विश्वास गर्नुहुने निर्माता सन्तोष सेनलाई मैले अहिले 'ड्याड'का रूपमा लिएको छु, जसले मेरा लागि करोडभन्दा बढी लगानी गर्नुभयो । निर्देशक सुर्दशन थापालाई 'आमा' ठानेको छु, जसले मलाई केही फरक गर्ने चान्स दिनुभयो ।

तर, त्यसो भन्दैमा नियन्त्रणमा रहनुपर्छ भन्ने छ र ?

उहाँहरू 'प्रेमगीत'को सिक्वेल बनाउने तयारीमा हुनुहुन्छ । मेरै राम्रो सोचेर उहाँहरूले मलाई जथाभावी सार्वजनिक नहुनू भनिरहनुभएको छ । मेरो लागि उहाँहरूले ठूलो अवसर दिनुभएको हो । मसँग भएको प्रतिभा मैले उहाँहरूकै कारण देखाउन पाएको हो । त्यही भएर म उहाँहरूले भनेको कुरा मान्छु ।

'प्रेमगीत' मन पराउनेहरूले त तपाईंको प्रशंसा गर्ने नै भए । मन नपराउनेहरूले पनि तपार्इंको अभिनयको प्रशंसा गरिरहेको पाइन्छ । यस्तो अवस्थालाई कसरी 'ह्यान्डल' गरिरहनुभएको छ ?

यो मेरा लागि बिलकुल नयाँ अनुभव हो । नसोचेको कुरा हो । म निकै 'कन्फ्युज्ड' भइराछु । कसैले फिल्मको प्रस्ताव गर्दा स्क्रिप्ट सुनेर निर्णय गरौँ कि नसुनी गरौँ ? सुनेर 'रिजेक्ट' गर्दा स्टार भयो भन्ने ठान्लान् भन्ने डर । नसुनी 'हुन्छ' भन्दा आफैँलाई हानि पुग्ने डर । फेसबुकमा थुप्रै म्यासेज आइरहन्छन् । रिप्लाई गरौँ त कसरी गरौँ, त्यहाँ पनि कन्फ्युजन छ । म जीवनको 'टर्निङ प्वाइन्ट'मा छु । पहिले कुनै युवतीले 'आई लभ यू' भन्दा गम्भीर ठानेर 'यस कि नो' भन्थेँ भने अहिले 'धन्यवाद' भन्नुपर्छ, भन्छु ।

अभिनय तपाईंको पुरानै रुचि हो ?

बिलकुल होइन । सानैदेखि मलाई टीभीमा अनुहार देखाउन पाए हुन्थ्यो भन्ने चाहिँ लाग्थ्यो । तीन–चार वर्षको हुँदा टीभीमा कसरी छिर्ने ? भनेर ममी ड्याडीलाई सोध्थेँ रे । मेरो रुचि टीभीमा देखिएर आफ्नो पहिचान बनाउनु थियो, नाम कमाउनु थियो । तर, परिवारको दबाबले मैले मार्केटिङमा एमबीए गरेँ । पढाइमा कहिल्यै सेकेन्ड भइनँ । पढ्दै गर्दा पनि 'खोजी प्रतिभाको', 'वाईवाई क्विज'जस्ता रियालिटी शोमा प्रोग्राम म्यानेजरका रूपमा काम गरेँ । कारण– मलाई टीभीमा देखिनु थियो । पछि केही सीप लागेन । अनि, आफैँ फिल्म बनाएर अनुहार देखाउने सोच बनाएँ । त्यही सोचअनुरूप फिल्म 'ठूलो मान्छे' बनेको हो । मैले त्यो फिल्ममा डान्स टिचरको भूमिका निर्वाह गर्नुपर्ने थियो, जुन मेरा लागि फिट भएन । त्यही भएर खेलिनँ । त्यसपछि 'इस्केप' बनाएँ । दुव्र्यसनमा फसेको युवाको भूमिका निर्वाह गरेको थिएँ । दुवै फिल्म चलेनन् । तर, पनि निराश भइनँ । मेरै कमजोरीका कारण फिल्म नचलेको भन्ने ठानेँ ।

'निराश भइनँ' त भन्नुभयो, तर त्यसपछि त तपाईं फिल्म क्षेत्र छाडेर विदेश जाने तयारीमा जुटिसक्नुभएको थियो ?

हो । मैले अस्ट्रेलिया जाने प्रोसेस गरिसकेको थिएँ । त्यति नै बेला भूकम्प आयो । प्रक्रियामा बाधा पुग्यो । मैले दुःखका साथ एक–दुई ठाउँ भनेको पनि छु कि भुइँचालोले यो देशमा नचाहँदानचाहँदै फाइदा पुर्याएको कोही मान्छे छ भने त्यो म नै हुँ । किनकि, भुइँचालो नआएको भए म अस्ट्रेलिया उडिसक्थेँ । अहिलेको प्रशंसा, अहिलेको माया केही हुँदैन थियो मसँग ।

कसरी ?

किनकि, त्यति नै बेला फिल्म 'प्रेमगीत'ले नयाँ हिरोको खोजी ग¥यो । 'इस्केप'मा प्रमुख भूमिकामा खेलिसकेको भए पनि मैले नयाँ अनुहार भएर अडिसन दिन तयार भएको बताएँ । त्यसपछि निर्देशक र निर्माताले मलाई बोलाउनुभयो । 'रहर पूरा गर्न खेल्छौ भने खेलाउँदैनौँ । तर, फिल्म क्षेत्रकै लागि केही गर्छु भन्ने भावना छ भने खेलाउँछौँ' भन्ने निष्कर्षमा उहाँहरू पुग्नुभयो । मेरो पनि चाहना त्यही थियो । यही फिल्ममा अभिनय गरेका कारण आज मेरो करिअरले नयाँ मोड लिएको छ । अब फिल्म क्षेत्रमै केही गर्न सक्छु भन्ने हौसला मिलेको छ ।

'प्रेमगीत'मा 'लभर ब्वाई'को भूमिका निर्वाह गर्नुभएको थियो ? कतिको गाह्रो या सजिलो भयो ?

मेरो वास्तविक प्रकृतिभन्दा बिलकुल फरक खालको भूमिका थियो त्यो । फिल्ममा 'प्रेम'ले मनको कुरा खुलेर राख्न सक्दैन थियो । ऊ सहन्थ्यो । म वास्तविक जीवनमा यसको ठीक विपरीत छु । प्रेम रिसाउँदा नाच्थ्यो, म नाच्दिनँ । रिसाउँदा नाच्ने सिनमा त मैले निर्देशकलाई यस्तो पनि हुन्छ र ? भनेर सोधेको थिएँ । उहाँले फिल्म 'मुन्ना भाइ एमबीबीएस'मा बोमन इरानी रिसाउँदा हाँस्थे ? त्यस्तो हुन्छ र ?' भन्दै प्रतिप्रश्न गर्नुभयो । अनि, मैले जे स्वाभाविक लाग्दैन, त्यो गर्न सक्नु नै अभिनेताको खुबीजस्तो लाग्यो । दर्शकले त्यो बानीलाई फिल्ममा मन पनि पराउनुभएछ । 'एकचोटि रिसाएर नाच न' भन्दै जिस्काउने पनि छन् । यो भूमिका निर्वाह गर्नका लागि मैले सामान्य वर्कसप गरेको थिएँ । आफूलाई त ठीकै गरेजस्तो लागेको हो । अहिले आएर दर्शकले बढी मन पराइदिनुभयो ।

वास्तविक जीवनमा पनि त कसैको 'प्रेम' बनिएको होला !

अपरिपक्व प्रेम त कति भए कति । तर, साँचो प्रेम अहिलेसम्म भएको छैन । कुनै दिन होला ।

अभिनय सिकियो त ?

अहिलेसम्म त छैन । तर, अब सिक्नुपर्छ भन्ने लागेको छ । जिम र डान्स कक्षा त ज्वाइन गरिसकेँ । अभिनय कक्षा पनि चाँडै सुरु गर्ने तयारीमा छु ।

फिल्ममा प्रस्ताव कत्तिको आइरहेका छन् ?

'प्रेमगीत'को गीत रिलिज भइसकेपछि नै तीनटा फिल्मको प्रस्ताव आ'को हो । त्यसपछि छसातवटा आइसक्यो । 'प्रेम गीत'को सिक्वेलमा पनि मलाई दोहो¥याउने कुरा भइरहेको छ । त्यही भएर अरू फिल्मका लागि निर्णय गर्न सकिरा'को छैन ।

तपाईंको परिवार निकै कडा छ भन्नुभयो । अभिनयमा लाग्दा परिवार कत्तिको सन्तुष्ट छ त ?

अझै पनि सन्तुष्ट हुनुहुन्न । उहाँहरूलाई यो क्षेत्रमा भविष्य छ जस्तो नै लाग्दैन । यो क्षेत्रमा लागेर आर्थिक रूपमा सबल बन्न सकिँदैन जस्तो लाग्छ । अहिलेसम्म त्यस्तो बलियो उदाहरण केही नभएर पनि हो । मेरो परिवारलाई विदेश जाओस्, पैसा कमाओस् र हामीलाई पनि घुमाउन लैजाओस् भन्ने छ । मलाई भने यही क्षेत्रमा भविष्य बनाउनु छ । बन्छ भन्ने पनि लाग्छ ।

कुनै कलाकार छन्, जसबाट तपाईं प्रेरित हुनुहुन्छ ?

मलाई 'टाइटानिक'का हिरो लियोनार्डो डिक्याप्रियो मन पर्छ । जसले यो पटकको अस्कर अवार्डमा सर्वोत्कृष्ट अभिनेताको अवार्ड जित्नुभयो । उहाँको लुक्स, अभिनय र बोल्ने शैली सबैबाट प्रभावित छु । मलाई पनि उहाँजस्तै बायोपिक फिल्ममा काम गर्न मन लाग्छ । कोही योगदान पुर्याएको व्यक्तिको जीवनमाथि बनेको फिल्ममा अभिनय गर्न मन लाग्छ ।

फिल्म क्षेत्रको के कुराले तपाईंलाई बढी चित्त दुख्छ ?

यहाँ नयाँ–नयाँलाई पेल्न खोजिन्छ । जो बलियो छ, त्यसले राज गर्न खोज्ने संस्कार जहीँतहीँ छ । यहाँ पनि रहेछ । पारिवारिक पृष्ठभूमि फिल्म नभएकालाई यहाँ एकदम गाह्रो छ । फिल्मको वितरण र प्रदर्शनमा पनि पारदर्शिता छैन, जुन दुइटा फिल्म निर्माण गर्दा मैले भोगिसकेको छु । यस्तै–यस्तै कुराले चित्त दुख्छ ।
nagariknews

नायक अनमोल केसी (छोरा) र भुवन केसी (बाबु)को सम्बन्ध बाहिर हेर्दा जस्तो छ, के भित्री रूपमा पनि त्यस्तै होला ? आमा सुस्मिता घर छाडेर गएपछि अनमोलको मनोविज्ञानमा कस्तो असर गर्यो होला, के अनमोल आमाबाबुलाई एक हुनुपर्छ भन्नका लागि अगाडि आएनन् होला त ? यस्तै-यस्तै प्रश्न धेरै पाठकको मनमा पनि हुन सक्छ । अनलाइनखबरको स्टुडियोमा भुवन र अनमोलले यिनै सवालमा जवाफ दिए ।
अनमोलको रुचि अभिनयमा रहेको भुवनलाई कहिले थाहा भयो होला ?
भुवन केहीबेर सम्झेर भन्छन्, ‘जसरी सानैदेखि मलाई गीत गाउन मन पथ्र्यो, अनमोल पनि पढाइभन्दा म्युजिक र स्पोर्टमै रुचि राख्थ्यो । म पढाइमा खासै कमजोर थिइनँ, जसरी अनमोलले पनि पढाइमा खासै रुचि राखेन । म रेडियो नेपालमा सानै उमेरमा गाना गाउँथेँ, अनमोलले पनि साथीहरूलाई समेटेर स्कुलमा म्युजिक ब्यान्ड नै बनाएको थियो । ठ्याक्कै मेरो स्वभाव गएको थियो उसमा । उसले कहिल्यै पनि हामीलाई अभिनय गर्छु भनेन । तर, उसमा भित्रैबाट अभिनयको रुचि भएपछि हामीले साथी म तिम्रोको एउटा गीतमा खेलायौँ । यो गीत गरेपछि अनमोललाई चलचित्र खेल्न मन छ या छैन भन्ने बुझ्न पनि हामीलाई सजिलो हुन्थ्यो । तर,

भुवन केसी मेरो बच्चाजस्तो पो लाग्छ

अनमोलले गीतमा राम्रो काम गर्यो । पछि, होस्टेल चलचित्रका लागि निर्देशक हेमराज बीसीले अफर गर्दा उसले स्क्रिप्ट हेर्यो र मन पर्यो भन्यो । उसले कुनै पनि तालिम लिएको छैन, मसँगै सानोमा छायांकन स्थलमा पुग्दा, घरमा निर्माता निर्देशक आउँदा उसलाई अभिनयको ज्ञान भएको हो । उसको अभिनयबारे विभिन्न कुरा हुन्छन् । तर, अनमोल एक्सनको रियाक्सन हलिउड लेभलको गर्छ । ऊबाट मैले सिक्नुपर्ने कुरा पनि धेरै छन् ।’
भुवनको लामो उत्तरपछि प्रश्न अनमोललाई, कुरा उही थियो अभिनयमा रुचि छ भन्ने कुरा कहिलेदेखि थाहा भयो ?
‘मलाई होस्टेलको स्क्रिप्ट आएको थियो । त्योभन्दा अगाडि पनि मलाई अफर नआएको होइन । तर, होस्टेलको कथा मेरो रियल लाइफमा पनि मिल्ने भएकाले मन पर्यो । म पनि रियल लाइफमा होस्टेलबाट निकालिएको केटा हुँ । चलचित्रको कथा पनि त्यस्तै भएकाले मलाई गर्न मन लाग्यो । म मेरा साथीभाइ र टिचरलाई चलचित्रका माध्यमबाट देखाउन चाहन्थेँ । यसबाट राम्रो फिडब्याक आयो ।’
कुरा होस्टेलको आएपछि अनमोललाई अर्को एउटा प्रश्न थियो, के तपाइर्ंलाई बाबुआमाले होस्टेलमा नराखिदिएको भए हुन्थ्यो जस्तो लागेन ?
अनमोल यसको जवाफमा पोजेटिभ देखिए । मलाई होस्टेलमा नराखिदिएको भए हुन्थ्यो भन्ने नै लागेन । मलाई होस्टेल लाइफ बहुतै मन पर्यो । केटाहरूको बदमासी, रमाइलो, वास्तवमै भन्ने हो भने घरमा हुँदैन । होस्टेल जाने पहिलो दिन साथीहरूले देख्छन् भनेर ब्ल्यांकेटले मुख थुनेर रुन्थेँ । तर, पछि त्यसमै रमाउन थालेँ । पछि बिस्तारै घरमै जान मन नलाग्ने भयो ।
एउटा सुपरस्टारको छोरालाई किन होस्टेलको जीवन दिइयो होला, साँच्चै के पिता भुवनको मनले छोरालाई होस्टेल पठाउन मान्यो त ? यसमा भुवन जवाफ-
मान्छेको जीवनमा होस्टेल पनि बस्नुपर्ने चिज रहेछ । यो कुरा मैले अनुभव गर्न पाइनँ । होस्टेलबाट फर्किएपछि अनमोलमा आफ्नो काम आफैँ गर्ने, आफ्नो लूगा आफैँ मिलाउने बानी बस्यो । जुन अहिले म पनि गर्न सक्दिनँ…
बीचमै अनमोल बोले-
भुवन भन्छन्- म कहिलेकाहीँ उसको लुगा मागेर लगाउँछु । उसले एउटा अन्तर्वार्तामा भनेको थियो, हाम्रो लुगा मात्र सेयर हुन्छ, अन्डरवेयर होइन नि फेरि ।’
हाम्रो घरमा काम गर्ने मानिस छन् । तर म आफ्नो लुगा आफैँ मिलाउन चाहन्छु । आफूले खाएको भाँडा आफैँ मोल्न मन लाग्छ । अरुले गरेको कामको चित्त नै बुझ्दैन ।
फेरि भुवन बोले- अनमोललाई अहिले आत्मविश्वास बढेको छ । मलाई चिया खान मन लाग्यो भने कराइरहन्छु । तर, अनमोल आफैँ बनाएर ल्याउँछ ।
आखिर अनमोललाई होस्टेल किन राख्नुपर्यो त ? भुवन भन्छन्, ‘मैले उसलाई थप्पड त के गाली पनि गरेको छैन । ऊ घरमा हुँदा राम्रो पढ्दैनथ्यो । होस्टेलमा गयो भने साथीभाइको संगतले पढ्ला, होमवर्क गर्ला भन्ने लाग्यो । म भने उसलाई होस्टेल नराख्ने पक्षमा थिएँ । उसकै ममीको सल्लाहमा राखिएको हो, मेरो खुसीले होइन है फेरि ।’
अनमोल र भुवन एक-अर्कालाई बाबुछोरा भन्दा पनि साथी भन्न रुचाउँछन् । साच्चै यी दुईबीच कस्ता-कस्ता कुरा सेयर हुन्छन् होला ?
भुवन भन्छन्, ‘सानोमा उसले मेरो राम्रो लुगा देख्यो कि लगाइहाल्थ्यो । यसको लुगा मलाई फिट हुँदैनथ्यो । तर, अहिले उसले राम्रो लुगा लगाउन थाल्यो । म कहिलेकाहीँ उसको लुगा मागेर लगाउँछु । उसले एउटा अन्तर्वार्तामा भनेको थियो, हाम्रो लुगा मात्र सेयर हुन्छ, अन्डरवेयर होइन नि फेरि ।’
भुवनको कुराले अनमोल पनि मुसुक्क हाँसे । बिहानदेखि खाना नखाएकाले अनमोल केही निन्याउरो देखिएका थिए । अनलाइनबरको स्टुडियोमा आएकी चलचित्रकी नायिका साम्राज्ञी राज्यलक्ष्मीले बाई भन्दै बिदा मागिन् । भुवन र अनमोलले हात हल्लाए, फेरि कुराकानीमै केन्दि्रत भए ।
भुवनले थपे, ‘हाम्रो व्यक्तिगत कुरा पनि सेयर हुन्छ । हामी बाबुछोरा जस्तै लाग्दैनौ । म बाबु हँु, तैँले यो गर्नैपर्छ भनेर म कर गर्दिनँ । यो कुरा हो बाबु, गरे राम्रो हुन्छ भन्छु । तर, उसले केहीबेर सोच्छ र राम्रो लागे गर्छ, नत्र मलाई रुचि छैन भन्छ । यसपछि म फोर्स नै गर्दिनँ ।’
अनमोललाई बाबु कस्ता लाग्छन् त ?

अनमोल रमाइलो पारामा बोले, ‘उहाँ एकदमै फ्रयांक र फ्रेन्ड्ली लाग्छ । मलाई ड्याडीजस्तो नै लाग्दैन, साथीजस्तो लाग्छ । कहिलेकाहीँ त मलाई भुवन केसी मेरो बच्चा जस्तो पो लाग्छ । किनकि म उहाँलाई धेरै राम्रा-राम्रा सल्लाह दिइरहेको हुन्छु । उहाँ बाहिर जाने घुम्ने गर्नुहुन्छ तर म घरमै बस्छु, खासै बाहिर हिँड्दिनँ ।’
के अनमोलले भुवनसँग युवतीका कुरा सेयर गर्छन् ?
भुवन मुस्कुराउँदै बोले, ‘उसले मलाई हरेक कुरा सेयर गर्छ । तर, युवतीका विषयमा जहाँसम्म मलाई लाग्छ, स्पेसल कोही छैनन् । अब केटी फ्यान, साथीहरू हुनु त स्वाभाविक नै हो ।’
भुवनले अनमोललाई गलफ्रेन्ड भए डिनरका लागि बोलाउन पनि भनेका छन् । तर, अनमोल भने आफ्नो कुनै प्रेमिका नभएको बताउँछन् ।
अनमोल भन्छन्, ‘खासै त्यस्तो छँदै छैन । मलाई रिलेसनसिपका लागि समय नै छैन । रिलेसनसिप भयो भने कपाल मात्र छिटो झर्छ ।’
अनमोलको कुराले भुवन हाँसे । सायद, कसैसँग सम्बन्धमा रहँदा धेरै टेन्सन हुने भएकाले अनमोल कपाल झर्ने कुरा गर्दै थिए ।
बाबुको नाम धेरै युवतीसँग जोडिने गर्छ । यस्ता समाचार पढ्दा, सुन्दा एउटा छोरालाई कस्तो लाग्ला ? मनोविज्ञानमा कस्तो असर गर्ला ?
अनमोल भने यसले आफूलाई कुनै असर नगर्ने बताउँछन् । भन्छन्, ‘म चाहन्न कि मेरो ड्याडी दुःखी भएर घरमा पत्रिका पढेर बस्नुहोस् । यो उहाँको रमाइलो गर्ने उमेर हो भने गर्नुपर्छ । मेरी ममी पनि सँगै भएको भए सायद मैले यो कुरामा आपत्ति जनाउँथेँ । तर, उहाँ एक्लै हुनुहुन्छ । यो उहाँको जीवन हो, मनोरञ्जन गर्न पाउनुपर्छ ।’
भुवन छोरालाई अथाह प्रेम गर्छन् । छोराको प्रेम पनि बाबुलाई उस्तै छ । भुवनले छोरालाई माया गरेर गालामा चुम्बन नगरेको कति भयो होला ?
भुवन हाँस्दै बोले, ‘अस्ति भर्खरै गरेको । उसलाई त म जहिले पनि गर्छु । कतै जाने बेला पनि गुड लक भन्दै गालामा चुम्बन गर्छु । सानोमा त ऊ उसको आमाभन्दा बढी मसँग हिँड्थ्यो ।’
साँच्ची, भुवनले अनमोललाई एउटा पिताको नाताले गर्ने माया कति होला ?
मैले अनमोललाई मेरो छोरा भनेर सोच्दिनँ । अनमोल नै म हो, म नै अनमोल हो । मभन्दा पनि बढी सफल होस् । भर्खरै मैले किनेर ल्याएको नयाँ पाइन्ट पनि उसले लगाउँछु भनेपछि मैले उसलाई तै लगा भनेर दिइहाल्छु । म कतै जान लागेको छु भने उसले म जाउँ भन्यो भने तैँ जा भन्छु । ऊ बच्चैदेखि पनि मसँगै नै झ्यामिन्थ्यो । यसैले पनि होला, आज परिस्थितिवश हामी बुढाबुढी अलग बसेका छौँ । तर, अनमोल मसँग नै बसिरहेको छ । यसैले पनि अनमोलको मलाई झनै माया लाग्छ । साँच्चै, उसले मलाई अथाह प्रेम गर्छ भन्ने मलाई लाग्छ ।
मेरो ड्याड र ममी पनि मजस्तै खुसी हुन जरुरी छ । तर, म छोरा भएको नाताले चाहन्छु, मेरो बुबा र आमा एकसाथ बसून् ।
भुवनले त अनमोलप्रति प्रेम दर्शाए । के अनमोल भुवनसँग बस्नुको कारण यही नै थियो त ?
अनमोल केही गम्भीर मुद्रामा देखिए, ‘म ड्याड-ममलाई बराबर प्रेम गर्छु । तर, बच्चैदेखि म जुन बेडमा सुत्छु, मेरो कोठामा जुन फर्निचर छ, यसमा मेरो लगाव बढी भएको हो । तर, मायाचाहिँ दुवैजनालाई बराबर गर्छु ।
के बाबुछोरा कहिल्यै भावनामा बगेर रोएका होलान् ? धेरै बाबु छोराबीच भावनाका आँसु धेरै बगेका हुन्छन् ।
भुवनले सम्झिए, ‘अहिले त यस्तो भएको छैन । तर, अनमोल सानो हुँदा सायद त्यस्तो भएको हुन सक्छ । खासगरी, उसको ममीसँग छुटिने बेला हामी इमोसनल भएर रुन्थ्यौँ । तर, अहिले त खुसी नै छौँ ।’
आमाबाबु अलग हुँदा सन्तानको मनमा पीडा त हुन्छ नै । अनमोल पनि यस्तै पीडाबाट के अलग छन् होला त ? के उनलाई लागेन आमा र बुबा अलग नभइदिएको भए हुन्थ्यो भन्ने ?
एउटा छोराको चाहना आमाबाबु सँगै बसून् भन्ने नै हुन्छ । तर, म स्वार्थी हुन चाहन्न । मेरो खुसी मात्र सोचेर पनि हुँदैन । मेरो ड्याड र ममी पनि मजस्तै खुसी हुन जरुरी छ । तर, म छोरा भएको नाताले चाहन्छु, मेरो बुबा र आमा एकसाथ बसून् ।
बाबु र आमाको मिलनका लागि उनले कुनै पहल गरेनन् होला त ?
कति गरेँ कति । अनमोल पीडा लुकाएर हाँसे । र, बोल्ने कोसिस गरे, ‘पहल त कति गरेँ गरेँ ?’
बीचमै भुवनले काटे, ‘बाबुआमा मिल्दिए हुन्थ्यो भन्ने त उसलाई लाग्छ होला । तर, कहिलेकाहीँ भन्छ- तिमीहरू खुसी छौ भने ठीकै छ ।’
फेरि अनमोल बोले, ‘पहिले त उहाँहरुलाई मिलाउन धेरै कोसिस गरेको थिएँ । यतिसम्म कि मैले ब्ल्याकमेल पनि गरेको थिएँ । हजुरहरु नमिल्ने हो भने, म आफैँ मर्दिन्छु पनि भनेको थिएँ ।’
यति भनेर चकलेटी नायक हाँसे । फेरि जोडे,
‘अहिले त ड्याड-मम दुवै खुसी हुनुहुन्छ जस्तो लाग्छ । म पनि आफ्नै कामले व्यस्त छु । घरमा पनि खासै हुँदिनँ ।’ यति बोल्दानबोल्दै अनमोल भावुक भइसकेका थिए । तर, चलचित्रको दृश्यको अभिनयजस्तै बीचमै हाँसिदिएँ ।
छोरालाई सुनिरहेका भुवनका पनि आँखा भरिएका थिए ।
भुवनले अनमोललाई कति माया गर्छन् होला ?
‘कुन बाबुले आफ्नो छोरालाई माया गर्दैन र ? अनमोलका दाजु र दिदी पनि छन् । उनीहरू भन्दा पनि उसको माया बढी किन लाग्छ भने सानैदेखि उसको संगत बढी भयो । यसैले पनि अनमोलको माया बढी लाग्छ । फेरि, उसले मेरै पेसा रोजेका कारण पनि उसको सफलता हेर्दा मलाई बहुतै खुसी लाग्छ । कतिपय मैले पूरा गर्न नसकेको कुरा पनि अनमोलले गरोस् भन्ने लाग्छ । नेपाली चलचित्र क्षेत्रका लागि अनमोलले गर्व गर्नलायक काम गर्दियोस् भन्ने लाग्छ ।’
भुवन स्क्यान्डलमा खुबै परे, के अनमोल यसबाट बच्न सक्लान् त ?

मुख्य कुरा आफू अनुशासनमा बस्ने हो । तर, स्क्यान्डल आयो भने कसरी त्यसलाई पार लगाउने भन्ने विषयमा मैले सोचेकै हुन्छु ।
अनमोल केसीलाई एउटा आरोप छ, भुवन केसीको छोरा भएकै कारण आज यो उचाई र सफलता मिलेको हो ? यो अनमोलका लागि लक हो ? अनि अनमोल लुक्सकै कारण चलेको हो ?
यसमा अनमोल तर्क छ, ‘म उहाँकै छोरा भएपछि यो उहाँको जुन क्रेडिट छ, यो अरुले खाने कुरा नै हुँदैन । मेरै अनुहार हो त, मेरो अनुहारको क्रेडिट मैले नखाएर अरु कसले खान पाउँछ त ? मैले अरुको चिज प्रयोग गर्न भएन । आफ्नो कुरा त आफूले नै प्रयोग गर्ने हो ।’
भुवन बीचमै थप्छन्, ‘मेरो छोरा हुँदा उसलाई सजिलो मात्र भएको छ । मेरो फ्यान, पत्रकारले पनि साथ दिने नै भए । यो कुराले यसलाई प्लस मात्र गरेको छ । उसको आफ्नै ट्यालेन्ट, लुक्स, बानीमै डिपेन्ट गर्ने हो ।’
साथीजस्ता भुवन केसी र अनमोल केसीले दिल खोलेर कुरा गरे । अनमोलले पैसा कमाउन थालेको धेरै भएको छैन । उनले बाबुसँग पकेट मनी माग्न छाडेको कति भयो होला ?
भुवन भन्छन्, ‘दुई वर्ष भयो । आफैँले कमाउन छाडेपछि मैले दिन छाडेको छु ।’
अनमोल आफ्नो कमाइ बाबुआमा दुवैलाई दिन्छन् । उनी भन्छन्, ‘म ड्याडलाई पनि दिन्छु, ममलाई पनि दिन्छु । भविष्यको योजनाका लागि सेफ पनि गर्छु । आफूलाई जिउन पनि खर्च गरिरहेको हुन्छु । सबै ठाउँमा ब्यालेन्स गर्छु ।’
अनमोलले कमाएको पैसा आफूलाई दियोस् भन्ने चाहना भुवनलाई छ कि छैन ? यसमा भुवन छोरालाई सानै देख्छन्, ‘मेरो नजरमा त ऊ सानो बच्चा हो । यति सानो उमेरमा उसले नाम कमाउनु नै ठूलो कुरा हो । उसले कमाएको पैसा जे गरे पनि मैले केही भन्दिनँ । मलाई चाहियो भने तैँले धेरै कमाएपछि माग्छु भन्छु । अहिले त मलाई उसले मसँग नमागेकोमा नै ठूलो कुरा लागिरहेको छ ।’
बाबु छोरामा धेरै प्रेम छ, साथ र सहयोग छ । भुवन केसीको उमेर बिस्तारै बढ्दै छ, अनमोल स्टार बन्ने दौडमा छन् । छोरा बुढेसकालको साथी बनोस् भन्ने पनि त होला नि, प्रश्न सकिन नपाउँदै भुवन बोले, ‘अवश्य बन्छ । ऊ मेरो बुढेसकालको साथी बन्छ । अहिले त मैले आफैँ कमाइरहेको छु । तर, पछि मलाई केही भयो भने उसले मलाई हेर्छ भन्नेमा त मलाई कुनै शंका नै छैन नि ।’
छोराप्रति भुवन शतप्रतिशत विश्वस्त देखिए । अनमोल पनि दायित्व सम्झन्छन्, ‘गर्नैपर्छ लाइफमा । आफ्नो परिवारलाई नगरे कसलाई गर्ने त ?’
‘अनमोलले के नगरिदिए हुन्थ्यो होला भन्ने लाग्छ त भुवनलाई ?’

अनमोलले आजसम्म मेरो दिल दुखाउने काम नै गरेको छैन । एउटा बाबु आमालाई छोराले ड्रग्स नखाइदिए हुन्थ्यो भन्ने लाग्थ्यो, त्यो गरेन । उसले जीवनमा लागुपदार्थ कहिल्यै पनि सेवन नगरोस्, यसले मलाई चोट पुर्याउँछ । उसले यो काम गरेन, म यसमै खुसी छु ।
‘अनमोलको बिहेबारे भुवनले के सोचेका होलान् ?’
अहिलेको जमाना हाम्रो पालाको होइन । उसले जस्तो चाहन्छ त्यस्तै बिहे गरोस् भन्ने छ । आफू योग्य भएपछि मात्र बिहे गर भन्ने मेरो सुझाव हो । मेरो छोराले मन पराएको केटी मेरा लागि उत्कृष्ट जहिले हुन्छ । तर, नेपाली केटीसँग गर, विदेशी नगर भन्ने मात्र मेरो चाहना हो ।
‘नायिका गरोस् भन्ने छ कि छैन ?’
मलाई नायिकासँग बिहे गरे पनि केही छैन । किनकि, नायिका पनि राम्रा-राम्रा छन् ।
छोरामा कमजोरी देख्छन् भुवन ?
‘भुवन छोराका साना कमजोरी केलाउन लागे । उनको बुझाइमा अनमोल अल्छी छन् । बिहान उठ्न सक्दैन ।’
अनमोलले बीचमै कुरा काटे । काम गर्ने बेला त उठिहाल्छु नि । अरु बेला सुत्ने अधिकार सबैलाई छ हैन ?
अनमोलको नजरमा भुवनका पाँच कमजोरी के होलान् ? उनले यसरी सूची तयार पारे ।
१) चुरोट खाने बानी ।
२) आफ्नो उमेरभन्दा बढी योङ फेसन ।
३) तनाव बढी लिने ।
४) व्यायाम नगर्ने ।
५) अल्छी बढी । आफ्नो काम आफू नगर्ने, अरुलाई अह्राउने ।
प्रस्तुति: विजय सुवेदी आवाज
onlinekhabar

नेकपा एमाले निकट अनेरास्ववियुमा नविना लामा निर्वाचित भएकी छिन् । माधव नेपाल समूहका दीपक गौतमलाई पराजित गर्दै अनेरास्ववियुको अध्यक्ष पदमा आइतबार राति विजयी भएकी हुन् । नविना अविवाहीत छिन् । तर उनले आफुनो प्रेमी भएको बताएकी छिन् । विवाह प्रेमीसँगै हुने उल्लेख गर्दै काठमाण्डु टुडेसँग प्रेम र जीवनबारे खुलेर कुराकानी गरेकी छिन् । प्रस्तुत छअध्यक्ष लामासँग भएको कुराकानीको
सम्पादीत अंशः
अध्यक्षमा निर्वाचित हुनुभयो, के के गर्ने योजना छ ?
संगठन, राष्ट्र र विद्यार्थीप्रतिको जिम्मेवारी बढेको महशुस भएको छ । संगठनलाई गतिशिल बनाउने, आर्थिक पारदर्शीता कायम गर्ने, विद्यार्थी शक्तिलाई उत्पादनसँग जोडने, राष्ट्रियताको मुद्धामा जागरण ल्याउँने काममा मेरो ध्यान केन्द्रीत हुनेछ ।
पराजित साथीहरुलाई के भन्न चाहनुहुन्छ ?
पराजित साथीहरुको सल्लाह सुझाव अनुसार नै म अगाडि बढ्नेछु । उहाँहरुको रचनात्मक सुझाव समेटेर कार्यक्रम ल्याउनेछु । विजय पराजय भनेको चुनावको बेला हुने हो । चुनाव सकिएपछि कोही पनि प्रतिद्वन्द्वी हुँदैन । सबै साथीहरु नै हुन् ।
अनेरास्ववियुको अध्यक्ष त भइहाल्नु भयो, अब बिहे पनि गर्ने होला नी ?
विवाह जीवनको एक महत्वपूर्ण निजी घटना हो । प्राकृतिक कुरा पनि हो । विवाह गर्नुपर्छ भन्ने मान्यताबाट विमुख छैन । केही समय काम गरौं अनि विवाह गरौं भन्ने सोचेकी छु ।
कहिले गर्ने त विवाह ?
अब चाँडै गर्छु ।
अध्यक्षको कार्यकालभित्रै कि कार्यकाल सकेपछि ?
अनेरास्ववियुको अध्यक्षको कार्यभार लिएकै अवधिमा बिहे गर्छु ।
केटो खोजिसक्नु भयो ?
खोजी सकेको भन्दा पनि हुन्छ ।
भनेपछि प्रेममा हुनुहुन्छ ?
हजुर, त्यसै भन्नु पर्‍यो ।
नविना लामाको प्रेमी को होला ? धेरैलाई चासो छ, को हो उहाँ ? नाम भनिदिनुस् न ।
अहिले नाम भन्दिन । केही समयपछि विहेको औपचारिक सूचना नै आइहाल्छ त्यसबेला थाहा भइहाल्छ ।
कति समयदेखि अफेयरमा हुनुहुन्छ ?
भयो, केही समय । ठ्याक्कै यति भन्ने त याद नै छैन ।
आमाबुवालाई भन्नु भयो त ? केटो खोजिसकेको कुरा ?
अहँ छैन भनेको । अब एकैपटक बिहेको कुरा गर्ने हो आमाबुबासँग । अहिले नै ब्वायफ्रेन्ड छ भनेर कसरी आमाबुबालाई भन्नु ?
जन्मदिने बाबुआमालाई पनि यस्तो महत्वपूर्ण कुरा लुकाउने हो त ?
अफेयरको कुरा नभनेको मात्रै हो । बिहे त सल्लाहमै हुन्छ ।
संगठनको काममा धेरै व्यस्त हुनुपर्छ होला, डेटिङ चाहिँ कसरी गर्नुहुन्छ ?
संगठनको काममा व्यस्त हुनुपर्छ । बाहिर घुमफिर गर्न जाने समय हुँदैन । फेरि पब्लिकली घुम्न जान पनि मिलेन । संगठनको कामकै क्रममा भेटहुन्छ । कुराकानी हुन्छ । त्यही हो डेटिङ हाम्रो त ।
भनेपछि केटा संगठन भित्रकै हो ?
हजुर हो ।
भनेपछि संगठनभित्र त सबैलाई थाहा भएकै कुरा रैछ, नाम चाहीँ किन लुकाउनु भएको ?
मान्छे संगठनभित्रकै भए पनि धेरैलाई थाहा छैन । केही सिमित साथीहरुलाई मात्रै थाहा छ ।
kathmandutoday

मोरङको डाँगिहाटको लक्ष्मीमार्ग स्थित लक्ष्मी उच्च मा.वि. खेल मैदानमा डाँगीहाट युथ क्लवको मुख्य आयोजकत्व साथै डाँगीहाट व्यापार प्रवन्ध समितिको सह आयोजकत्वमा माघ २९ गतेदेखि सुरु भएको डाँगीहाट खेलकुद महोत्सवमा बिहिवार साँझ आएकी चर्चित गायिका तथा मोडल ज्योती मगरले डाँगीहाटबासीलाई नचाएकी छिन् । रोल्पाको नुवागाँउमा जन्मे, हुर्केकी ज्योती मगर हिजोआज साङ्गीतिक क्षेत्रमा निकै हट गायिका मानिन्छिन् । साङ्गीतिक कार्यक्रममा सहभागी हुन पूर्व आएकी उनीसँग गरिएको
कुराकानीका केही अंशः

रोल्पाको मान्छे पूर्व आउनु भएको छ कस्तो लागिरहेको छ ?
सोचेभन्दा धेरै नै रमाईलो लागेको छ । यस अघि पनि एक पटक सुनसरीको झुम्कामा रहेको क्षेत्रीय कारागारमा कार्यक्रमको सिलसिलामा आएको थिएँ ।

कसको प्रेरणाले यस क्षेत्रमा लाग्नुभयो ?
म गाँउमा स्कुल पढ्दादेखि नै विभिन्न नाटक तथा अन्य सांगीतिक कार्यक्रमहरुमा सहभागी हुनेगर्थे । पछि थप प्रेरणा चाँही मेरो अंकल र ठूलोबुवाबाट प्राप्त भयो ।

कति भयो यस क्षेत्रमा लाग्नु भएको ?
गाँउबाट राजधानी आएपछि, करिव दश वर्ष जति भयो ।

हालसम्म कतिवटा गीतहरु गाउनु भयो ?
करिव पाँच दर्जन जति गीतहरु गाएको छु । त्यसमध्ये सात वटा गीतको भिडियोमा चाँहि आफै अभिनय समेत गरेको छु ।

सधैँउस्तै देखिनु हुन्छ कति वर्ष पुग्नुभयो ?
छोरा मान्छेको सेलरी र छोरी मान्छेको उमेर नसोध्नु भन्छन् ।

विहे कहिले गर्नुहुन्छ ?
खोई अहिले त्यतातिर ध्यान छैन, जुरेपछि गरिएला नि ।

कति पढ्नुभएको छ, कि पढ्दै हुनुहुन्छ ?
एस.एल.सी पास गरेर काठमाण्डौँको पिके कलेजमा पढ्न सुरु गरियो पछि खासै पढाइमा अघि बढ्न सकिएन, अब त पढ्छु जस्तो नि लाग्न छाड्यो ।

किन बढि मात्रामा सेक्सुवल प्रकारका गीतमा अभिनय गर्नुहुन्छ ?
आ–आफ्नो पन हो म्युजिक, पोल्टिक्स, गेम र सेक्स सँगसँगै आउछ यो चार चिजले कुनै न कुनै रुपले मान्छेलाई तान्छ । फिलिङ्स अनुसारको भिडियो खेल्छु, अचेल त मेरो प्याट्रन नै बनिसक्यो ।

सबैभन्दा मन परेको गीत कुन हो ?
'उही मुलाको चाना...' ।

अन्त्यमा तपाईंका स्रोता तथा दर्शकहरुलाई के भन्नु चाहनुहुन्छ ?
दर्शक तथा स्रोताहरु हुनुहुन्छ र नै म छु । म सधै उहाँहरुको ऋणी रहिरहने छु र सधैभरी यसैगरी माया गरिरहनु हुनेछ भन्ने आशा गर्दछु ।
प्रस्तुति : विवेक मिश्र
aajakokhabar

भो अब पहिलो भ्यालेन्टाइन नै झुर भइहाल्यो । तैपनि यस्तो-उस्तो भनेर फकाएँ ।
सीताराम कट्टेल (धुर्मुस), कलाकार
श्रीमती जीवन जिउने आधार हुन् । जीवनको एक पाटो, एक अंग हुन् । हुन त धेरै होलान्, विवाह नगरी एक्लै पूरै जिन्दगी बाँचेका वा बाँच्ने आँट गरेकाहरू । तर, आफू विवाहित भएकाले पनि होला, मलाई त श्रीमतीबिनाको जीवन कल्पना पनि गर्न सकिँदैनजस्तो लाग्छ ।
जिन्दगीमा श्रीमतीको महत्त्व निकै हुन्छ । श्रीमती छिन् र ढुक्क छु । कुनै चिन्ता, तनावमा हुँदा पनि श्रीमतीलाई सुनाउँदा मन शान्ति हुन्छ । उनले केही न केही उपाय दिन्छिन्, ऊर्जा दिन्छिन्, चिन्ता नलिन भन्छिन्, उनले भनेपछि केही बिग्रेको छैन जस्तो लाग्छ ।
मेरा लागि श्रीमती प्रेरणाकी स्रोत हुन् । श्रीमतीसँगका हरेक पल प्रेरणादायी लाग्छन् । उनी व्यावहारिक छिन् । कतै म बहकिएँ भने पनि उनले लगाम लगाउँछिन्, सम्झाउँछिन्, सम्हाल्छिन् । उनको व्यावहारिकता नै देखेर मैले उनलाई रोजेको हुँ ।
मेकअप गर्दागर्दै देखेको
वृद्धवृद्धा आमाबाले भन्नुहुन्थ्यो, ‘तिमीहरूको जोडी भगवानले जुराइदिए जस्तो छ ।’ हामीभन्दा साना उमेरकाले मलाई दाजु नमस्ते, कुञ्जनालाई भाउजू नमस्ते भन्न थाले । यो सुन्दा मलाई त भित्रभित्र हो कि जस्तो पनि लाग्न थालिसकेको थियो ।
दमन रुपाखेती दाइले एउटा टेलिफिल्म बनाउँदै हुनुहुन्थ्यो, लौन सतायो । त्यसमा म पनि सहभागी थिएँ, प्रोडक्सन कन्ट्रोलर (व्यवस्थापक) को रुपमा, यो ०६० सालतिरको कुरा हो ।
लौन सतायोको सुटिङ थियो, मैतीदेवीमा । गाडीमा एउटी केटीले मेकअप गरिरहेको देखेँ । मेकअप गरिरहेकाले पनि होला, निकै फेसनेबल देखेँ । त्यतिबेला म थापाथलीमा भाडाको कोठामा बस्थेँ । आर्थिक अवस्था राम्रो थिएन, बन्दागोपीमा तेल नहाली छ्वाल्ल झोल हालेर खाने अवस्था थियो । उनी त्यहाँ हुनेखाने नै देखिन्थिन् । पहिरन महँगो देखिन्थ्यो, सहरिया हुनेखानेजस्तो । देख्नेबित्तिकै मनमनै सोचेँ- यो केटी निकै नै रैछ, कोचाहिँ रैछ !
त्यसपछि हामीबीच कुराकानी भयो । घर ललितपुर चापागाउँ, नाम कुञ्जना घिमिरे । कलाकार नै लागेर ‘के केमा काम गर्नुभाछ’ भनेर सोधेँ । उनले माटोले माग्दैन आफैँ दिनुपर्छ, अपराध लगायत टेलिफिल्म खेलेको बताइन् । थुप्रै टेलिसिरियल खेलिसकेकी रहिछन् । तर, हाँसेर-खुलेर कुरा गरिन्, हाइफाई वा कुनै घमण्ड देखाइनन् । मलाई उनी अनौठी लाग्यो । तर, पहिलो भेटमै आकषिर्त हुने, मन पराउने भन्ने भएन ।
जोडी मिल्छ भनेर साथीहरूले जिस्काउँदा
दमनदाइले दिन प्रतिदिन रेडियो नाटक पनि चलाउनुहुन्थ्यो, रेडियो नेपालमा । त्यसमा हामीले पनि काम गथ्र्यौं- म, कुञ्जना, केदारजी (केदार घिमिरे) लगायतले । पछि मेरी बास्सै बनाउने विषयमा छलफल हुन थाल्यो । कामकै सिलसिलामा हाम्रो भेट निरन्तरजसो हुन थाल्यो । रेडियो नेपालको क्यान्टिनमा खाजा खाइन्थ्यो, दमनदाइ लगायत साथीले म र कुञ्जनालाई जोडेर जिस्काउन थाले- तिमीहरू बिहे नभएका पर्यौ, जोडी मिल्छ भन्ने ढंगले । उनले त सामान्य रुपमा लिएजस्तो लाग्थ्यो, मलाई भने मिठास लाग्न थालेको थियो ।
दर्शकले भन्न थाले- जोडी मिलेको छ
‘मेरी बास्सै’ निर्माणमा लाग्यौँ- दमनदाइ, केदारजी, कुञ्जना, मलगायत । यो ०६१ सालतिरको कुरा हो । पहिले सहरी परिवेशको बनाइएको थियो । म काका र कुञ्जना भतिजीको भूमिकामा थिइन् । तीन-चार भाग गरेपछि त्यति गतिलो भएन भन्ने लाग्यो ।
त्यसपछि गाउँले परिवेशको बनाउने कुरा भयो । मैले अलि गोज्याङ्ग्रो-गोज्याङ्ग्रो, लफङ्गो खालको भूमिका गर्ने भएँ । नाम धुर्मुस पनि मैले नै राखेँ । उनको नाम सुन्तली राखियो । धुर्मुस र सुन्तली जोडी दर्शकले मन पराउनुभयो ।
०६२ सालतिर धुर्मस-सुन्तली, माग्नेबुढोको माग बढ्न थाल्यो, जिल्लाका सांस्कृतिक कार्यक्रममा । त्यतिबेला हामी ३० भन्दा बढी जिल्लामा गयौँ ।
जिल्लातिर जाँदा कतिपय वृद्धवृद्धा आमाबाले भन्नुहुन्थ्यो, ‘तिमीहरूको जोडी भगवानले जुराइदिए जस्तो छ ।’ हामीभन्दा साना उमेरकाले मलाई दाजु नमस्ते, कुञ्जनालाई भाउजू नमस्ते भन्न थाले । यो सुन्दा मलाई त भित्रभित्र हो कि जस्तो पनि लाग्न थालिसकेको थियो ।
एकपटक झापामा पनि कार्यक्रम पर्यो, मैले उनलाई मेरो घरमा पनि लिएर गएँ । उनको घरमा पनि हामी जान्थ्यौँ ।
प्रेम-प्रस्तावको कथा
मलाई त उनी भित्रैबाट मन परिसकेको थियो । अरुले जोडी मिल्छ भन्दा बडो स्वाद पथ्र्यो । सबैले भन्दाभन्दा मलाई पनि एकचोटि प्रस्ताव हान्दिउँ न त भन्ने लाग्यो । म थापाथलीमा डेरामा बस्थेँ, पुरानो घरमा । एउटा कोठा, सात सय रुपैयाँ भाडा थियो । म बसेको चौथो तलामा झापातिरका एकजना दाइ बस्थे, परिवारसहित । उनको कोठामा फोन थियो ।
राति तीन-चार बजेतिर धारामा पानी आउँथ्यो । मैले उहाँहरूलाई पानी बोकेर पुर्याइदिन्थेँ । पानी पुर्याएपछि फोन गर्न पनि पाउँथेँ ।
०६२ सालतिर एक दिन मैले त्यहाँबाट कुञ्जनाको घरको ल्यान्डलाइनमा फोन गरेँ । त्यतिबेला मोबाइल त्यति आइसकेको थिएन ।
सुरुमा सामान्य कुरा भयो । मन बलियो बनाएर भनेँ, ‘सबैले हाम्रो जोडी मिल्छ भन्छन् । आखिर तपाईंले पनि बिहे गर्नैपर्छ, मैले पनि गर्नैपर्छ । मलाई त तपाईं मन पर्छ ।’
यति के भनेको थिएँ, आम्मामा उताबाट उनी पड्किहालिन्, हाँडीमा मकै पड्केजस्तो । ‘अहिले बेलै भाको छैन । भर्खर त करिअर बन्न लाग्दै छ । अहिले नै यस्तो सोचेँपछि हामी बिग्रन्छौँ । के सोचेको होला ?’
ठूलो आँटले फोन गरेको थिएँ, सोचेजस्तो उपलब्धि भएन ।
बिस्तारै-बिस्तारै प्रेमको गन्ध आउन थाली’गो
प्रेम-प्रस्ताव गरेपछि उनले मप्रतिको बोली-व्यवहारमा प्रस्ट थाहा हुने गरी केही दूरी राखिन् ।
भर्खर-भर्खर धुर्मुसको नामबाट चिनिन थालेको थिएँ । नाम हुँदै पैसा हुने भन्ने थिएन । भरे के खाने, भोलि के खाने भन्ने खालकै अवस्था थियो । उनी मन पर्यो, स्विकारे स्विकार्छिन्, नस्विकारे पनि हार खान्नँ भनेरै प्रेम प्रस्ताव गरेको थिएँ ।
त्यसपछि पनि सँगसँगै हामी देश-विदेशमा हुने कार्यक्रममा गइरहनुपर्यो । यता, मेरी बास्सैमा धुर्मुस-सुन्तली जोडीको चर्चा चुलिँदै गयो ।
उनलाई पनि आत्मीय साथी भएको महसुस हुँदै गयो होला । हिँड्दा बोल्दा घर-व्यवहारका कुरा पनि आउने भए । उनले मेरा समस्यामा साथ दिन थालिन् ।
नदिउँ, नखाउँ भन्ने उनको सोचै छैन । बिहे हुनअघि नै मेरी आमा काठमाडौं आउँदा उनले तिलहरी किनिदिएकी थिइन् । उतिबेलै घरपरिवारलाई पूरै मन दिन्थिन् । परिवार राम्रो भए सबै राम्रो हुन्छ भन्थिन् ।
मेरो घरमा अलिकति ऋण थियो । जेठो छोरो भएकाले ऋण मैले तिर्नुपथ्र्यो । उनले घर-व्यवहारमा पनि साथ दिन थालिन् । भाइ-बहिनीलाई पढाउनुपर्छ भनेर सहयोग गर्न थालिन् ।
भाइ-बहिनीलाई पढाउनुपर्छ, घरको ऋणधन पनि मिलाउँदै जानुपर्छ भनेर पूरै व्यावहारिक कुरा गर्न थालिन् ।
हुँदै जाँदा हामी आत्मीय साथी हुँदै गयौँ । बिस्तारै-बिस्तारै प्रेमको गन्ध आउन थाली’गो । मायाको गन्ध आउन थालेपछि भ्यालेन्टाइमा भेट्ने कुरा भयो, ०६३ सालको ।
पहिलो भ्यालेन्टाइन नै झुर भो
म थापागाउँमा बस्थेँ । मेरो भाइ कुमार (जिक्री) पनि मसँगै बस्थ्यो । भ्यालेन्टाइनको दिन थापागाउँको कोठामा सबैजना बस्ने-खाने कुरा भयो । बानेश्वरमा मैले उनका लागि गिफ्ट किनेँ- एउटा गुडिया । उनलाई गुडिया मन पर्ने थाहा थियो । मलाई भ्यालेन्टाइन डे, प्रेमिकालाई के गिफ्ट दिने भनेर खासै ख्याल थिएन ।
उनले मलाई एउटा सरस्वतीको मूर्ति गिफ्ट दिइन्, स्क्रिप्ट लेख्ने भएकाले सरस्वतीले बास गरुन् भनेर ।
त्यसपछि स्कुटर मैले चलाएँ, कुञ्जनाको रातो स्कुटर थियो । बाटोमा ‘आज मासु के खाने ? चिकेन खाने कि मटन खाने’ भन्छु, उनी मरेकाटे बोल्दिनन् । यसो फर्केर हेरेको त उनी छैनन्, छुटिछन् । फेरि फर्केर गएँ । उनी उताबाट हस्याङफस्याङ गर्दै आइरहेकी थिइन् । अनि भन्न थालिन्, ‘अहिले त तपाईंलाई यति होस छैन, मान्छे चढ्यो कि भन्नेसम्म ख्याल छैन । तपाईंसँग जिन्दगी कसरी चल्छ ?’
भो अब पहिलो भ्यालेन्टाइन नै झुर भइहाल्यो । तैपनि यस्तो-उस्तो भनेर फकाएँ ।

ज्योतिषले मंसिरभित्रै बिहे गर्न भनेपछि
मेरो घरनजिकै झापा गौरादहमा निकै कहलिएका ज्योतिष छन्- ज्योतिषी ढकाल । ती ज्योतिषले धेरैलाई पुर्याएका छन् । मेरीआमाले ती ज्योतिषसँग मेरो ग्रहदशा हेरिरहनुहुन्थ्यो । उनले मलाई १७ वर्षको उमेरमा काठमाडौं टेक्छ भनेका थिए, त्यही भएको थियो । त्यस्तै, ‘एसएलसीमा कि यो फस्र्ट डिभिजनमा पास हुन्छ । कि त फेल हुन्छ । एउटा विषयचाहिँ यसले बिगार्यो,’ भनेका थिए । नभन्दै सबैमा फस्र्ट डिभिजन आयो, म्याथमा ४२ नम्बर मात्रै आयो, झन्डैले नगुल्टेको ।
०६५ सालको दशैँमा घर गएको थिएँ । आमाले तीनै ज्योतिषलाई मेरो चिना देखाउनुभएछ । ‘यो केटाले ०६५ सालको मंसिरभित्रै बिहे गर्नुपर्छ । नत्र कि यो केटो नै रहँदैन, रह्यो भने पनि प्रगति गर्दैन । खोलाछेऊ घर भएकी एउटी केटीसँग यसको माया बसेको छ’ भनेछन् । कुञ्जनाको पनि घर नख्खु खोलाछेउमै पर्छ ।
ज्योतिषले भनेपछि आमालाई के चाहियो ? लौ बिहे गरिहाल्नुपर्छ भन्न थाल्नुभो ।
भो अब ! भर्खर-भर्खर माया झांगिँदै थियो, बिहे त कहिले गर्ने भन्ने टुंगै थिएन । तैपनि कुञ्जनालाई फोन गरेँ, ज्योतिषले भनेको कुरा, आमाले भनेको कुरा सुनाएँ । अघिअघि ज्योतिषले मिलाएका प्रसंग पनि सुनाएँ ।
‘अहिलेको जमानामा ज्यातिषको विश्वास गर्ने, करिअर बनेकै छैन । त्यस्ता ज्योतिषले भनेर हुन्छ’ भन्न थालिन् । मैले भनेँ, ‘यहाँ उनले भनेको पुग्दै आएको पनि छ । फेरि आमाले पनि बिहे गर्न जोड गर्नुभाछ । उसले केटै रहँदैन भनेको छ, म मरिहालेँ भने के गर्ने ? अब तिमी नभए मैले अर्कीसँग भए पनि मैले त बिहे गर्नुपर्छ ।’ यति भनेपछि उनले पनि सोच्न थालिन् ।
पहिले आमालाई भनिन् । त्यसपछि बुवा हुँदै उनका आफन्तमा चर्चा भयो । सबैले मलाई टिभीमा देखिरहेकै थिए । केटो त देखेकै हो, तर घर-परिवार कस्तो छ भन्ने कुरा आएछ । उनले ‘घर-परिवार होइन, मैले केटालाई हेरेकी हुँ, जिन्दगी जिउने मैले हो । मलाई केटो मन परेको छ’ भनेर दबाब दिइछन् ।अन्ततः हामीले बिहे गर्ने भयौँ, १४ मंसिर ०६५ मा ।
झापादेखि काठमाडौंसम्मको यात्रा उनैलाई भेट्न रैछ
मेरो पुख्र्यौली थलो सोलुखम्बु हो । बुवाले चामलको भात खान दशैँ नै कुर्नुपथ्र्यो । छोराछोरीलाई सुखले चामलकै भात खुवाउन भनेरै मेरो बुवा झापा बसाइँ सरेर आउनुभयो, ०४८ सालमा ।
हाम्रो झापामा दुई बिगाहा जमिन थियो । पछि आमा बिरामी पर्नुभो, अप्रेसन गर्नुपर्यो, हामीले पनि पढ्नुपर्ने भयो, त्यसैले १० कट्ठा जमिन बेच्नुपर्यो । जेहोस्, परिवारमा खानलाई अभाव थिएन ।
म जेठो छोरो । ममुनि दुई बहिनी र दुई भाइ छन् । मैले सातदेखि १० कक्षासम्म हलो जोतेरै पढेँ । बिहान अरु मान्छे उठिसक्दा मैले एउटा गरो खेत जोतिसकेको हुन्थेँ । साढे नौ बजेतिर गोरु फुकाउँथे र हतारहतार स्कुल जान्थेँ । बत्ती थिएन, टुकी बालेर होमवर्क गर्थें । फेरि पनि स्कुलमा दोस्रो भइरहन्थेँ ।
स्कुल पढ्दा मैले चित्र बनाउँथेँ । श्री ज्ञानज्योति मावि गौरादहमा पढेको हुँ । त्यतिबेला स्कुलको अफिसमा मैले बनाएका धेरै चित्र राखिएको थियो- लेखनाथ पौडेल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, मदन भण्डारी आदिको । ती चित्र अहिले के गरियो, थाहा छैन ।
साथीहरूको फोटोको पनि चित्र बनाइदिन्थेँ । यसबापत मलाई २५-३० रुपैयाँ दिन्थेँ । यो पैसाले कापीकलम किन्थेँ, कहिलेकाहीँ बुवालाई दिन्थेँ । मलाई आफैँले केही गर्नुपर्छ भन्ने सानैदेखि लाग्थ्यो ।
सात कक्षा पढ्दादेखि मेरो ध्यान नाटकमा गयो । स्कुलमा सांस्कृतिक कार्यक्रम हरेक शुक्रबारजसो भइरहन्थ्यो । हामीले त्यहाँ नाटक देखाउँथ्यौँ । झापामा एकजना बिछट्टै कलाकार हुनुहुन्थ्यो, गणेश विक, अहिले खसिसक्नुभयो । उहाँले मलाई नाटक सिकाउनुभएको हो ।  बेलुका बुवाआमा सुतिसकेपछि राति २ बजे म बरन्डाबाट फालहालेर नाटकको रिहर्सल गर्न जान्थेँ ।
घरमा ऋण थियो, जेठो छोरो भएकाले मैले नै तिर्नुपथ्र्यो, नतिरे बढ्दै जान्थ्यो । आर्थिक अभाव भएपछि घर-झगडा हुँदोरैछ- आमा र हजुरआमाबीच झगडा हुने, मन अशान्ति हुने हुँदो रैछ ।
एसएलसी पास भएपछि मेरो मन घुम्यो । सोचेँ, काठमाडौं जान्छु, चित्र बनाउँछु, नाटक खेल्छु, केही नभए भाँडै माझौँला । अन्ततः काठमाडौं आउने निर्णय गरेँ । बुवाले भन्नुभयो, ‘कसले जोत्छ, मैले सक्दिनँ, यहीँ क्याम्पस छ, यहीँ बसेर पढ् ।’
मैले जिद्धी गरेपछि बुवाले ३६ प्रतिशत ब्याजमा काठमाडौं आउने भाडा खोजिदिनुभयो- १७ सय रुपैयाँ ।
त्यही पैसाले काठमाडौं आएँ, ०५८ सालमा । १७ सय रुपैयाँले के हुन्थ्यो र ? त्यसपछि म कलंकीको एउटा कम्पनीमा भाँडा बेच्ने काम गरेँ । डोकामा भाँडा हालेर ‘आयो भाँडा’ भन्दै हिँडे । काठमाडौंमा धेरै दुःख गरेँ, यी सबै दुःख उनीसँग भेट रैछ ।
हनिमुन भनेकै सँगै प्रस्तुति
हामी जहिलेदेखि टेलिभिजनमा धुर्मुस-सुन्तली जोडी बनेर अघि बढ्दैँ थियौँ, त्यही बेला देशभर महोत्सव हुने क्रम बढ्दो थियो । महोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा कलाकारको माग हुन्थ्यो ।
धुर्मुस-सुन्तली जोडीको पनि राम्रै माग थियो । हामीले १४ मंसिरमा बिहे गर्यौँ । तर, १७ मंसिरमा पोखरामा कार्यक्रम थियो, जोडी नै गयौँ । त्यसपछि २१ गते कोरियामा कार्यक्रम थियो, दुवै गयौँ । त्यसपछि इजरायल गयौँ ।  हामीले बिहे गरेको साल विभिन्न जिल्लामा महोत्सव परेको थियो । हाम्रो माग थियो । विदेशका कार्यक्रम कति तय भइसकेका थिए । हाम्रो हनिमुन भनेकै देश-विदेशका कार्यक्रममा सँगै प्रस्तुति दिने भयो ।
छोरी जन्मँदा
हाम्री दुई वर्षकी छोरी छिन्, सुबिहानी । उनको नाम मैले राखिदिएको हुँ, सुन्तलीले बिहानै जन्माएको भएर- सुबिहानी ।
छोरी जन्मनुअघि नै कुञ्जनालाई जीडीएम सुगर भयो, नर्भिक हस्पिटलमा भर्ना गरिएको रहेछ ।
त्यतिबेला म रुकुमको कार्यक्रम सकेर नेपालगञ्ज आइपुगेको थिएँ । कुञ्जनाको अवस्था सामान्य नै रहेछ । त्यसैले आफन्तले उनलाई हस्पिटल भर्ना गरिएको मलाई खबर नगर्ने निधो गर्नुभएको रहेछ । तर, मलाई साढुदाइ (कुञ्जनाका भेनाजु) ले खबर गर्नुभएको थियो, कुञ्जनालाई हस्पिटल लगिएको छ, सामान्य छ, आत्तिनुपर्दैन भनेर । त्यसपछि म तत्कालै जहाजमा काठमाडौं आएँ ।
हस्पिटलमा मलाई देखेर कुञ्जना छक्क परिन् । त्यतिखेर मैले प्रमोद खरेलले गाउनुभएको ‘मनै कन्ट्रोल हुँदैन’ गीतको म्युजिक भिडियो बनाउँदै थिएँ । हस्पिटलमै भएका बेला सुटिङको काम सकेँ ।
१५ दिनजति हस्पिटल बसेपछि छोरी जन्मिइन् । घरमा लगेँ । तर, जन्मेको १६ दिनमै छोरी बिरामी परिन्, दाहिने घुँडामा इन्फेक्सन भयो । फेरि उनलाई पाटन हस्पिटल लगियो ।
त्यतिबेला मैले भूकम्पसम्बन्धी चेतनामूलक ‘जुल्फेको घर’ टेलिफिल्ममा काम गर्दै थिएँ । सुटिङ सक्नेबित्तिकै साँझ हस्पिटलमा जान्थेँ । राति ११-१२ बजेसम्म हस्पिटलमा रुँगेर बस्थेँ । मलाई एसिडिटी समस्या थियो, अनिदो बस्यो कि एसिडिटी बढ्थ्यो । म नै बिरामी भएपछि कुञ्जनाले मलाई घरमा बस्न भनिन्, त्यसपछि उज्यालो हुँदाबित्तिकै म हस्पिटल जान्थेँ ।
डाक्टर इमरान अन्सारीले अप्रेसन गर्नुपर्छ भन्नुभयो । हस्पिटलमा कागज गर्नुपर्दो रहेछ । यो अप्रेसन सफल हुन पनि सक्छ नहुन पनि सक्छ, के गर्नुहुन्छ भनेर सोधियो । मैले विदेश लैजान्छु भनेँ । तर, समय थिएन । अप्रेसन असफल भए पनि आफैँ जिम्मेवार हुने भनेर कागजमा हस्ताक्षर गरेँ ।
त्यति सानी बच्चीले औषधि खान सक्ने कुरा थिएन । सुई लगाइन्थ्यो । ढाडबाट पानी पनि निकाल्नुपर्ने भनियो । कुञ्जनालाई पनि गाह्रो, भर्खरकी सुत्केरी, छोरी बिरामी भएपछि हस्पिटलमा बस्नैपर्यो ।
त्यति सानी बच्चीले यत्रो पीडा पाउने भएपछि हामी बुढाबुढी सँगै रोयौँ ।
थुप्रैपटक सँगै रोएका छौँ
उनी रिसाएर बोल्न थालिन् भने म झोँक्राएझैँ बस्छु । उनको ‘धार्मिक प्रवर्चन’ सकिएको एक छिनपछि धुर्मुसकै पारामा ‘सुन्तली’ भनेर बोलाउँछु ।
बिहे भएको पाँच-सात दिनपछि सबै पाहुना गए । एक दिन साँझ मैले तरकारी ल्याएर उनलाई दिएँ । उनले अनौठो मानिन् । उनको मुहारमा नरमाइलोपन झल्कन्थ्यो ।मैले पनि सोचेँ- हिजोसम्म उनी आफ्ना बाबुआमासँग थिइन्, आमाले पकाएको खान्थिन्, आज बाबुआमा छाडेर मसँग आएकी छिन्, यत्रो जिन्दगी काट्नलाई ।
त्यसपछि मैले तरकारी केलाउन, खाना बनाउन सघाएँ । खाना खाएपछि मैले मेरो बालपन, स्कुल पढ्दाका दुःख, काठमाडौंका संघर्ष भन्न थालेँ । दुःखसुखका कुरा भएपछि हामी रुन थाल्यौँ ।
मेरो भाइ कुमार (जिक्री) युके जान्छु भन्यो, फिल्म डाइरेक्सन पढ्न । खर्च ११-१२ लाख लाग्थ्यो । हाम्रो बिहेकै सालको कुरा हो । भर्खर बिहेमा लागेको ऋण तिरेका थियौँ, बचत थिएन । त्यसपछि हामीले सरसापट गर्यौँ- कलाकार शिवहरि पौडेलदाइ, दीपकराजदाइसँग । मिडिया हबबाट  फेरि ऋण लियौँ । भाइलाई चाहिने पैसा जम्मा गर्यौँ । भाइ जाने भयो ।
तर, जाने दिनै ऊ बिरामी पर्यो- ज्वरो आएर बोल्नै नसक्ने भयो । यता सबै खर्च भइसकेको छ, नपठाई पनि भएन । उसलाई बिरामी अवस्थामै एयरपोर्टमा बिदावारी गर्यौँ । म घरको जेठो, भाइबहिनी हेर्ने जिम्मेवारी पनि मेरै, जिम्मेवारी लिएपछि माया बढी हुने । बिरामी हुँदाहुँदै पनि पठाउनुपर्यो, पठाएर र्फकंदा हामी बुढाबुढी रुँदै फक्र्यौं ।
त्यसपछि भूकम्पका बेला रोयौँ । त्यतिबेला हामी अमेरिका थियौँ, छोरी नेपालमै । नेपालमा भूकम्पले ठूलै क्षति गरेको खबर पाउँदाबित्तिकै हामी रोयौँ । भुइँचालो गएको १२-१३ घन्टापछि छोरी सकुशल रहेको खबर पायौँ । तर, जब भूकम्पले पुरिएका बालबालिका निकालेको, घर भत्केको समाचार पायौैँ, हामी डाँको छोडेर रोयौँ, हामी अमेरिकाका गल्ली-गल्ली रुँदै हिँड्यौँ ।
रिसाएका बेला ‘सुन्तली’ भनेर बोलाउँछु
उनले मलाई बाबा वा अंकल भन्छिन् । बिहे गर्नुअघि नै हाम्रो सर्कलमा अंकल भन्ने चलन थियो । एकले अर्कोलाई अंकल भनेर सम्बोधन गर्थ्यौं । मैले केदारजीलाई अंकल, केदारजीले मलाई पनि अंकल भन्ने गर्थ्यौं । यही भएर उनले अझै पनि अंकल भन्छिन् । मैले उनलाई काली, कालु यस्तै-यस्तै भन्छु ।
अहिले पनि हामी ‘डिप लभ’मै छौँ । उनले मलाई लोग्नेकै रुपमा मात्र कहिल्यै सोच्दिनन् । ऊ मेरो साथी हो, मित्र हो, जिन्दगी हो भन्ने खालको व्यवहार गर्छिन् । मैले पनि उनलाई श्रीमतीभन्दा बढी साथी सम्झन्छु, यसले नै सम्बन्ध दिगो बनाउँछ, बनाएको छ, जस्तो लाग्छ मलाई । वैवाहिक सम्बन्धलाई बन्धनका रुपमा लिइयो भने झगडा-डिभोर्स सुरु हुने त हो ।
लोग्ने स्वास्नीको झगडा परालको आगो भन्छन् । तर, अहिलेसम्म हाम्रो भीषण आगलागी नै हुने खालको झगडा भएको छैन । काम, घर-व्यवहारका कुरामा मैले मानिसलाई छिटो विश्वास गर्छु । छिटो-छिटो आत्तिएर निर्णय गर्छु । भइहाल्छ, चल्छ भन्ने ढंगले सोचेको हुन्छु । तर, उनले यसरी हुँदैन भनेर सम्झाउँछिन्, यसरी सम्झाउँदा पनि ठुस्काठुस्की  हुन्छ ।
विभिन्न कार्यक्रममा कसरी प्रस्तुति दिने, सक्रिप्ट कस्तो बनाउने भनेर हामीबीच छलफल हुन्छ । सँगै बसेर तयारी गर्छौं । यस्तो बेला म हाबी भएँ भने उनले चित्त दुखाउँछिन्, हुँदाहुँदा अहिले त यो कुराले उनको चित्त दुख्छ भन्ने मलाई पहिले नै थाहा हुन्छ ।
म लथालिंग भएर हिँडेको, लगाउनमा ध्यान नदिएको, जहाँ पनि खुला किताब भएर बोलेको उनलाई मन पर्दैन । तर, मेरो यस्तै स्वभाव छ । यसमा उनले सम्झाउने सिलसिलामा पनि ठाकठुकजस्तो हुन्छ ।
उनलाई मलाईभन्दा अघि बढी रिस उठ्छ, पहिले त झ्वाम्मै रिसाइहाल्थिन्, अहिले मेरै ड्याङमा आउँदै छिन् । अहिले कामले गर्दा म घरमा ढिला र्फकन्छु । ‘छोरी छाडेर हिँडिरहनुपर्छ, घरमा हुँदा त छिटो आउनू’ भनेर कराउँछिन् । यस्तै-यस्तै कुरामा ठुस्काठुस्की हुन्छ । हातै उठाएको, झगडा गरेर नबोलेको भन्ने छैन । त्यही एक-डेढ घन्टामा बोलिहाल्छौँ ।
उनी रिसाएर बोल्न थालिन् भने म झोँक्राएझैँ बस्छु । उनको ‘धार्मिक प्रवर्चन’ सकिएको एक छिनपछि धुर्मुसकै पारामा ‘सुन्तली’ भनेर बोलाउँछु । अनि, रिसले खुम्चिएको उनको मुहारमा हाँसो खुल्न थाल्छ ।
उनीसँग नाम जोडिएदेखि नै मेरो प्रगति भयो
मैले थालेका काम, चालेका हरपाइलामा उनले भरलाग्दो साथ दिन्छिन् । यो त मैले
पहिलेदेखि नै लागेको थियो, किनभने उनीसँग मेरो नाम जोडिएपछि नै मेरो प्रगति भएको हो ।
हामीले ०६७ सालमा घर बनायौँ, खुमलटारमा, दुवैको मेहनतले । भूकम्पपछि हामीले काभ्रेको पहारी बस्तीमा पुनर्निर्माणको काम थाल्यौँ । ७७ दिनमा काम सम्पन्न गर्यौँ, काम त विभिन्न सहयोगबाटै सम्पन्न भयो ।
तर, बीचमा पटकपटक आर्थिक समस्या आएका थियो, काम नै रोकिएला कि जस्तो भएको थियो, म पनि निराश थिएँ । तर उनले भनिन्, ‘चिन्ता नगर्नू, यो थालेको काम जसरी पनि पूरा गर्नुपर्छ, हाम्रो घर बेचौँ । हामीले यो घर पैतृक सम्पत्तिले बनाएका पनि होइनौँ । आफैँ कमाएका हौँ, दर्शकको मायाले । अहिले यो असल काम पूरा गर्यौँ भने हामीले फेरि कमाउन सक्छौँ ।’
उनको यो कुराले मलाई असाध्यै ठूलो बल मिल्यो । मेरो बुझाइ थियो कि महिलाहरू कमाएको सम्पत्ति जोगाउँ, बढाउँ भन्ने चाहन्छन् । तर, म गलत रहेछु । उनले मलाई आँट दिन यति ठूलो र बलियो निर्णय लिइन् । उनको साथ भएकाले पनि होला, त्यो काम घर नबेची पूरा भो ।
प्रस्तुति:  ध्रुवसत्य परियार
-onlinekhabar



भारतलाई पराजित गर्दै नेपाल २३ वर्षपछि दक्षिण एसियाली खेलकुद (साग) फुटबलको च्याम्पियन भएको छ । करिव १ महिना अघि बंगबन्धु कप जिताएको टोलीले गत सोमबार भारतको गुवाहाटीस्थित इन्दिरा गान्धी रंगशालामा आफ्नै मैदानमा भारतीय खेलाडीहरुलाई २–१ ले हराउँदै नेपाली टिमले उपाधि उचाल्दा नेपालीहरुको शीर गौरवले उचो भयो । नेपालीहरु सडकमा निस्किएर नेपालको जितको उत्सव मनाए ।

नाकाबन्दी गरिरहेको भारतलाई पराजित गरोस् भन्ने नेपाली मानसिकता र सामरिकरुपमा निक्कै चासोका साथ हेरिएको खेलमा भारतलाई हराउँदा सबै नेपालीहरुलाई खुसी लागेको छ । यो जित दिलाउनका लागि प्रमुख भूमिका खेलेका मध्ये एक साग फुटवल टिमका कप्तान विराज महर्जनलाई हामीले सोंध्यौं “खेल्न लाग्दा नाकाबन्दी सम्झनु भयो कि भएन ?” कप्तान विराज महर्जनसँग नेपाली हेडलाइन्सका सरोज गौतम र अशोक महर्जनले गरेको अन्तरंग कुराकानीः
विराज महर्जन, कप्तान,राष्ट्रिय फुटबल टिम

नाकाबन्दी लगाउने भारतको टिमलाई हराउँदा कस्तो अनुभव भयो ?
–यो जितमा हामी मात्र होइन सिंगो देशले नै खुसी मनायो । भारतको नाकाबन्दीका कारण देश कठिन परिस्थितिमा गुज्रिरहेको बेला नै हामीले भारतसँग प्रतिस्पर्धा गरिरहेका थियौं । नेपालीहरुको एक मात्र चाहना थियो–यस पटक जसरी पनि इन्डियालाई हराउनु पर्छ, यसले मात्र हामी खुसी र सुखी हुनेछौं । भारतलाई हराएपछि हामी जितको खुसीले पागल भयौं । त्यो खुसी कसरी व्यक्त गरौं …हामीले देशको सपना पुरा गर्‍यौं । नेपालीहरुको सपना साकार पार्‍यौं जस्तो लाग्छ ।

यो सफलतालाई कसरी लिनु भएको छ ?
–हामीले खेल्यौं । तर नेपालमा बसेर देशवासीले गरेको माया नै हाम्रो ठूलो सम्पत्ति हो । केटाहरुले खेले । गोर्खेहरुले खले भनेर जसरी आज चर्चा परिचर्चा भइरहेको छ हामी यसबाट निकै खुसी छौं । यो खुसी हामी सबै देशवासीसँग साट्न चाहन्छौ । हामी भुकम्पमा परी ज्यान गुमाएका परिवारहरुसंग पनि यो खुसी साटन चाहन्छौं । यो जित उहाँहरुमा नै समर्पण गर्न चाहन्छौं ।

सामाजिक सञ्जालमा चर्चा भए जस्तो खेल्ने बेला देशमाथि लागेको नाकाबन्दी सम्झनु भयो कि भएन ?
–सारा नेपालीले भोगको समस्याबाट हामी खेडालीहरु पनि अछुतो रहने कुरा भएन । भुकम्पले ठूलो पीडासंगै भारतले पनि अर्को पीडा थोपर्ने काम गर्‍यो । त्यसकारण हामीले नाकाबन्दी सम्झिएर खेल्यौं । यो सिंगो नेपाल र नेपालीको जित हो । जसले हामीलाई हौसला दिनु भो, जसले हामीलाई माया दिनु भो, जसले हामीलाई खेल्नको लागि उर्जा प्रदान गर्नु भो, जित पछि हामीले पाएको माया सम्झँदा निकै ठूलो काम गरेको जस्तो लाग्यो ।

भारतलाई हराउने धेरै बर्ष अघिदेखिको सपना साकार भयो होइन त ?
हाम्रो टिमले राम्रो गर्न सक्यो । जसको कारणले हाम्रो र सबै नेपालीको सपना साकार भएको छ । नेपालमा आउँदा अभिन्दन गर्नु भो । हामो जीवनमा यो भन्दा ठूलो सफलता अरु केही हुनै सक्दैन । फुटबललाई मात्र होइन सबै खेललाई माग गरिदिन म आग्रह गर्न चाहन्छु । खेलाडीस्तै राजनीतिक दलमा पनि यस्तो टिमवर्कको भावना भैदिएको भए कस्तो हुन्थ्यो जस्तो लाग्छ ।

भारत हाम्रो सबै भन्दा नजिकको छिमेकी हो तर किन साइकोलोजिक प्रेसर हुन्छ ?
–अन्य देशका टिमसंग खेल्दा हामीलाई फ्रेण्ड्ली रेस्पोन्स हुन्छ । तर भारतीय टिमले हामीलाई खासै रेस्पोन्स गर्दैन । अरु देशका खेलाडी राम्रोसंग घुलमिल हुन्छन् । तर इन्डियाका साथीहरु बोल्दैनन् । सामाजिक सञ्जालमा आउने कुराले पनि हामी सपोर्ट पनि हन्छ र सँगै प्रेसर पनि पैदा हुन्छ ।

यस पटकको जितमा महत्वपूर्ण भूमिका कसको रह्यो ?
–यो सिंगो टिमको जित हो । सबैको मेहनतले जित सम्भव भएको हो । एकले मात्र गरेर सफलता प्राप्त गरेको होइन । सबैले मेहनत गरेका छन् । ग्राउण्डभित्र देशको इज्जत राख्न र देशको नाम उचाइमा पुर्‍याउन सबैले सक्दो खेले । जित्नको लागि एकले अर्कोलाई हेल्प गर्ने भावना हाम्रो निकै राम्रो थियो । हाम्रो प्रशिक्षक राजु साक्य सरको मोटिभेसन पनि सबैभन्दा उत्कृष्ठ कारण हो भन्ने जस्तो लाग्छ ।

राष्ट्रिय टिममा के कुराको अभाव छ जस्तो लाग्छ ?
–पहिला भन्दा धेरै कुरा राम्रो भएको छ । डिफेन्समा केही सुधार आएको छ । स्कोरिङमा निक्कै राम्रो भएको छ । तर मिडफिल्डमा प्रोब्लम छ । यस पटक भाग्यले पनि साथ दियो । यसलाई प्राफेसनल भन्न मिल्दैन । यसलाई सुधार गरेर बलियो टिम बनाउनुपर्छ ।



म्याच फिक्सिङ गरेपनि फुटबल टिमले देशलाई खुसी दिएको छ फुटबलको भविष्य कस्तो देख्न हुन्छ ?
–भविष्य सुरक्षित छ म भन्दिन । पहिला घर परिवार छोडेर जाँदा केही हुन्छ जस्तो लागेको हुन्छ । दुःख लाग्दो कुरा सरकारबाट हामीले केही पनि पाएका छैनौं । एन्फाबाट केही मात्रामा सहयोग त भएको छ, प्लेट फर्म दिनुभएको छ । आफूले पनि ठूलो मेहनत गर्नुपर्छ । खेलाडीहरु भविष्यमा के गर्ने भन्ने सुनिश्चिता अनुभव गर्दैनन् । हरेक खेलमा सफलता हाल नलाग्न पनि सक्छ तर सफलता निश्चित छ । यसको लागि लगानी र मेहनत दुवै चाहिन्छ ।



के गर्‍यो भने फुटबल खेलाडीहरुको भविष्य सुरक्षित गर्न सकिन्छ ?
सरकार र एन्फाले दीर्घकालीन रुपमा खेलाडीहरुको सेवा सुविधामा ध्यान दिने गरी नीति निर्माण गर्नुपर्छ । अहिलेसम्म गेम सुरु हुनु भन्दा अघि मात्र सुविधा पाएका छौं। यसरी हुँदैन । सधैभरी तयारी गर्नको लागि हामी तम्तयार रहनु पर्ने हुन्छ । गेम हुदा मात्र होइन अघिपछि पनि खेलाडीहरुलाई प्रत्साहन हुने गरी व्यवस्थापन गर्नुपर्छ ।

ठ्याक्कै भन्दा कसरी सुधार गर्न सकिन्छ कप्तानकोरुपमा तपाईको के सुझाव छ ?
–राम्रो ट्रनिङ दिनुपर्छ । अहिलेदेखि नै प्राक्टिस गराउनु पर्छ । एन्फाले पोलिसी बनाउनु पर्छ । सेड्युल अनुसार काम गर्नुपर्छ । जति बेसी खेल्यो त्यति नै बढी सफलता प्राप्त गर्ने हो । राम्रो खेडालीहरुको छनोट गरेर ट्रेनिङ दिनुपर्छ ।

ब्यक्तिगत कुरा गरौं तपाईको विवाह भएको छ कि छैन ?
–छैन, गर्लफ्रेन्ड छ ।

केटी फ्यानहरुले प्रेम प्रस्ताव राख्दैनन् ?
–आफ्नै गर्लफ्रेण्ड छ । सात बर्ष भयो । धेरै दिदीबहिनीहरु छन् । सपोर्ट गर्ने र माया गर्ने धेरै दिदीबहिनी र साथीहरु छन् । कतिपयले त्यस्तो गर्न खोज्नु हुन्छ तर म सम्झाउँछु । साथीहरु क्लोज छन् तर म त्यस्तोबाट टाढै बस्छु।



नेपालका राजनीतिक दलहरुलाई तपाईको के सुझाव छ ?
राजनीति भनेको मुल कुरा हो । राजनीतिले गरे मात्र जे पनि सम्भव हुन्छ । हामीले कहिल्यै जातको कुरा गरेनौं । हाम्रो टिममा सबै जातजातिको सहभागीता छ । यो सफलता टिमकै कारण सम्भव भएको हो । देशलाई जिताउन कसरी मेहनत गर्‍यो राजनीतिक दलका नेताहरुले गम्भीर भएर सोच्नु पर्छ । अग्रज नेताहरुले एकले अर्काको खुट्टा तान्ने भन्दा पनि कसरी देशको विकास हुन्छ भनेर सोच्नु पर्‍यो । जनताले कसरी सुख पाउछन् ? जनता र देशको हित हुने गरी काम गर्नु पर्‍यो । फुटबलजस्तै मिलेर लागे देशको विकास हुन्छ भन्ने लाग्छ । यही नै सुझाव छ कि खुट्टा तान्ने होइन एक अर्कालाई सघाएर देश विकाशमा लाग्नुस् ।
nepaliheadlines

काठमाडौँ, ६ फागुन, अहिले देशमा चर्चा छ नवयुग श्रेष्ठको । पछिल्लो एक महिनामा दुईवटा अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल नेपालका लागि नवयुगको भूमिका उत्कृष्ठ रहयो । त्यसैले त नवयुगलाई नेपाली फुटबलमा नवयुग सुरुवात गर्ने योद्धाका रुपमा मूल्याङ्कन गरिएको छ । नवयुगको स्थायी घर इलाम हो । उनका आमाबुवा इलामको देउमाई नगरपालिकाको मंगलबारेमा बस्छन् । आजको नयाँ पत्रिकाले नवयुग श्रेष्ठकी आमा बसुन्धरा श्रैष्ठसँग गरेको कुराकानीको केही अंशः

'नवयुगले पहिलो बोली फुट्दै गोल भनेको हो । त्यसबेला के भनेको बुझ्न सकेनौँ । अहिले बुझ्दा 'गोल' भनेको रहेछजस्तो लाग्छ । खेलौना पनि गोल नै माग्थ्यो । सानोमा ट्याङ्-ट्याङे (प्लास्टिकको सानो बल) खेलाउँथ्यो । हिँड्न थालेपछि दाहिने खुट्टाले गोल हान्न खोज्थ्यो । छोरो भुलाउँदा पनि बल दिएरै भूलाउँथेँ' नवयुगकी आमा भन्छिन् ।

'फुटबल जितिसकेपछि बुवाले फोन गर्नुभएको थियो । त्यतिबेला 'फोटो खिच्न व्यस्त छु' भन्यो, खासै कुराकानी भएन । भोलिपल्ट बिहान उसैले फोन गरेको थियो । मैले बधाई दिएँ । राम्रो प्रगति गरिस्, संसारलाई देखाइस् भनेँ ।

म 'काले' भनेर बोलाउँथेँ । मायाले बोलाउने नाम 'काले' हो । उसले 'काले नभन्नु न' भन्थ्यो । 'कालो त म कालै छु, नाम बिग्रिन्छ, साथीले पनि गिज्याउँछन्', भन्थ्यो । कालो पनि कालैछ, तर अहिले चम्क्यो ।

अहिले टिभीमा पनि, रेडियोमा पनि नवयुगको मात्रै नाम सुन्छु । अरुको नामचाहिँ किन नभनेको होलाजस्तो लाग्छ । अरुको पनि छोरा नै हुन् । उनीहरुको बाबुआमालाई कस्तो लाग्दो हो । नवयुग एक्लैले खेल जितेको त होइन नि । आफू एक्लै खेलेर जितिने होइन । अरुको पनि नाम भन्दिए हुन्थ्योजस्तो लाग्छ ।

फुटबल जित्ने सबै छोराहरुलाई बधाई छ । मेरो मात्र छोराले खेल जितेको होइन । राम्रो खेल्नु । सबैले प्रशंसा गरेको देख्न पाउँ । सधैँभरी हाँस्न पाउँ ।
aajakokhabar

६ फागुन । अहिले देशमा चर्चा छ नवयुगको । पछिल्लो एक महिनामा दुईवटा अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल नेपालका लागि नवयुग श्रेष्ठको भूमिका उत्कृष्ट रह्यो ।
त्यसैले त नवयुगलाई नेपाली फुटबलमा नवयुग सुरुवात गर्ने योद्धाका रूपमा मूल्यांकन गरिएको छ । नवयुगको स्थायी घर इलाम हो । उनका आमाबुबा इलामको मंगलबारेमै बस्छन् । नवयुगको फुटबल जीवनको सेरोफेरोमा रहेर नयाँ पत्रिकाका ख्याम भुजेलले उनकी आमा बसुन्धरा श्रेष्ठसँग कुरा गरेका छन् ।
छोराले फुटबल खेलेर यस्तो नाम राख्छ भन्ने कहिल्यै लागेको थियो ?
थिएन, आशा नै थिएन नि । तर, फुटबल खेलेर नाम राख्यो । छोराको प्रगतिमा कुन आमा खुसी नहोलिन् र ? म त योभन्दा खुसी हुने ठाउँ नै छैन । छोराले नाम कमाएपछि सबै ‘देशले नै गर्व गर्ने छोराकी आमा’ भन्दै बधाई दिन्छन् । कतिजना त घरमा नै आउनुभयो । सबैले ‘नवयुगकी आमा हो’ भनेर सोध्छन् ।
छोराको निर्णायक गोलमा देशले खेल जित्दा कस्तो लाग्यो ?
हामी दुईजना (नवयुगका बुबा) घरमा नै टिभी हेरेर बसिरहेका थियौँ । पहिला त हार्ने भए भन्नेजस्तो लाग्यो । त्यतिखेर मैले जानेजति सबै देवीदेवता सम्झेँ, पुकारेँ । छोराहरूले जिते भने गजुरमुखीमा परेवा उडाउँछु भनेर भाकल गरेँ । नेपालले जित्यो, साहै्र खुसी लाग्यो । उसका बाबाले त छोराले गोल हान्दा ‘नवे’ले गोल लगायो भनेर टिभीमा हात ठटाउनुभयो । झन्डै टिभी फुट्यो । खुसीले के गरौँ कसो गरौँ, कता जाऔँ जस्तो भयो । तर, राति भइसकेको थियो, कता जानु के गर्नु र ? मेरो भाकल छ । ऊ (नवयुग) आएपछि गजुरमुखी लगेर एक जोडी परेवा उडाउन लगाउँछु ।
नवयुगले कहिलेदेखि फुटबल खेल्न थालेका हुन् ?
पहिलो बोली फुट्दै गोल भनेको हो । त्यो वेला के भनेको बुझ्न सकेनौँ । अहिले बुझ्दा गोली (बल) भनेको रहेछ जस्तो लाग्छ । खेलौना पनि गोली नै माग्थ्यो । सानोमा ट्याङट्याङे (प्लास्टिकको बल) खेलाउँथ्यो । हिँड्न थालेपछि दाहिने गोडाले गोल हान्न खोज्थ्यो । म पनि उसलाई बल नै दिएर भुलाउँथेँ । स्कुल जान थालेपछि झुत्रे गोली खेल्थ्यो । सनराइज बोर्डिङ गएपछि खेल्न थालेको हो । पछि, सरकारी स्कुलका मास्टरका छोराछोरीलाई बोर्डिङ पढ्न नदिने भनियो । सरकारी स्कुल जान मानेको थिएन । त्यहाँका हेडसर चेतप्रसाद दवाडीले ‘फुटबल खेल्न पाइन्छ’ भनेपछि मात्र स्कुल जान मान्यो । सानैदेखि फुटबल खेल्न भनेर हिँडिरहन्थ्यो । कता जित्थ्यो, कता हाथ्र्यो वास्तै हुँदैनथ्यो । देशकै लागि खेल्दा भने चासो हुँदो रहेछ ।
फुटबल जितिसकेपछि छोराले फोन गरे ?
फुटबल जितेपछि घरबाट बुबाले नै फोन गर्नुभयो । त्यतिवेला ‘फोटो खिच्न व्यस्त छु’ भन्यो । खासै कुराकानी भएन । भोलिपल्ट बिहान उसैले फोन गरेको थियो । मैले बधाई दिएँ । राम्रो प्रगति गरिस्, संसारलाई देखाइस् भनेँ ।
नवयुगलाई केही भन्नु छ ?
फुटबल जित्ने सबै छोराहरूलाई बधाई छ । मेरो मात्र छोराले खेल जितेको होइन । राम्रो खेल्नु । सबैले प्रशंसा गरेको देख्न पाऊँ । सधैँभरि हाँस्न पाऊँ । उसको अलि रिसाउने बानी छ । साथीहरूसँग नरिसाउनु । साथीहरूसँग मिलजुल गर्नु । नम्र बोल्नु । राम्ररी पढ्नु ।
dainiknepal-

प्रहरी अपराध महासाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनाल फुटबलका फ्यान हुन् । तर चार महिना अघि म्याच फिक्सिङ प्रकरणमा नेपाली फुटबलका कप्तान सागर थापा सहितका खेलाडी र पूर्व प्रशिक्षकलाई पक्राउ गरेर अदालतमा मुद्दा दायर पनि खनालले नै गरेका थिए । अप्रत्यासित रुपमा खनालले खेलाडीहरुलाई पक्राउ गर्दा धेरैलाई पत्यार लागेको थिएन । तर सत्य–सत्य नै हुन्छ भनेझैं राष्ट्रिय÷अन्तर्राष्ट्रिय म्याचमा पैसा लिएको तथ्य फेला परेपछि नपत्याउने कुरा नै भएन ।


२३ बर्षपछि नेपाली फुटबल टिमले जित हात पार्दा सिंगो देशले गर्व गरिहेको छ । बंगलदेशमा भएको खेलमा नेपाली फुटबल खेलाडीहरुले देशप्रति प्रतिबद्धत भएर इमान्दारितापूर्व खेल खेल्दा जित हासिल गरे । यो जितले सिंगो फुलबल क्षेत्रमा छाएको निराशाप्रति पुनः आशाको किरण छाएको छ । फुटबल खेलमा २३ बर्षसम्म जित हासिल गर्न नसक्नुको पछाडि म्याच फिक्सिङ् नै प्रमुख कारण रहेको धेरैको बुझाइ छ ।
 यस अघि नेपालले सबै अन्तर्राष्ट्रिय म्याच हारिरहेको बेला म्याच फिक्सङ प्रकरणपछि नेपालले जित हासिल गर्दा एसएसपी खनाल निकै खुसी भएका छन् । उनी भन्छन–‘खेलमा हार जित हुन्छ तर हार्ने गरी खेल खेल्ने छुट खेलाडीलाई हुँदैन, हार्ने गरी खेल्ने खेल राष्ट्र र राष्ट्रियताप्रतिको गम्भीर धोका हो ।’ एसएसपी खनालाई अगामी दिनमा नेपाली फुटबल खेलाडीहरुले वल्डकप नै खेल्न सक्ने आशा पलाएको छ । यसै विषयमा केन्द्रत रहेर नेपाली हेडलाइन्सले एसएसपी खनालसंग गरेको कुराकानीः

फुटबल क्षेत्रका नराम्रा गतिवधि हटाउनु पर्छ
२३ बर्षपछि नेपाली फुटबल क्षेत्रले प्राप्त गरेको सफलताले निकै खुसी लागेको छ । फुटबल फ्यानको हिसाबमा निकै खुसी बनाएको छ । नेपालको फुटबल भनेपछि पहिलादेखि नै सबैलाई लोकप्रिय लाग्थ्यो र अहिले पनि छ । खेलाडी भनेका राष्ट्रका गहना हुन् । खेलाडीहरुसंग राष्ट्रको ठूलो आशा र भरोषा हुन्छ । फुटबल क्षेत्रमा बीचमा धेरै गेमहरु विग्रिएको देखियो । केही सम्झौता भएको देखियो । हार्ने सम्झौता गर्नेसम्मका दुःख त घटना पनि देखिए । त्यसमा व्यवस्थापक, कोच, संयोजक, मनेजर सहित एक÷दुई जना खेलाडीहरुको पनि सहभागीता देखियो । जसले राम्रो गर्नु पर्ने ठाउँमा नराम्रो काम गरेको पाइयो । यसले गर्दा फुलबल खत्तम हो कि भन्ने परेको थियो । तर कहीं पनि राम्रो काम गर्नको लागि नराम्रा गतिविधिलाई निस्तेज गर्नुपर्छ । तब मात्र राम्रो कामले स्थान पाउछ । कुनै पनि क्षेत्रमा राम्रो गर्नेको लागि मात्र सम्मान गर्न सकिन्छ । नराम्रा गर्नेहरुको लागि सम्मान गर्न सकिन्न ।

राष्ट्र र राष्ट्रियतासंग सम्झौता गर्न सकिदैन
फुटबले क्षेत्रमा यो निकै राम्रो संकेत देखा परेको छ । बाहिरका घटना हेर्दा पनि ठूलो खेलाडीहरु पनि म्याच फिक्सिङमा लागेका घटनाहरु छन् । उनीहरुले समयमा नै सुधार गरे । त्यसले गर्दा उनीहरुको खेलको स्तर पनि बढ्न गयो । हाम्रो देशमा पनि स्वीकार गरिएको छ नि । आन्तरिक र बाह्य रुपमा पनि हुने गरेको पाइएको छ । म्याच फिक्सङ कसरी भयो भन्ने कुरा सबै भन्नुभएको छ । यो करेप्सन गर्न जरुरी छ । खेलाडीहरु कारवाहीमा परे भन्ने कुरा पनि एकातिर छन् । यहाँ विचरा भन्ने कुरा छैन् । राष्ट्र र राष्ट्रियतासंग गाँसिएको कुरालाई कसैले पनि सम्झौता गर्न सक्दैन ।



जित्छु नै भनेर खेल्नु पर्‍यो नि !
अब फुटबल खेलाडीहरुले राम्रो हुनुपर्छ । फुटबल खेलाडीहरुलाई आगामी दिनमा खेल्नको लागि राम्रो वातावरण बनाउनु पर्छ । राम्रो वातावरण बनाउन सबै लाग्नु पर्छ । मैले उठाएको कदमको केही अंश जान्छ । किनभने खेलाडीहरुले खेल्न पाउने वातावरण बन्यो । खेलमा हारजित हुन्छ । खेलमा जित नै हुन्छ भन्ने छैन । जित्छु नै भनेर खेल्नु पर्‍यो नि ? खेल राष्ट्रको स्वभाविमानसंग जोडिएको हुन्छ । हरेक नेपालीको स्वाभिमानसंग जोडिएको खेललाई नजरअन्दाज त गर्न मिल्दैन नि ? खेलाडीहरुलाई हामी सबैको साथ र सदभाव छ । सम्मान पनि प्रकट गछौ । यो राम्रो संकेत हो । फाइनलमा तीन गोल गर्नु भनेको सानो कुरा होइन । नेपाली खेलाडीहरुको खेलस्रत निकै राम्रो छ । अझै राम्रो बनाउनेमा मलाई विश्वास छ । सेमिफाइनलमा पनि चार गोल गरेको छ ।

फुटबल खेल नेपालको इज्वत र प्रतिष्ठा
सफलता प्राप्त गर्नको लागि मन बचन र कर्मले काम गर्नुपर्छ । फुटबल खेल त नेपालको इज्वत र प्रतिष्ठासंग जोडिएको विषय हो । जुन ठाउँमा करेप्सन गर्नुपर्ने ठाउंमा नै गलत सम्झौता भएको देखियो । जसले नेतृत्व गर्नुपर्ने हो उसैले बेइमानी गरेको देखियो । जसले त्यसलाई राम्रो बनाउन व्यवस्थापन गर्नुपर्ने हो उही नै गैरजिम्मेवार काममा लागेको देखियो । खेलाडीहरुलाई राम्रो बनाउने दायित्व र जिम्मेवारी त व्यवस्थापनले लिनु पर्छ नि ?

यो हामी सबैको जित हो
फुटबल खेल नेपाली खेलाडीहरुले खेलेरै जित हासिल गरे । राज्य र राज्य विरुद्धको काम गर्नेलाई जुधेर सामना गर्दा नै अहिले सफला हात पर्‍यो भनेर जनस्तरबाट बधाई आएका छन् । आगामी दिनमा पनि फुलटल मात्र होइन अन्य क्षेत्रमा भएका गलत काम रोकिनु पर्छ भन्ने सुझाव पनि आएको छ । हाम्रा खेलाडी राम्रा छन । खेलाडीले खेल्ने राम्रो अवसर पाउनु पर्‍यो । मौका प्रदान गर्नको लागि सबैको साथ र सहयोग गर्‍यो । प्रहरीले उठाएको राम्रो कदमप्रति सबैको साथ र सहयोग गर्‍यो । समाजको साथ रह्यो । यो हामी सबैको जित हो । यस्तो खालको वातावरण तयार गर्ने जुन हौसला प्रदान भएको छ । प्रहरीले नराम्रो काम गर्ने तत्वलाई निस्तिेज गर्नुपर्छ र गर्छ । हामीले जोखिम उठायौं । हामीले देश र जनताको पक्षमा मुद्दा उठाएर गतल प्रवृत्ति समाप्त पार्दा व्यक्तिगत कुरा पनि उठन खाजे । कति साहनाभूति लिने पनि देखिए । हामी व्यक्तितग रुपमा कसैसंग दुस्मनी राख्न चाहदैनौ । हुन पनि हुदैन । कसैले ठूलो साथ र समर्थन छ भन्दैमा गलत काम गर्ने छुट पाइदैन ।

फुटबल खेलाडीहरुले अब विश्वकप खेल्नु पर्छ
खेलाडीहरुले यो स्प्रिडलाई अगाडि बढाउनु पर्छ । अब वर्ल्डकपमा खेल्ने गरी जानुपर्छ । वल्डकपमा नपुग्ने भन्ने कुरा छैन । कति साना–साना मूलुक पनि पुगेका छन् । हाम्रो देशमा फुटबल खेललाई माया गर्ने लाखौ मानिसहरु छन् । खेलाडीहलाई सिंगो राष्ट्र साथ र समर्थन छ । राष्ट्रको चिन्ह भनेको सानो कुरा होइन । सबै कुरा आर्थिक पक्षसंग गएर जोडिदैन । सबै भन्दा गर्वको विषय सामाजिक प्रतिष्ठा हो । देशको प्रतिष्ठा राख्ने अवसर खेलाडीहरुको हातमा छ । यो अवसरलाई पुरापुर राष्ट्रको गौरब बढाउन आगामी दिनमा पनि खेलाडीहरुले प्रतिबद्ध भएर लाग्ने विश्वास छ । टिम भावनाले अनुशासित भएर खेललाई खेलसंग नै राखेर त्यो भावनाले खेल्ने काम गनुर्पछ । यही भावनाले खेल्दा जस्तोसुकै अन्तर्राष्ट्रिय खेलमा पनि जित हासिल गर्न सकिन्छ । बहराइनलाई तीन गोल गर्नु सामान्य कुरा होइन । आगामी दिनमा प्रतिबद्ध भएर खेल्नु पर्छ । यसले सन्देश पनि दिएको छ । हाम्रो गर्वको विषय बन्नुहोस । अन्य क्षेत्रको लागि राम्रो उदाहरण देखाउनु भएको छ ।


 नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधन धेरेकालागि अप्रत्याशीत लाग्यो । कोइराला अस्वस्थ भएको खबर नै नआई उहाँको निधनको खबर आउँदा अनौठो लाग्नु स्वभाविक पनि हो । बिरामी भएको व्यक्तिलाई अस्पताल नलैजानु भूल थियो भन्नेहरु पनि छन् । कोइरालाका निजी चिकित्सक डा. करवीरनाथ योगीलाई पनि यो बेला धेरैले प्रश्न उठाए । तर डा. योगीको भनाइमा कोइरालाको निधनमा शंका र अफवाहहरुले बढी ‘माइलेज’ लिएको भन्ने छ । डा. योगीसँग काठमाण्डुटेडका लागि ध्रुव रिजालले गर्नुभएको कुराकानीको संपादीत अंशः
सुशील कोइरालाको निधन पछि धेरै प्रश्नहरु जन्मिए । कतिपय प्रश्न चाहीँ तपाई तिर पनि तेर्सिएका छन् कसरी लिनुहुन्छ ?
ठूला मान्छेको निधन पछि यस्ता प्रश्न आउँछन् । स्वभाविक हो । धेरै कुरा त नबुझेका कारणले मानिसहरुले प्रश्न गरेका हुन् । कति कुरा चाहीँ मिडियाले बंग्याएर ठूलो बनाए । १०१ दशमलव पाँच डिग्रीको ज्वरोलाई १०५ डिग्री भनेर लेखिदिए । अनि १०५ डिग्रीको ज्वरो आएको मान्छेलाई अस्पताल किन लगेन ? भनेर प्रश्न गरे । निधारमा कुनै चोट थिएन । पशुपति आर्यघाटमा शरीर धुँदा पनि त्यो प्रष्ट भयो । अनि चोटलाई चन्दन लगाएर छोपियो भनेर शंका गरियो ।
उहाँले अन्तिम पटक मैले बुझे भनेको चाहीँ के हो ?
अचम्म त यही नेर त छ । राति सुशीलदाको अवस्था बिग्रन थाल्यो । त्यस्तो बेलामा एउटा चिकित्सकले गर्नु पर्ने जे काम थियो मैले त्यही गरेँ । मैले भने कि ‘हजुरलाई गाह्रो भयो, अब इन्जेक्सन दिन्छु । यसले सजिलो हुन्छ ।’ उहाँ त्यो बेला आफ्नो हात च्यापेर सुत्नु भएको थियो । मैले इन्जेक्सन दिने भएपछि च्यापेको हात झिकेर दिनु भयो । अनि मैले इन्जेक्सन लगाउनुको कारण फेरि भनेँ । अनि उहाँले ‘ए लल, मैले बुझेँ’ भन्नुभएको हो । यति सामान्य कुरालाई सनसनीपूर्ण बनाइयो ।
अस्पताल नलगेकै कारण उहाँको अप्रत्याशीत निधन भयो भन्ने कुरामा कति सत्यता छ ?
श्वासप्रश्वास सम्बन्धी रोगको म विशेषज्ञ हो । १५ वर्ष भयो यो क्षेत्रको मात्रै उपचार गरिरहेको । दमको रोग मात्रै होइन फोक्सोसम्बन्धी सबैजसो रोग सुशीलदालाई थियो । यस्तो रोग भएका बिरामी कतिबेला कोल्याप्स्ड हुन्छन् भन्नै सकिन्न । मैले नै ठीक छ अब घर जानु भनेर पठाएका कति बिरामी बाटोमै बित्छन् । कतिपय घर पुगेर बित्छन् । दमका बिरामीहरुले घरमै पनि अक्सिजन राखेका हुन्छन् । बाटोमा अक्सिजन बिना लैजाँदा पनि बित्छन् । सुशील दाको अवस्था सोमबार दिउँसोसम्म ठीकै थियो । थप उपचारका लागि एन्टिबायोटिकहरु चलाइरहेकै थियौं । तर राति एक्कासी अवस्था गम्भीर बन्यो ।
प्रश्न यहीँ त छ, अवस्था गम्भीर भएपछि किन अस्पताल लैजानु भएन ?
उहाँको अवस्था एक घण्टाको बीचमा गम्भीर भयो । त्यो बेला गर्नुपर्ने सबै उपचार गरियो । अस्पताल लैजान मैले १३ पटक फोन गरेको फोटै खिचेर राखेको छु । एम्बुलेन्स नभएकै कारण मात्रै ज्यान गयो भन्ने कुरामात्रै पनि होइन । बिरामीको अवस्था एक्कासी नाजुक हुन्छ । दमका रोगीहरुले आफ्नै थुक समेत निल्न सक्दैनन् । त्यस्तो बेला एक्कासी ज्यान सक्छ । उहाँको अवस्था पनि एक्कासी बिग्रीयो । अहिले के भनिँदैछ भने घरमै गाडी थियो, किन अस्पताल नलगेको ? यदि मैले अक्सिजन बिनाको गाडीमा सुशीलदालाई लिएर गएको भए र उहाँको बाटोमै ज्यान गएको भए, मलाई यो देशमा बाँच्नै दिँदैन थिए । १३ पटक फोन गरेको कुरा मैले रिपोर्टर्स क्लवमा नलेखिनु भनेको थिएँ । तर पत्रकारले लेखिदिए । पत्रकारहरुले सामान्य कुरालाई सनसनी बनाइदिन्छन् । हेडलाईन यसरी राखिदिन्छन् कि त्यसले सूचना भन्दा पनि ‘र्युमर क्रेट’ गरिदिन्छ । यो तपाईहरुको पाठक तान्ने कला पनि होला । यसमा पनि धेरै गुनासो छैन ।
सुशील कोइरालाको अवस्था र आममानिसको बुझाइमा किन यति अन्तर आयो त ?
बुझाईमा गल्ति भएको छैन । शनिबारको भन्दा आइतबारको स्वास्थ्य राम्रो थियो । गगन थापाहरुसँग उहाँको कुराकानी भइरहेको थियो । उहाँले त्यो बेला घरमै मिटिङ पनि डाक्नु भएको थियो । आइतबारको अवस्था सुधारोन्मुख हुने, सोमबार राति गम्भीर हुने भविष्यवाणी गर्ने आधार थिएन । उहाँलाई भर्ना गर्न बेड बुक पनि गरेकै हो । अस्पताल भर्ना गर्ने हद भन्दा अगाडि सुधारका लागि गर्ने काम भएका थिए । उहाँको ब्लडप्रेसरमा पनि सुधार आएको थियो ।
१३ पटक फोन गर्दा पनि नउठ्ने झुर संयन्त्र पो रैछ हैन टिचिङको ?
तपाईले पनि अब मलाई यहि कुरामा घेर्न थाल्नु भयो । अब नेपाल नै यसरी चलिरहेको छ । त्यो बेला फोन उठाउँने मानिस निदायो कि, बाथरुम गयो कि ? के भयो भगवान जाने । त्यहाँको डाइरेक्टर मेरै साथी हुनुहुन्छ । कसैले भने फोन नउठाउँनेलाई जागिरबाट निकालिदिनु पर्छ । कसैले भने जिम्मेवारलाई कारबाही गर्नु पर्छ । मेरो त कुरा के भने यो देशमा दिउँसो हुने काम त हुँदैन समयमा । त्यो त मध्यरातको कुरा हो । सुधार गर्नुपर्ने कुरा धेरै छन् । एकजनालाई कारबाही गरेर सिस्टम बदलिने पनि होइन । तपाई हाम्रो घरकै फोन त उठ्दैन भने बाँकी के कुरा गर्नु ? १३ पल्टको कुरामा त टिचिङको साथीसँग मेरै डिस्कस भयो । अब छाडिदिनुस यो कुरा के फाइदा अब कोट्याएर ?
भनेपछि सुशील कोइरालाको निधन स्वभाविक कालगतिले भएको हो ?
हो, स्वभाविक रुपमा कालगतिले सुशीलदा बित्नु भएको हो । यसमा कुनै शंका छैन । उहाँमा भएको रोग नै यस्तै झुक्याउँने खालको हो । त्यो कुरा आम जनताले बुझेका छैनन् ।
kathmandutoday

पछिल्लो समय राजनीतिमा नेपाली कलाकारहरुको सक्रियता निकै बढिरहेको छ । यसैक्रममा डा. बाबुराम भट्टराईको नयाँ शक्तिमा सरोज खनालपछि नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिश्मा मानन्धर र निर्माता निर्देशक अशोक शर्मा पनि सहभागी भएसँगै सिने क्षेत्रमा तरंग नै पैदा गरिदिएको छ ।
नायक–नायिकाप्रति अनेक खालको टिप्पणी समेत सुन्न थालिएको छ । यसै सन्र्दभमा दैनिक नेपाल डटकमका लागि हरि गजुरेलले नयाँ शक्तिमा लागेकी करिष्मा मानन्धरसँग गरेको कुराकानीको अंशः
नयाँ शक्तिमा लागेपछि कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
राजनीति पार्टीप्रति जनमानसमा नकरात्मक प्रतिक्रिया पाइन्छ । राजनीतिप्रति जनमानसमा कति धेरै ‘हाइली डिप्रेस’ रहेछ भन्ने कुरा उहाँहरुबाट आउने प्रतिक्रियाले नै थाहा हुन्छ । तर भनिन्छ नि, आधा ज्ञान सँधै खतरा हुन्छ । मलाई लाग्छ पूर्ण रुपमा बुझेर मात्र प्रतिक्रिया दिँदा राम्रो हुन्छ । जनताका साथ बिना कुनै पनि राजनीतिक दलको सोचाई पूरा हुँदैन । नयाँ शक्तिको सोचाई पनि सबै जनतालाई सँगै लिएर सामूहिक रुपमा सहभागितामूलक पार्टी बनाउने हो ।
म एउटा नायिका हुँ । हिजो राजनीतिक विचारधारा बोकेर हिडिनँ । केही समयदेखि राजनीतिलाई नजिकबाट नियाल्दै गर्दा राजनीतिले प्रभाव नपारेको कुनै ठाउँ भेटिन । विगत एक वर्षदेखि म सामाजिक सेवामा क्रियाशिल छु करिष्मा मानन्धर फाउण्डशेनमार्फत । राजनीति पनि समाज सेवा गर्ने अर्काे हतियार हो । भष्ट्रचार र विकृतिका नराम्रो कुराहरुलाई मात्र समेटेर हेर्ने हो भने त्यो अर्काे पाटो । तर जनताको सेवा गर्ने यो पनि एउटा बाटो हो । यस्मा म मनैदेखि लागेको छु । डा. भट्टराईसँगको भेटघाटको क्रममा उहाँको सोच, विचारबाट म एकदमै प्रवाभित भए र उहाँहरुसँगै छु ।
कलाकार सबैको हुनुपर्ने हो, पार्टी विशेषको कलाकार हुँदा असर पर्दैन ?
म पार्टी विशेषको कलाकार होइन । म सबैको कलाकार हुँ, कलाकार भनेको सबैको हुन्छ । कलाकार हुँदैमा सामाजिक सेवा, राजनीति, व्यापार गर्न मिल्दैन भन्ने त कहीँ पनि लेखेको छैन नि ! कलाकार पनि मान्छे नै हुन । उस्का पनि अधिकार हुन्छ । म के गर्न सक्छु वा सक्दिन त्यो उस्को कुरा हो । राजनीतिमा लाग्दछ भने त्यो स्वागतयोग्य कुरा हुनुपर्ने हो । कलाकारिता भनेको ‘कर्म’ हो । जस्ले मलाई करिष्मा मानन्धर भनेर चिनायो । राजनीति भनेको फरक पाटो भयो ।
हिजो पनि रेखा थापा, भुवन केसीसम्मलाई राजनीतिक दलले प्रयोग मात्र गरे भन्ने आरोप लाग्यो, अब तपाई लागेर के हुन्छ र ?
प्रयोग हुनु पनि गलत छ । प्रयोग हुने स्थानमा नबस्नुस । जनतालाई केही दिन नसक्ने स्थानमा नबस्नुस । म आफूलाई भाग्यमानी सम्झन्छु, नयाँ शक्तिमा एउटा इट्टा थप्ने काम गरेको छु । यस्का जगैदेखि थाहा पाउने भए नि । मेरो उदेश्य ‘प्रयोग’ हुनु पनि होइन, यहाँ बसेर पोष्ट लिएर के के न गर्नु भन्ने पनि होइन । राजनीति गर्ने भनेर पार्टीको प्रचारप्रसार गर्ने हो । म पदका लागि नयाँ शक्तिमा आएको होइन । जनहितका लागि नयाँ शक्तिले के गर्न सक्छ भन्ने तर्फ नै मेरो ‘फोकस’ छ ।
तर, राजनीतिप्रति आमजनताको धारणा नकरात्मक भइरहेको समयमा तपाईँ जस्तो राम्रो छविको कलाकार यसरी पार्टीको झण्डा समाउदै हिड्दा असर पर्दैन ?
यति धेरै नकरातमक छ कि चाहिने भन्दा बढी । त्यसैलाई सकरात्मक बनाउन नयाँ शक्ति रोजेको हो । यो एउटा जोखिम पनि हो । संरचना बनाउनै दुई वर्ष लाग्दछ । जनमानसमा यो पार्टीले केही गर्न सक्दछ भन्ने पार्न नै दुई वर्ष लाग्दछ । अनि शक्तिमा नगई जनसेवा पनि गर्न नसकिने रहेछ । बच्चा नै नपाई लुलो, लंगडो छ भन्न त मिल्दैन नि । जनताले हरेक राजनीतिक दललाई मौका नदिएको पनि होइन । नयाँपनलाई जनताले स्वागत गर्ने गरेका छन् । अहिलेको कालखण्डमा नयाँ शक्ति भइदिए हुन्थ्यो भन्ने सबै जनताको मनमा छ । तर त्यस्को स्वरुप कस्तो भन्ने मात्र थाहा नभएको हो । जस्लाई डा. बाबुराम भट्टराईले पूरा गर्ने खोज्नुभएको छ ।
दर्शकको मन जितेर बसेको करिष्मा सानो कारणले उहाँहरुबाट अपहेलित हुन चाहन्न, उहाँहरुको मुटुमा नै बस्न चाहन्छु । तर कुरा बुझेर मात्र कमेन्ट गरिदिनुहोला भन्न चाहन्छ ।
तपाईको श्रीमान विनोद दाजुसँग केही कुरा भएको थियो होला, यो पार्टीमा लाग्नु अगाडि ?
(हाँसो …) मैले विवाह अगाडि नै एउटा शर्त राखेको थिए । म जे कुरामा पनि स्वतन्त्र छु । मेरो परम्परागत शैलीको विवाह बन्धनमा बाधिँएकी छैन म । मेरो स्वतन्त्रतामा उहाँले हस्तक्षेप गर्नुभएको छैन । हरेक कुरामा सहयोग नै गर्नुभएको छ । सुरुदेखि नै उहाँले सहयोग गर्दै आउनुभएको हो । केही दिन पछाडि विनोदले नै सञ्चालन गर्दै आएको नमस्ते टेलिभिजन सो मा हामी डा बावुराम भट्टराईलाई ल्याउदै छौं । यो पनि एकप्रकारको सहयोग नै त हो नि । मैले गरेका हरेक कुरालाई विनोदले सहयोग गर्दै आउनुभएको छ । जीवनसाथी भन्दा पनि रथको दोश्रो पाङ्ग्रा भएर सहयोग गरिरहनुभएको छ ।
dainiknepal

भट्टराईसँग भेट होला भनेर सोचेकी पनि थिइनँ : करिस्मा (अन्तर्वार्ता)
लामो नेपाली रजतपटमा एकछत्र राज गरेकी अभिनेत्री करिस्मा मानन्धर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति प्रवेश गर्दा ठूलै तरङ्ग पैदा भयो। करिस्मा र नयाँ शक्तिको समग्र गतिविधिलाई फिल्मकै दर्जा दिँदै सामाजिक सञ्जालमा खिल्ली उडाउने काम भयो। तीन दशकभन्दा बढी कलाकारितामा बिताएर सम्मानित स्थान हासिल गरेकी करिस्माको राजनीतिक भविष्य कस्तो होला? यही सेरोफेरोमा रहेर नागरिकन्युजका लागि स्मृति ढुंगानाले गरेको अन्तर्वार्ताः


तपाइँको फिल्म फागु प्रदर्शनको तयारीमा छ, फिल्म प्रवर्द्धन गर्न छाडेर एक्कासि राजनीतितिर लाग्नु भयो नि?
राजनीति र फिल्म एक अर्कासँग मेल खाँदा रहेनछन्। दुवैको लागि समय मिलाइरहेकी छु । तराईको कथावस्तुमा आधारित 'फागु' रिलिजको तयारीमा छ। फिल्म निर्माताको हैसियतले फिल्म प्रवद्र्धनको लागि विभिन्न कार्यक्रममा सहभागी भइरहेकै छु। राजनीति प्रवेशको सही समय आएको हुँदा म त्यतातिर लागेकी हुँ। दुवैलाई मिलाएर लगिरहेकी छु ।

कलाकारितामा यति लामो समयको अनुभव भइसकेको र निकै सम्मानित स्थान पाइसकेपछि पनि किन राजनीतितिर जान आवश्यक पर्‍यो?
पछिल्लो समय म फिल्म करियरप्रति सन्तुष्ट छैन। एक किसिमको वितृष्णा उत्पन्न भएको छ। त्यसैले दुई वर्षदेखि फिल्ममा आएका भूमिका समेत नगरी यसै बसिरहेको छु। शुभचिन्तकको लागि केही म्युजिक भिडियो भने गरेँ। फागु फिल्मको टिमसँग आवद्ध भएपछि फेरि फिल्ममा देखिएको हुँ। नेपालमा राजनैतिक अस्थिरताका कारण सबै निरास छन्। त्यसैले अरुबाट आशा गर्नुभन्दा आफैँ राजनीतितिर लागेकी हुँ।

फिल्मतिर तपाइँको उपस्थिति पातलो बन्दै गएको र आफ्नो व्यापार पनि केही नभएकाले फुर्सदको समय उपयोग गर्न नयाँ शक्तितिर लाग्नुभएको हो?
ठ्याक्कै त्यस्तै भन्न नमिल्ला। राजनीतिले सबैतिर असर गरिरहेको छ। हामीमा नेतालाई गाली गर्ने प्रवृत्ति हाबी छ। म साँच्चै डा.भट्टराईको नयाँ शक्तिबाट प्रभावित छु। उहाँको नेतृत्वमा सहभागी भएर जनताको सेवा गर्न पाउनु ठूलो कुरो हो भन्ने ठानेकी छु। फेरि हामीले सबै नेताहरुलाई हेरिसकेका छौं। एकपटक आफँैले राजनीतिको केन्द्रमै रहेर काम गर्न इच्छा लागेर आएकी हुँ।

बाबुराम भट्टराई आफैँले तपाइँलाई फोन गरेर, भेटेर अफर गरेका हुन् कि तपाइँ आफैँ म पनि आउँछु भनेर जानुभएको हो?
डा.भट्टराई र उहाँको निकट व्यक्तिहरुसँग करिव एक वर्षदेखि नियमित सम्पर्कमा थिएँ। राजनीतिमा लाग्न उहाँले नै मलाई प्रोत्साहन गर्नु भएको हो। म उहाँको सोचबाट प्रभावित भएकाले निर्णय गर्न अझ ढिला पो भयो कि जस्तो लागेको छ। नयाँ शक्तिका एजेन्डालाई लिएर पछिल्लो समय करिव तीन पटकजति भेटघाट भयो। यसलाई अफर वा पछ्याएर भन्दा पनि यस्तै भेटघाट र कुराकानीको उपजको रुपमा म नयाँ शक्तितिर लागेको भनेर बुझ्दा सही हुन्छ होला।

सोह्र हजार मान्छेको ज्यान जानेगरी भएको जनयुद्धको मुख्य योजनाकार बाबुराम भट्टराईलाई पछ्याउँदै नेता बन्छु भन्ने निर्णयमा पुग्न तपाइँलाई कति समय लाग्यो ?
पछिल्लो चुनावपछि देशमा उत्पन्न स्थितिलाई लिएर निराश भएको थिएँ। युवा जुटेर केही गर्ने सोच थियो । करिव १ वर्षको अन्योलपछि सही ठाँउ र सही सोचाई आवश्यक छ भन्ने लागेर नयाँ शक्ति प्रवेश गरेकी हुँ। त्यही एक वर्ष राजनीति भनौं वा नयाँ शक्ति प्रवेशका लागि भनौं मैले चिन्तन मनन्मा बिताए। भटराईको टोलीमा बसेर काम गरौंला भनेर कहिलै सोचेकी थिइनँ। जीवनमा भेटघाट होला भन्ने पनि ठानेकी थिइनँ। अहिले मलाई उहाँको नेतृत्वमा जनताको सेवा गर्न सक्छु भन्ने लागेको छ ।

भिडियो हेर्नुस्



नेता बनेर तपाइँले गर्न चाहेका योजना वा सपना के छन्?
पछिल्लो समय मैले गर्दै आएको काम अर्थात् कलाकारिताप्रति रुचि कम हुँदै गएको थियो। म सन्तुष्ट थिइनँ। फिल्म निर्देशनमा हात हालौं कि भनेर सोच्दै गर्दा फागु टिमसँग आवद्ध भएँ। अब समाजका लागि केही गर्नुपर्छ, देशका लागि केही गर्नुपर्छ भन्दा राजनीति आइहाल्दो रहेछ। हाम्रो देशमा धेरै कुराहरु राजनीति केन्द्रित छन्। त्यसैले जनताको सेवा गर्न राजनीतितिर लागेकी हुँ।

राजनीतिमा तपाइँको लक्ष्य कहाँसम्म पुग्छु भन्ने हो ? मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति त्यस्तो केही छ?
जनताको सेवा गर्न राजनीति यात्रा सुरु गरेको हुँ। पदको लोभले राजनीतिमा नआएको हुँदा सेवा गर्न उत्साहित छु । पदको लोभ हुन्थ्यो भने धेरैअघि राजनीति सुरु गरिसक्थेँ होला। म नितान्त जनताको सेवा गर्न राजनीतिमा लागेकी हुँ।

तपाइँ नयाँ शक्तिमा प्रवेश गरेपछि फ्यानहरुले रिसाएर पोष्टर नै डिजाइन गरेर सामाजिक सञ्जालमा राखेको सम्म भेटियो। उनीहरुलाई के भन्नुहुन्छ?
त्यसरी गाली गर्नेहरु मेरा फ्यान होइनन् जस्तो लाग्छ। मेरो फ्यानहरुले मलाई गरेको प्रतिक्रिया त्यो होइन जस्तो लाग्छ। नेपाली राजनीतिमा जोडिने बित्तिकै कोही नराम्रो भयो भन्ने मिल्दैन। पछिल्लो समय नेपाली राजनीतिले सबै जनतालाई निराश बनाएको छ। सामाजिक सञ्जालमा पनि त्यही वितृष्णा देखिएको हुनुपर्छ। विस्तारै उहाँहरुले नेपाली राजनीतिलाई सम्मान गर्नुहुनेछ भन्नेमा म आशावादी छु।

अनि तपाइँको परिवार त कांग्रेस समर्थक हुन् तपाइँ बाबुरामको पार्टीको ठुलै नेताको रुपमा देखिनुभएको छ। परिवार सबै खुशी छन् त ?
घरपरिवारको साथ नभएको भए मैलेमात्र एक्लै राजनीतिमा लागेर समाज र जनताको सेवा गर्नु भनेर निर्णय गर्न सक्ने थिइन्। अहिले देशमा जातियता, संघियता र अखण्डताका विषय उठिरहेका छन्। मलाई लाग्छ हामी सबैजना सर्वप्रथम नेपाली हुनुपर्छ। म यही सोचका साथ नयाँ शक्ति प्रवेश गरेकी हुँ। मेरो यही सोचले गर्दा परिवारले समेत साथ दिएको छ। आगामी दिनमा मेरो परिवारमा राजनीतिलाई लिएर समस्या उत्पन्न हुनेछैन्। मेरो निर्णयमा श्रीमानको समर्थन पाएकी छु। मेरी आमा समेत अचेल राजनीतिक गतिविधिबारे धेरै जानकारी राख्नुहुन्छ। उहाँ आफैँ मेरो प्रिय नेता डा.भट्टराई हुनुहुन्छ। मेरो राजनीतिमा प्रवेशको खबरले आमा समेत उत्साही छिन्।

पार्टीहरुले हिरोइनलाई एउटा सो पिसको रुपमा देखाएर जनतालाई भुलभुलाईमा पार्ने प्रचलन पनि देखिएको छ । तपाइँको भूमिका चाहिँ पार्टीभित्र के हो?
अहिलेसम्म पार्टीको सिद्धान्त बुझ्नै लागिपरेको छु। नयाँ शक्तिमा लागेका मध्ये म आफ्नो भूमिकाबारे अनविज्ञ नै छु। त्यसैले पार्टीको सबै कुराहरु थाहा पाउन मलाई केही समय लाग्छ। अहिले म नयाँ नै छु। मुद्दाहरु बुझ्न, पार्टीको नीति र रणनीतिहरु थाहा पाउन गृहकार्य गर्दैछु।
nagariknews

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget