कास्की, १३ कात्तिक । भदौ १० गते पोखरामा आधा केजी तौलको शिशुको जन्म भएको छ । पोखराको महेन्द्रपुलस्थित ओम अस्पतालमा २५ हप्ता चार दिनको गर्भबाट जन्मेको शिशुको तौल आधा केजी (५०० ग्राम) मात्र थियो । पर्वत तिलाहार गाविस–७ घर भई हाल पोखरा–१४ मा बस्दै आएकी गीता लामिछानेको गर्भबाट त्यस्तो शिशु जन्मिएको हो । परिवारले भने शिशु बाँच्ने आश नै मारिसकेका बुबा रमेश लामिछानेले बताउनुभयो ।
शिशु बाँचेपछि अभिभावक मात्रै खुसी छैनन्, उनको उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीमा पनि खुसी छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शिशु सघन उपचार केन्द्रमा ६२ दिनसम्मको निरन्तर उपचार र प्रयासपछि अहिले शिशु तङ्िग्रँदै गएकी छन् । शिशुको तौल बढेर एक किलो ६०० ग्राम पुगेको छ भने शिशुले आमाको दूध आफैँ चुस्न सक्ने भएकी छिन् । शिशुले दूध चुस्न सकेका कारण अब शिशु घरमा पनि बाँच्न सक्ने भन्दै अस्पतालले आइतबार डिस्चार्ज गर्ने तयारी गरेको छ ।
अभिभावकले घरमा नै लगेर छोरीको न्वारन गर्ने बताए । धेरैले अभिभावकलाई शिशुको नाम खुसी राख्न सुझावसमेत दिने गरेका छन् । अस्पतालले शिशुको उपचार निःशुल्क गरिदिएको छ । यो विरलै घटना हो, कम तौलका बच्चा जन्मन सक्छन् तर बाँच्न र बचाउन सकिँदैन । बाल रोग विशेषज्ञ एवम् पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका बालरोग विभाग प्रमुख डा रामचन्द्र बाँस्तोलाले भन्नुभयो, “यति सानो शिशु बचाउन सकिएको यो पहिलो घटना हुन सक्छ, सम्भवतः नेपालको नै पहिलो सफलता हुन सक्छ ।”
उहाँले यसलाई बाल स्वास्थ्यको क्षेत्रमा नयाँ आयाम नै भएको दाबी गर्दै पोखराको समेत गौरव भएको बताउनुभयो । यसअघि कान्ति बाल अस्पतालमा जन्मेको ७५० ग्रामको बच्चालाई बचाउन सकिएको भन्ने सुनेको उहाँले बताउनुभयो । उहाँका अनुसार अमेरिकामा २२ हप्तासम्मको बच्चालाई बचाउन सकिने भए पनि नेपालमा प्रायः असम्भव जस्तै छ ।
बाल रोग विशेषज्ञ डा बास्तोलाले अभिभावकले चिकित्सकप्रति गरेको विश्वास, आफूहरूको लगनशीलता र शिशु स्वयम्को भाग्यका कारण पनि सफलता मिलेको उल्लेख गर्नुभयो । अस्पतालमा रहेका साधन रेडियन्ट बारमर र इन्क्युवेटर पनि सफलताका लागि सहयोगी बने । ३७ देखि ४२ हप्ताको गर्भबाट जन्मने साढे दुईदेखि चार केजी तौलसम्मको बच्चालाई सामान्य मानिन्छ । शिशु जन्मेपछि उनलाई तत्काल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शिशु सघन उपचार केन्द्रमा लगेर उपचार थालिएको थियो ।
सुरुको सात दिन शिशुको तौल बढाउन तथा शारीरिक वृद्धिका लागि नसाबाट प्रोटिन र कार्बोहाइड्रेट दिइयो । त्यसपछि आन्द्रा सुक्न नदिनका लागि आमाको दूध तीन÷तीन घन्टाको फरकमा दुई÷दुई एमएल खुवाउन थालियो । यस्तो अवस्थाका शिशुको श्वासप्रश्वास जुनसुकै बेला पनि रोकिने सक्ने अवस्थालाई मध्यनजर गर्दै इन्जेक्सन एमिनुफाइलिङ र रोग नलाग्ने एन्टिबाइटिक दिइयो ।
त्यसपछि शारीरिक र मानसिक वृद्धिका लागि भिटामिन र मिनरल्स (क्याल्सियम, आइरन, भिटामिन बी कम्ल्प्रेक्स, भिटामिन डी आदि) दिइयो । यति गर्दागर्दै पनि शिशुमा रगतको मात्रा घट्न गयो । जसका कारण शिशुलाई दुईपटकसम्म फ्रेस रगत चढाइयो । शिशुलाई यस अवस्थासम्म ल्याइपुर्याउन स–साना बालबालिका हुर्काउन प्रयोग गरिने सीप र केएमसी विधि पनि अपनाइयो ।
दुई हप्तापछि भने शिशुलाई मुखबाट पाइप लगाएर खुवाउन थालियो । पाइपबाट आमाको दूध, बच्चाको स्पेशल दूध, भिटामिन र मिनरल्स खुवाउँदै उनको उपचार र रेखदेख गरियो । यसैको परिणामस्वरूप शिशु आमाको दूध चुस्न सक्ने मात्रै भएकी छैन, स्वास्थ पनि भएकी छन् । महिलालाई मानसिक तथा शारीरिक तनाव, पौष्टिक आहारको कमी, आमा तथा शिशुको स्वास्थ्यमा समस्या हुँदा समयभन्दा पहिले नै कम तौलका शिशु जन्मने गरेको पाइन्छ ।राससaajakokhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.