रसुवागढी :चीनले दिएको अनुदानको तेल लिन रसुवागढी पुगेका १२ मध्ये चारवटा ट्यांकर शनिबार तेल भर्न केरुङ गएका छन्।
शुक्रबार बेलुका नै रसुवागढी पुगेका १२ ट्यांकरमध्ये साढे एक बजे चारवटा ट्यांकर केरुङतिर लागेका छन्। केरुङ पुग्न कम्तीमा डेढघन्टा लाग्नेछ। ट्यांकरसँगै नेपाल आयल निगमका प्रवक्ता दीपक बरालसहित नेपाली टोली र पेट्रो चाइनका तीन अधिकारी पनि केरुङ गएका छन्
साँझसम्म चारवटा ट्यांकर तेल भरेर रसुवागढी फर्किने बरालले बताए। संभव भए आजै ती ट्यांकरलाई काठमाडौं ल्याउने तयारी छ। आठवटा रसुवागढीमा मै राखिएको छ। केरुङभन्दा २० किलोमिटर टाढा भारी हिमपातले गर्दा सिगात्सेबाट तेल बोकेर आएका गाडी केरुङ आउन ढिलाइ भएको हो। हरेक ट्यांकरको क्षमता १२ हजार लिटर भए पनि अप्ठ्यारो बाटो भएकोले नौहजार लिटर लोड गरिने छ। चार ट्यांकरमा ३६ हजार लिटर पेट्रोल आजै नेपाल प्रवेश गर्नेछ।
चीनतर्फको केरुङ क्षेत्रमा हिमपातले सडक अवरोध भएका कारण चीनको सिगात्सेबाट तेल बोकेर आएका गाडी उतै अड्किएपछि चारवटा ट्यांकर मात्र पठाइएको हो। बाँकी ट्यांकर आइतबार केरुङ पठाउने तयारी छ।
चीनले अनुदानमा नेपाललाई उपलब्ध गराएको पेट्रोल लिन शुक्रवार दर्जन ट्यांकरसहित नेपाली सरकारी टोली रसुवा पुगेको थियो। चीनले अनुदानमा १० हजार मेट्रिक टन तेल उपलब्ध गराएको छ।
डेढ महिनादेखि नाकाबन्दी लगाएर भारतले इन्धन आपूर्ति रोकेको छ। इन्धन आपूर्ति सहज गराउन पटकपटक पहल तथा पत्राचार गर्दा पनि प्रगति केही नभएपछि सरकारले चीनबाट इन्धन आपूर्ति गर्न सम्झौतासमेत गरिसकेको छ।annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.