‘चीनसँग व्यापार गर्न सहज छैन’
काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले मधेस आन्दोलन व्यापारिकरण भएको विवादास्पद अभिव्यक्ति दिएका छन् । आइतबार एक दैनिक पत्रिकालाई दिइएको अन्तर्वार्तामा उनले मधेस आन्दोलन आन्दोलनकारीका लागि कमाउने माध्यम बनेको समेत आरोप लगाए ।
‘यो आन्दोलन व्यापारमा परिणत भइरहेको छ । ठोरी नाकाबाट मात्रै दैनिक ५० हजार तेल भित्रिरहेको सुनिन्छ । यस्ता नाका नै ५० औं छन् । तराईमा एकसय ५० रुपैयाँमै डिजेल खुलेआम पाइन्छ । यसबाट राज्यले न कर पाउँछ, व्यवसायीको लागत बढिरहेको छ र त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा यो नाफा कसले कमाइरहेको छ ?’ अध्यक्ष मुरारकाले भनेका छन्, ‘दिनको एकलाख लिटर मात्रै भित्रियो भने पनि ५० लाख रुपैयाँ नाफा कमाइरहने भएपछि कसले आन्दोलन रोक्छ ? आन्दोलन कमाउने बाटो भइरहेको छ भने उनीहरुले रोक्न दिँदैनन् । ट्रकको स्कर्टिङ गर्नेसमेत आन्दोलनकारी नै छन् भन्ने सुनिएको छ । आन्दोलनकारीले नै स्कर्टिङ गरिदिए भने त्योभन्दा सुरक्षित त अरु केही हुँदैन ।’
अध्यक्ष मुरारका व्यवसायिक जीवनमा यति लामो बन्द कहिल्यै नदेखेको बताए । उनले यति लामो समयसम्म आन्दोलनजारी रहे पनि राज्य भने निदाइरहेको आरोप लगाए । ‘बन्द हुनु एउटा कुरा हो भने राज्य यसरी निदाइरहेको छ । नयाँ संविधान बनेको थियो, नयाँ सरकार बनेको थियो । तर, अहँ, सरकार निजी क्षेत्र र व्यवसायप्रति यति उदासिन होला भन्ने हामी कल्पना नै गर्न सक्दैनौ,’ उनले भनेका छन् ,‘यस्तै भए केही समयपछि बिहारमा जस्तै राज्य र गुन्डालाई कर तिरेर व्यापार गर्नुपर्ने अवस्था आउन सक्छ ।’
अध्यक्ष मुरारकाले भारतले पारवहन सुविधामा अवरोध नगरेको समेत बताएका छन् । उनले चीनसँग व्यापार गर्दा निजी क्षेत्रले सहज महसुस नगर्ने पनि बताए ।‘चीनसँग व्यापार गर्न हामी निजी क्षेत्रले त्यति सहज महसुस गर्दैनौं, चिनियाँहरुले काम गर्ने तरिका र हाम्रोबीच अन्तर छ,’ उनले भनेका छन्, ‘हाम्रै मुलुकको अनुभवले पनि त्यस्तै देखाएको छ ।’
मधेसीको अनुहारको रंग हेरेर मात्रै राष्ट्रियताको विषयमा प्रश्न गर्ने हो भने पहिचानको मुद्दा संकटमा पर्न सक्ने उनको भनाइ छ । उनले नेपालमा अलिकति उग्र राष्ट्रवाद हाबी भएको बताए । ‘राजनीतिक रुपम सही वा गलत जे होला, तर नेपालमा अलिकति उग्र राष्ट्रवाद हाबी भएको छ, नेपालका लागि यो तत्कालका लागि मात्र नभई दीर्घकालका लागि पनि राम्रो होइन ’, उनको भनाइ छ, ‘नेपालमा आम मानिसलाई भारतले नाकाबन्दी गर्यो भन्ने छ, तर भारतमा कति जनालाई यो समस्याबारे थाहा होला र !’
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.