काठमाडौं । आन्दोलनरत मधेशी मोर्चाको दुई महिना देखि जारी आम हडतालका कारण ठप्प रहेको देशको प्रमुख नाका वीरगञ्जस्थित सुख्खा बन्दरगाह क्षेत्रमा सरकारले सेना परिचालनको तयारी गरेको छ । सरकारका दई जना मन्त्रीहरुले मालबाहक ट्रकको सुरक्षाका लागि उक्त क्षेत्रमा सेना परिचालन गर्न लागिएको बताएका छन् ।
वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन र उद्योगमन्त्री सोमप्रसाद पाण्डेले शुक्रबार नेपाल चेम्बर अफ कमर्सको टोलीसँगको भेटमा आन्दोलनकारी दलका कार्यकर्ताले मालवाहक ट्रकमा आगजनीका घटना नरोकेकाले सरकारले सुख्खा बन्दरगाह क्षेत्रमा सेना परिचालनको तयारी गरिरहेको बताएका हुन्।
उनीहरुले सेना परिचालनका विषयमा आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा गरिसकेको पनि बताए। उनीहरु दुवैले व्यवसायीका मालवाहक ट्रकलाई सुरक्षा दिन सरकार प्रतिबद्ध रहेको पनि बताए।
वाणिज्य तथा आपूर्तिमन्त्री पुन र उद्योगमन्त्री पाण्डेसँगको अलग अलग भेटवार्तामा चेम्बरमा आवद्ध व्यवसायीहरुले सरकारले सुरक्षाको प्रत्याभूति नगरेकाले मधेशमा उद्योग कलकारखाना चलाउन नसकेको र अर्बौं रुपैयाँको नोक्सानी व्यहोर्नुपरेको बताएका थिए।
उनीहरुले चीनबाट इन्धन ल्याउनका लागि सडकको स्तरोन्नति गरिनुपर्नेमा पनि जोड दिए । उनीहरुले केरुङबाट रसुवाको धुन्चे, नुवाकोटको विदुर हुँदै काठमाडौ आउने सडक पेट्रोलियम पदार्थका ट्यांकर हिंडाउन लायकका नरहेको भन्दै स्तरोन्नतिमा जोड दिएका हुन्।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.