२०७२ कार्तिक ९ सोमबार
काठमाडौं : एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।
पार्टी स्थायी समितिको सोमबार बिहान बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।स्थायी समिति सदस्य योगेश भट्टराईले भण्डारीलाई राष्ट्रपतिका लागि उम्मेदवार बनाउने सर्वसम्मत निर्णय भएको बताए।
एमाओवादी तथा अन्य सत्तारुढ दलहरुसँगको सहमतिमा उम्मेदवारी तय गरिएकोले भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्ने संभावना बलियो छ । उनी एमालेका संस्थापक नेता स्व.मदन भण्डारीकी पत्नी हुन् ।
यसअघि रक्षालगायतका महत्वपूर्ण मन्त्रालय समालेकी भण्डारी पार्टी संगठनमा लामो समयदेखि क्रियाशिल छिन्। भद्र र शालिन स्वभावकी भण्डारीको समन्वयकारी भूमिकाका कारण एमालेले उनलाई प्रस्ताव गरेको हो ।
राष्ट्रपतिको उम्मेदवारमा एमालेबाट पूर्वप्रधानमनत्री झलनाथ खनाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र पूर्वमन्त्री लालबाबु पण्डितलगायतको चर्चा थियो । तर एमालेले उपाध्यक्ष विद्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेले भण्डारीलाई राष्ट्रपति बनाउने पक्षमा सत्तारुढ दलहरू एमाले, एमाओवादी र चौथो ठूला दल राप्रपा नेपाल पनि छन् । ती सबै दलले भण्डारीलाई समर्थन गर्ने भएकाले भण्डारी पहिलो महिला राष्ट्रपति बन्ने पक्का भएको हो ।
कात्तिक ११ गतेको राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि संसद्मा निर्वाचन हुँदैछ । निर्वाचनपछि उनी बुधबार नै राष्ट्रपति बन्नेछिन् । उपराष्ट्रपतिमा भने एमाओावादीका नन्दकिशोर पुन पासाङ बन्ने करिब पक्का छ ।
सहमतीय प्रक्रियाबाट राष्ट्रपति चुन्ने प्रक्रिया असफल भएपछि दलहरू बहुमतीय प्रक्रियामा गएका हुन् । यसअघि व्यवस्थापिका संसद्को सभामुखमा एमाओवादी नेतृ ओनसरी घर्ती निर्वाचित भएकी थिइन् । एमालेले राष्ट्रपतिको उम्मेदवार तय गरेपछि अब एमाओवादीले उपराष्ट्रपतिको उम्मेदवार तय गर्न बाँकी छ ।
प्रमखु विपक्षी दल नेपाली कांग्रेसले पनि राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेद्वारी दिने निर्णय गरिसकेको छ । त्यसैगरी कांग्रेसबाट पुराना नेता केबी गुरुङ र दलित समुदायका मानबहादुर विश्वकर्माको नाम चर्चामा छ। तर पछिल्लोपटक खिलराज रेग्मीको नाम पनि कांग्रेस बृत्तबाटै चर्चामा ल्याइएको छ।
कांग्रेसभित्रबाटै चर्चामा ल्याइएका रेग्मीको हकमा एमाओवादी सकारात्मक हुनसक्ने बताइएको छ। दक्षिण छिमेकीले समेत रुचाएका रेग्मीको नाम अचानक चर्चामा ल्याउनुलाई अर्थपूर्ण मानिएको छ। एमालेले कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा प्रस्तुत गरिन लागेका खिलराज रेग्मीको उम्मेदवारी पनि अस्वीकार गर्ने भएको छ ।annapurnapost
Post a Comment