संविधानले पूरै खुसी दिएन, पाँच विकासक्षेत्र नै ठीक
२०७२ कार्तिक १३ गते
राष्ट्रपति रामबरणकी छोरी अनिताले भनिन् अब बिहेविहेका लागि गुणवान पुरुषको खोजी गर्दै छु
१३ कात्तिक, काठमाण्डौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवकी छोरी अनिता यादवले आफुले विवाहका लागि उच्च जातको नभई असल केटा खोजिरहेको बताएकी छिन् ।
संविधान बनेपछि विवाह गर्ने योजनाका कारण आफ्नो विवाह पछि धकेलिएको बताउँदै अनिताले भनिन् -‘संविधान बनेपछि बिबाह गर्ने योजनामा थिएँ, संविधान पनि आयो, अब हेर्दै जाउँ ।’
विवाहका लागि तपाईको रोजाईमा कस्ता पुरुष छन् भन्ने प्रश्नमा अनिताले भनिन्- मेरो रोजाईमा साधारण ब्यक्ति नै पर्छन्, इमान्दार होस् मलाई बुझोस् भन्ने नै हो । क्लास र कास्ट नै ठूलो कुरा हैन । असल होस् ।’
न्यूज २४ टीभीसँगको अन्तरवार्तामा अनिताले भनिन- भगवानले जोडी मिलाएको हुन्छ भनिन्छ, सायद मेरो समय नआएर होला विवाह हुन नसकेको ।’
छोरीको बिहे भैदियोस् भन्ने बुबाको चाहना भए पनि विवाहका लागि कुनै दबाव नदिएको उनले बताइन् ।
आफुले जातभातको कुरा नमान्ने र सानैदेखि त्यसरी नै हुर्किएको भन्दै उनले पछिल्लो समयमा देखिएको जातीय मुद्दाप्रति चिन्ता जनाइन् ।
‘जस जसले जातको कुरा गरिरहनुभएको छ, त्यसले बिभाजन र बिनासतिर लगिरहेको छ । सबैको कल्चरबाट केही न केही कुरा सिकिरहेको हुन्छ । मिलेर बसेको नै राम्रो हुन्छ ।’ उनले भनिन्- ‘जो कसैले हाम्रो समाजलाई जातका आधारमा विभाजन गर्न खोज्दै हुनुहुन्छ त्यसले मलाई दुखित बनाएको छ ।’
आठ वर्ष शीतलनिवासमा बसेर अहिले बाहिरिँदा कुनै दुःख लागेको छ भन्ने प्रश्नमा उनले भनिन्- ‘कुनै दुःख छैन, किनकि हामीलाई थाहा थियो एक दिन बाहिरिनुपर्छ ।’
अब एनजीओ र योगा
योगा प्रशिक्षणमासमेत संलग्न रहेकी अनिताले शीतलनिवासबाट बाहिरिएपछि योगा र समाजसेवाका क्षेत्रमा काम गर्ने बताइन् । ‘सानो एनजीओ छ गाउँमा, पहिले बुबाले चलाउनुहुन्थ्यो, अब म त्यसलाई चलाउने तयारीमा छु ।’ उनले भनिन्-‘अब योगा र एनजीओलाई अगाडि बढाउन चाहान्छु ।’
के तपाई राजनीतिमा आउने सोचमा हुनुहुन्छ ? भन्ने प्रश्नमा उनले भनिन्- म भविष्य मा के गर्छु त्यो त म भन्न सक्दिँन । म कुनै पार्टीमा त्यति विश्वास गर्दिन, ब्यक्ति राम्रो हुनुपर्छ । तपाईहामीले ठूलो कुरा गरेर हुँदैन, व्यवहारमा देखाउनुपर्छ । हामी जे बोल्छौं, त्यसमा अडियौं भने केही न केही हामी सबैले योगदान दिन सक्छौं र हाम्रो नेपाल राम्रो हुन सक्छ होला ।’
राष्ट्रपतिको छोरी भएका कारण राजनीतिमा आए हुन्थ्यो भन्ने चाहना होला नि भन्ने प्रश्नमा अनिता भन्छिन्- मेरा बुबा प्रथम राष्ट्रपति हुनुभयो भनेर धेरै नै गर्व छ, तर म उहाँबाट अलग राखेर हेर्छु । मसँग जे छ त्यहीबाट चिनाउँछु । मप्रति उहाँको त्यस्तो कुनै अपेक्षा छैन, असल बन्नुपर्छ भन्ने त हो । उहाँले पनि ठूलो हैन असल मानिस बन भनेर भन्नुहुन्छ ।’
संविधानले खुसी दिएन
अनिताले देशले संविधान पाए पनि आफुलाई पुरै खुसी बनाउन नसकेको बताइन् । ‘संविधान त आयो तर म पुरै खुसी छैन, पुरै देशमा खुसी हुन पाएको भए हुन्थ्यो ।’ उनले भनिन्-‘तराईमा जुन अवरोध भइरहेको छ, त्यसले मलाई दुःख लागेको छ ।’
पाँच विकासक्षेत्र नै ठीक थियो
अनिताले नयाँ संविधानले प्रस्ताव गरेको संघीय संरचनाप्रति पनि बेखुसी प्रकट गरिन् । पहिलेकै पाँच बिकासक्षेत्रको अवधारणा आफुलाई मन परेको उनले बताइन ।
‘जुन पहिलेको पाँच विकासक्षेत्र बाँडेको थियो नै राम्रो थियो । सबै मिलेर वसेका थियौं, एउटा साझा फुलवारी जस्तो थियो । केही भेदभाव थिएन ।’ उनले भनिन्- अहिले जुन जातीयताको कुरा आइरहेको त्यो मलाई मन परेको छैन । किनभने म त्यो मान्दिन, म गुणले मानिसलाई चिन्ने गर्छु, कुन जातबाट आएको छ भन्नेले हैन । मनिस जातले हैन, गुणले ठूलो हुन्छ भन्ने कुरा छ । कसैले मेहनत गर्छ भने कहाँबाट कहाँ पुग्न सक्छ तर कोही ठूलो जातको छ, तर मेहनत गर्दैन भने उ त्यहीँ रहन्छ भन्ने ब्यक्तिगत बुझाइ छ ।’onlinekhabar
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.