भारतको गोन्डा डिपोले मागे अनुसार पेट्रोलियम पदार्थको लोड दिन थालेको छ।
तीन चार दिनदेखि गोन्डा डिपोमा पुगेका सबै ट्यांकरहरुलाई लोड भईरहेको र भारतीय पक्षबाट कुनै अबरोध नरहेको नेपाल आयल निगम पेट्रोलियम ट्यांकर चालक एशोसियसनका अध्यक्ष गंगा दत्त बडुले बताए।
गोन्डा डिपोमा नाकाबन्दी सुरु हुनुभन्दा पहिले जति परिमाणमा पेट्रोलियम पदार्थको लोड हुन्थ्यो अहिले तीन चार दिनदेखि त्यही परिमाण मै लोड दिइरहेको बडुले बताए। नाकाबन्दी नहँुदा गोन्डा डिपोबाट दैनिक २८ देखि ३० ट्यांकर इन्धन आउँथ्यो। हिजो २८ ट्यांकर इन्धन नेपाल भित्रिएको थियो।
भारतबाट इन्धन भरेका आएका ट्यांकरहरु बितरणका लागि मध्य पश्चिमका बिभिन्न जिल्लाहरुमा पुगेका कारण धेरै ट्यांरहरु गोन्डा डिपोमा पठाउन नसकिएको अध्यक्ष बडुले बताए। आज पनि करिब २८ वटा ट्यांकरहरु लोड हुने तयारीमा रहेको उनले बताए।
नेपालगन्ज रुपैडिया नाकाबाट दिनहुँ जसो पेट्रोलियम पदार्थका ट्यांकरहरु भित्रिए पनि ती ट्यांकरहरु काठमाडाैँ पठाइँदा नेपालगन्जमै पेट्रोलियम पदार्थको अभाव भने अझै हटेको छैन। भारतले नाकाबन्दी सुरु गरेपछि नेपालगन्ज नाका हुँदै भित्रिने पेट्रोलियम पदार्थको परिमाण घटे पनि आयात भएकै कम परिमाणबाट पनि करिब ४० प्रतिशत काठमाडाैँ पठाइएका कारण नेपालगन्ज लगायत मध्य पश्चिम मै इन्धनको अभाव भएको नेपाल आयल निगम क्षेत्रिय कार्यालय नेपालगन्जले जनाएको छ।
निगमका अनुसार असोज १० गते पछि २ हजार १२ केएल (किलो लिटर) डिजेल, ३ सय ६० केएल पेट्रोल, ३ सय ६० केएल हवाई इन्धन र २० केएल मट्टितेल काठमाडाैँ पठाइएको छ।
पहिलेभन्दा कम इन्धन आयात भएको र त्यसमा पनि करिब ४० प्रतिशत काठमाडाैँमा पठाइएपछि नेपालगन्ज लगायत मध्य पश्चिमका जिल्लाहरुमा पनि इन्धनको अभाव बढेको व्यवसायीहरुले बताएका छन्।
इन्धन अभाव हुँदा सीमावर्ति क्षेत्रमा बासिन्दाहरु इन्धन भर्नका लागि सीमापारीका भारतीय पेट्रोलपम्पमा जान बाध्य भएका छन्।
लामो समयदेखि डिजेलको अभाव भएपछि सार्वजनिक यातायातका साधनहरु कम चल्न थालेका छन् भने किसानहरुलाई खेत जोत्नका लागि ट्याक्टर र रोटाबेटर चलाउन समेत मुस्किल हुँदै गएको छ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.