रातरात कहाँ पुग्याे ५० हजार सिलिन्डर ग्यास?
काठमाडौं— ग्यास उद्योगीले शुक्रबार राजधानीका सर्वसाधारण उपभोक्तालाई शनिबार ग्यास बाँड्ने 'ललिपप' देखाए। दुई महिनादेखि ग्यास सकिएर यताउता भौंतारिइरहेका उपभोक्ता शनिबार बिहान तीन बजे नै नजिकका डिपो पुगेर सिलिन्डरसहित लाइन बसे।
१२ घन्टा लाइन बस्दा पनि उनीहरुले ग्यास भने पाएनन्। कोही टोकन लिएर त कोही रित्तो सिलिन्डर मात्रै बोकेर फर्किए। दिउँसो ३ बजे मात्र उपभोक्ताले थाहा पाए– डिपोमा ग्यासै रहेनछ, उद्योगीले बाँड्ने भनेर पंगु पो बनाएछन्।
काठमाडाैंमा भएका करिब एक दर्जन ग्यास उद्योगले शुक्रबार २० बुलेट ग्यास आफ्नो उद्योगभित्र छिराएका थिए। त्यही ग्यास एक सिलिन्डरमा आधा (७.१ किलो मात्र) भरेर उपभोक्तालाई बाँड्ने निर्णय उनीहरुको थियो।
यो निर्णयले उपभोक्तामा ठूलो आशा जगाएको थियो तर अघिल्लो दिन ग्यास दिने बाचा गरेका उद्योगीले आफ्नो उद्योगबाट कुनै पनि डिपोलाई ग्यास दिएकै थिएनन् । रातारात अर्बौं कमाउने लोभमा उनीहरुले ग्यास त अन्तै पुर्याए। उनीहरुले त्यो ग्यास प्रतिसिलिन्डर आठदेखि १० हजार रुपैयाँसम्म लिएर तारे होटल र अन्य होटल, रेस्टुरेन्ट तथा रिसोर्टलाई बेचेर एकै रात सवा २ अर्ब लुट मच्चाएको खुलासा भएको छ ।
यो रहस्य खोलेका हुन्– ग्यास बिक्रेता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले ।
'एकैरात अर्बौं कमाउन सकिन्छ भने करोडमा किन आँखा लगाउँथे ?' अर्यालले शनिबार नागरिकसँग भने, 'यो सर्वसाधारण उपभोक्तामाथि ठूलो धोका हो। राज्यले यसबारे तुरुन्त छानबिन गरेर दोषी उद्योगीमाथि कारबाही गर्नुपर्छ।'
एक बुलेटमा १४ दशमलव २ किलोका दरले १ हजार २ सय ७० सिलिन्डर ग्यास हुन्छ । परल मूल्यमा सर्वसाधारणलाई बिक्री गर्दा एक सिलिन्डरको १ हजार ४ सय रुपैयाँ मात्र पर्छ। यो हिसाबले उद्योगीले भित्यात्र्याएकाे २० बुलेट ग्यासबाट सिलिन्डर पूरा भर्दा २५ हजार ४ सय सिलिन्डर ग्यास भर्न सकिन्छ। अाधा मात्र भर्दा ५० हजार ८ सय सिलिन्डर भर्न पुग्छ। सर्वसाधारणलाई उक्त परिमाण बराबरको ग्यास बिक्री गरेको भए उद्योगीले ३५ करोड ५६ लाख रुपैयाँ कमाउँथे। उद्योगीले त्यही ग्यास प्रतिसिलिन्डर ८ हजारदेखि १० हजार रुपैयाँसम्म लिएर तारे होटलहरुलाई बेच्ने उद्देश्यले सर्वसाधारणलाई नदिएको अर्यालको भनाइ छ।
उनका अनुसार ठूला होटललाई उद्योगीले ८ हजार देखि १० हजार रुपैयाँसम्ममा बेच्दा २५ हजार ४ सय सिलिन्डरको २ अर्ब ३२ लाखदेखि २ अर्ब ५४ करोड रुपैयाँसम्म एकैरात कमाउँछन् । यस हिसाबले ग्यास उद्योगीलाई २ अर्ब २० करोड रुपैयाँ चोखो नाफा हुन्छ ।
'ग्यास उद्योगीले होटललाई शनिबार राति ८ बजे ग्यास लिन बोलाएको हाम्रो जानकारीमा आएको छ,' उनले भने, 'कतिपय होटललाई उद्योगी आफैंले आफ्नो गाडी प्रयोग गरेर ढुवानी गरेका छन् ।'
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका निर्देशक हरिनारायण बेल्वासेले पनि ठूला उद्योगीले कालोबजारी गर्दा जनताले ग्यास नपाएको पुष्टि गरे ।
'राज्यलाई संकट परेका बेला उद्योगीले रातारात मोटो रकम कमाउन खोजे जसका कारण जनताले १२ घन्टा लाइनमा बसेर रित्तै फर्कनुप¥यो,' उनले शनिबार नागरिकसँग भने, 'आज उद्योगीले देखाएको रवैयाले हामी दुःखी छौं । भोलिबाट प्रत्येक उद्योगमा छापा मार्छौं ।'
निवर्तमान अध्यक्ष अर्यालले ७ दशमलव १ किलोको सिलिन्डर बिक्री गर्नकै लागि ग्यास उद्योगहरु एचपीले १ बुलेट, नेपालले ३ बुलेट, एभरेस्टले ३ बुलेट, उग्रचण्डीले १ बुलेट, बाबा २ बुलेट, तारा १ बुलेट, साल्ट्र ट्रेडिङ ३ बुलेट, सिदार्थ २ बुलेट, ओम ग्यास उद्योगले २ बुलेट ग्यास राजधानी भित्र्याएका छन् तर ९० प्रतिशत उद्योगले एउटा पनि ग्यास सर्वसाधारण नदिए लुकाएका छन् ।
ग्यास बिक्रेताले पाउने कमिसन र डिपोसम्म ल्याउन लाग्ने ढुवानी खर्च उद्योगी आफैंले खान पाइने भएपछि सुरक्षाको कारण देखाउँदै एउटा पनि ग्यास सिलिन्डर डिपोमा नपठाएको ग्यास बिक्रेता महासंघका निमित्त अध्यक्ष अर्जुनप्रसाद देवकोटाले बताए ।
'ढुवानी भाडा र कमिसनबापत प्रतिसिलिन्डर ६० रुपैयाँका दरले कमिसन खान पाइन्छ,' अर्यालले नागरिकसँग भने, 'शुक्रबार उद्योगले भिœयाएका ग्यास बुलेटबाट मात्र उद्योगीले १५ लाख २४ हजार रुपैयाँ कमिसन सोझै कुम्ल्याउन पाउँछन् ।'
एकातर्फ कमिसन खान पाइने, अर्कोतर्फ कालोबजारीमा महँगोमा सिलिन्डर बिक्री हुँदा उद्योगीहरु रातारात मोटाउने र उपभोक्ता मारमा पर्दै जाने अवस्था आएको उपभोक्ताहरुको भनाइ छ ।
स्रोतका अनुसार उद्योगीले कालोबजारीमा बेचेको सिलिन्डरबाट आएको आम्दानी निगमका उच्च पदाधिकारीको गोजीमा समेत पुग्नेछ । निगम, उद्योगी र अनुगमनकारी निकायको मिलेमतोमा उद्योगीले ग्यास कालोबजारी गरेर महँगो मूल्यमा बिक्री गरेका हुन् ।
तोडियो पूर्वसहमति
पूर्वसहमति अनुसार काठमाडौं उपत्यकामा सञ्चालित दर्जनभन्दा बढी ग्यास उद्योगले ग्यास भरिएको सिलिन्डर डिलरहरुलाई उपलब्ध नगराउँदा शनिबार ग्यास वितरण हुन नसकेको ग्यास बिक्रेता महासंघ नेपालले जनाएको छ। कात्तिक १० गते वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरोकार पक्ष सम्मिलित बैठकले उद्योगहरुले उपत्यकाका करिब ८ सय डिलरलाई ७ दशमलव १ किलोग्राम (आधा) सिलिन्डर ग्यास उपलब्ध गराउने सहमति भएको थियो । उक्त सहमतिअनुसार ग्यास पाउने आशामा विभिन्न उद्योगका सिलिन्डर प्रयोग गर्ने उपभोक्ताले आ–आफ्ना नजिकका डिलरहरुमा सिलिन्डरको लाइन राखे पनि ग्यास प्राप्त गर्न सकेका छैनन् ।
पूर्वसहमतिअनुसार उद्योगहरुले आधा सिलिन्डर भरिएको ग्यास उपलब्ध नगराउँदा उपभोक्ताले ग्यास पाउन सकेका छैनन् । अर्कोतर्फ उद्योगहरुले संकटका बेला अनुचित लाभको लोभ राखेर डिलरलाई ग्यास उपलब्ध नगराई आफैंले बिक्री गर्ने उद्देश्य राखेको महासंघको आरोप छ ।
'उद्योगले डिलरमार्फत ग्यास बिक्रीवितरण गर्ने हो भने उद्योगसँग भएका लाखौं सिलिन्डर तत्काल फिर्ता गर्ने वातावरण मिलाइदिन सरकारसँग जोडदार माग गर्दछौं,' महासंघका निमित्त अध्यक्ष अर्जुनप्रसाद देवकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.