कार्तिक ८, २०७२- शनिबार स्थानीयमाथि प्रहरीले लाठीचार्ज गरेको विरोधमा राजविराजमा लाठी जुलुस प्रदर्शन गरिएको छ । शनिबार राति सदरमुकाम राजविराजसँगै रहेको जोलहरीमा स्थानीय बासिन्दाले आयोजना गरेको परम्परागत नाच हेर्न आएकालाई सवारीसाधन स्कर्टिङ गरेर लैजानका लागि प्रहरीले लाठीचार्ज गरेको स्थानीयको आरोप छ । प्रहरीले भने सवारी साधनमा ढुंगा प्रहार भएको भन्दै थप क्षति हुन नदिनका लागि सामान्य बल प्रयोग गरेको दाबी गरेको छ । प्रहरीको लाठीचार्जबाट तीनजनाको टाउको फुटेको र ५
महिलासहित एक दर्जन सामान्य घाईते भएको स्थानीय भीमराज यादवले जानकारी दिए । अघिल्लो शुक्रबार राति पनि भारदहस्थित कंकालिनी मन्दिरमा भईरहेको साँस्कृतिक कार्यक्रमको क्रममा भएको स्कर्टिङमा पनि सवारीसाधनमाथि ढुंगा हानीएपछि प्रहरीले लाठीचार्ज गर्दै केही राउन्ड हवाई फायर गरेको थियो । आइतबार बिहानैदेखि सप्तरीको भारदह, पोर्ताहा, मलेठ, झल्ही, रुपनी, कञ्चनपुरसहितका ठाउँहरुमा संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् । दसैंका लागि तीन दिन सप्तरीमा आन्दोलनलाई खुकुलो बनाइए पनि सोमबारदेखि मोटरसाईकललाई समेत आवत–जावतमा रोक लगाउने मोर्चाले जनाएको छ । साईकल र मोटरसाईकलबाट पेट्रोलियम पदार्थको ढुवानी गरी राजधानीसम्म पुर्याउने र कालोबजारीसमेत बढेको भन्दै अब मोटरसाईकलमा समेत बन्देज लगाउने आन्दोलनकारीको भनाई छ । आईतबार भारदहमा बिरामी बोक्ने एम्बुलेन्समै पेट्रोलियम पदार्थको ढुवानी भइरहेको फेला परेको मोर्चाका भारदह संयोजक वीरेन्द्र माझीले बताए । यस्तै भारतीय बजारहरुबाट मोटरसाइकलमा ल्याइएको पेट्रोल आन्दोलनकारी नष्ट गर्ने गरेका छन् । मधेसी मोर्चाले गएको साउन ३० गतेदेखि मधेसका जिल्लाहरुमा अनिश्चितकालीन बन्द आह्वान गरेको हो । आइतबार ७२ औं दिन लगतारको हड्तालले सप्तरीको जनजीवन कष्टकर बनेको छ । बन्दकै कारण सप्तरीमा पेट्रोलियम पदार्थ, खाना पकाउने एलपी ग्यास, औषधीसहितका दैनिक उपभोग्य समानहरुसमेत अभाव हुन पुगेको छ । ekantipur
Post a Comment