बिहीबार १२ कार्तिक, २०७२
नेपालगन्ज– रुपेडिहा नाकास्थित दसगजा क्षेत्रमा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्ता र नाकाबन्दीको प्रतिकारमा उत्रिएका युवाबीच दोहोरो ढुंगा हानाहान भएको छ।
मोर्चाका कार्यकर्ताहरु बिहानदेखि दसगजा क्षेत्रमा धर्नामा बसी आवत जावत बन्द गराएपछि ठुलो संख्याका युवा जमुनाहामा पुगेर प्रतिकार गरेका थिए। त्यसक्रममा प्रहरीले मोर्चाका बाँके संयोजक विजय गुप्ता, राजेश मिश्र लगायत ५ जनालाई पक्राउ गरेको थियो।
युवाहरुले प्रतिकार गर्दै लखेटेपछि मधेसी मोर्चाका कार्यकर्ताहरु भारतीय भूमिमा पुगेर त्यहाँबाट ढुंगा प्रहार गरेपछि यताबाट युवाहरुले पनि ढुंगा हानेको प्रहरीले जनाएको छ । दोहोरो ढुंगा हानाहान हुदाँ रुपेडिहा नाका तनावग्रस्त बनेको छ। इलाका प्रहरी कार्यालय जमुनाहा इन्चार्ज प्रहरी नायव निरीक्षक विष्णु गिरीले धर्नामा बसेका मधेसी मोर्चा र प्रतिकारमा उत्रिएका युवाबीच दोहोरो ढुंगा हानाहान भएको बताए । प्रतिकारमा उत्रिएका युवाहरु अहिले पनि जमुनाहा क्षेत्रमा परिचालित भएका छन्।
'युवाहरुको समुहले प्रतिकार गरेपछि मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाट ढुंगा हाने, उनीहरु अहिले उतैतिर छन,' उनले भने । मोर्चाले भारतीय भूमि प्रयोग गरी नेपाल तर्फ ढुंगा हानेको धेरै बेरपछि मात्र भारतीय सुरक्षाकर्मीले आन्दोलनकारीलाई लखेटे जस्तो गरेको प्रत्यक्षदर्शीले बताएका छन्।
आन्दोलनकारी मोर्चाका कार्यकर्ता अहिले पनि भारतीय भूमिमै बसेका छन् । भारतीय सुरक्षाकर्मीले उनीहरुलाई संरक्षण दिएको नेपाली सुरक्षाकर्मीको गुनासो छ। मोर्चाका कार्यकर्ताले रुपैडिहामा किनमेलका लागि पुगेका नेपाली नम्वर प्लेटका मोटरसाईकलमाथि ढुंगा प्रहार गरेका छन् । प्रहरीका अनुसार मोर्चाका कार्यकर्ताले सिमापारी पुगेको भे२ प ५८५३ नम्वरको मोटरसाईकललाई पल्टाइदिएका हुन्।nagariknews
Post a Comment