कार्तिक १२ | कमल पौडेल
पोखरा -भारतको अघोषित नाकावन्दीले देशभर पेट्रोलियम पदार्थको अभाव भइरहेका वेला कास्कीको गोगन गौडा डिपोमा १ लाख २० हजार लिटर डिजेल स्टक रहेको खुलासा भएको छ ।
दशैं पछाडि पटक पटक आएका ट्यांकरवाट डिपोले सो वरावरको स्टक डिजेल संकलन गरेको हो ।
स्टक राखिएको डिजेल सार्वजनिक यातायातका साधनलाई समानुपातिक हिसावले वितरण गरिनु पर्ने
व्यवसायीले माग गरेपनि डिपोले इन्धन दिन नमानेको व्यवसायीहरुले वताएका छन् ।
स्टक इन्धन वितरण गर्ने वारे कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णवहादुर राउत, गोगन गौडा डिपो प्रमुख मनोज ठाकुर, पेट्रोललियम डिलर्सका पदाधिकारी र यहाँका यातायात व्यवसायी वीच वुधवार साँझ छलफल भएपनि इन्धन वाँड्न डिपो सहमत नदेखिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ पश्चिमाञ्चल संयोजक धर्मराज अधिकारीले वताए ।
उनले इन्धन पाउने ग्यारेन्टी नभएसम्म यात्रा वुकिङ स्थगित गरिने समेत जानकारी दिएका छन् । कास्की प्रशासनले पनि भएको इन्धन वितरण गर्न निर्देशन गरेको भएपनि डिपोले दिन नमानेको यातायात व्यवसायीहरुको भनाई छ ।
व्यवसायीहरुले आएको इन्धन समानुपातिक रुपमा वितरण गर्नु पर्नेमा डिपोले नै स्टक राख्दा वढी तस्करी हुने गरेको वताएका छन् ।
वजारमा इन्धन अभाव भएका वेला अति आवस्यकीय कामको प्रयोगको लागि इन्धन स्टक राखेको गोगन गौंडा डिपोले दावी गरेको छ । डिपोले इन्धन स्टक रहेपनि कतै त्यसको दुरुपयोग नगरिएको वताएको छ ।
यसैवीच इन्धनको चरम अभाव भईरहेको वेला कास्कीको गोगन गौडा डिपो नजिकैवाट इन्धन तस्करी गर्ने लेखनाथका दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेखनाथ–३ का नवराज तिमिल्सिना र वडा नं ४–का प्रख्यात ढुङ्गाना रहेका छन् । प्रहरीले उनीहरुको घरवाट वुधवार साँझ ६५ लिटर पेट्रोल र १ सय २० लिटर डिजेल वरामद गरेको जनाएको छ । उनीहरुले सो इन्धन प्रति लिटर रु पाँच सय सम्ममा विक्री गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । प्रहरीले उनीहरुमाथि कालोवजारी तथा केही सामाजिक अपराध ऐन २०३२ अन्तर्गत अनुसन्धान भईरहेको जनाएको छ ।
Post a Comment