काठमाडौँको कपनहाइटमा रहेको उपराष्ट्रपतिको निवासमा स्थानीय, आफन्तजन र शुभेच्छुकको बधाई तथा शुभकामना दिनेको घुइँचो लागेको थियो ।
अगुवापछुवा गाडीसहित नेपाली सेना र नेपाल प्रहरीको स्कर्टिङमा उच्च सुरक्षाका साथ निवास पुग्नुभएका उपराष्ट्रपति पुनलाई स्वागत गर्न फूलमाला र अबिरसहित स्थानीयवासी लामबद्ध थिए । निवास परिसरमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ ।
एकीकृत नेकपा (माओवादी)का स्थायी समिति सदस्य एवम् पूर्व लडाकु कमाण्डरसमेत रहँदै आउनुभएका उपराष्ट्रपतिलाई बधाई तथा शुभकामना दिन पार्टी महासचिव कृष्णबहादुर महरासहितका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।
आफ्ना पति उपराष्ट्रपतिजस्तो गरिमामय पदमा निर्वाचित हुनुभएकामा खुसी व्यक्त गर्दै उपराष्ट्रपति पुनकी श्रीमती हस्तमाली पुनले उहाँले मुलुक र जनताका पक्षमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
“उहाँले युवा अवस्थादेखि नै देश र जनतालाई अत्यन्त माया गर्नुहुन्थ्यो । अहिले उपराष्ट्रपतिजस्तो पदमा विजयी हुनुभएको छ, अब झन् देश र जनताको पक्षमै काम गर्नुहुनेछ” – उहाँले रासससँगको कुराकानीमा भन्नुभयो ।
खादा, माला र अबिर पहिरिनुभएकी उहाँलाई स्वागत थाप्न भ्याईनभ्याई थियो ।
चिनियाँ उपराष्ट्रपतिको बधाई
यसैबीच, चिनियाँ उपराष्ट्रपति ली वेन्छोले नेपालको उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएकोमा नन्दबहादुर पुनलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
पुन उपराष्ट्रपतिमा निर्वाचित भएलगत्तै नेपालका लागि चिनियाँ राजदूत वु छुन्ताईले आज साँझ कपनस्थित उपराष्ट्रपतिको निवास पुगेर चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश सुनाउनुभएको थियो ।
सो अवसरमा राजदूत वु छुन्ताईले उपराष्ट्रपति पदमा उहाँको विजयले दुई देशबीचको आपसी सम्बन्ध प्रगाढ बनाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । रासस
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.