‘पेस्तोल देखाएर सुशीललाई प्रमको उम्मेदवार बनाइयो’


नेपाली नेतालाई भारतले नोकरको व्यवहार गर्यो
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे  (रोहित) ले पेस्तोल तेर्स्याएर कांग्रेसका सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न बाध्य पारिएको खुलासा गरेका छन् ।


भक्तपुरमा वर्षेनी हुने नेपालभाषा साहित्य सम्मेलनलाई शनिबार सम्बोधन गर्दै बिजुक्छेले राष्ट्रपति डा.रामवरण यादवलाई नै साक्षी राखेर दक्षिणी शक्तिले कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिएको बताएका हुन् ।

‘राष्ट्रपति डा. रामवरण यादवकै निवास शीतल निवासमा सुशील कोइरालालाई दक्षिणी शक्तिले प्रधानमन्त्रीको उम्मेदवार बन्न दबाब दिइयो’, उनले भने, ‘कांग्रेसका एक नेताले मलाई दिएको जानकारीअनुसार प्रधानमन्त्रीको उम्मेदवारी दिन कोइरालामाथि पेस्तोलसमेत तेर्स्याइएको  थियो ।’

दक्षिणले सुशील कोइरालाले उम्मेदवारी दिए आन्दोलनमा रहेका मधेसवादी दलको समर्थन जुटाउने बताएअनुसार मधेसवादीहरु प्रधानमन्त्री निर्वाचनमा सहभागी भई कोइरालालाई नै मतदान गरेको बिजुक्छेको भनाइ थियो ।

उनले नेपाल र नेपाली नेताहरुलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएकोसमेत टिप्पणी गरे ।

‘नेपाल र नेपाली नेताहरुलाई भारतले नोकर र मालिकको जस्तो व्यवहार गर्दै आएको छ’, बिजुक्छेले भने, ‘भारत नेपाललाई स्वतन्त्र र सार्वभौम मुलुक मान्न पनि तयार छैन । यस्तो भारतको थिचोमिचोविरुद्ध युवा पुस्ता जाग्नुपर्छ ।’

उनले भारतले लगाएको नाकाबन्दीबाट सिर्जित पेट्रोलियम पदार्थको अभाव टार्न विद्युतीय सवारीसाधन भित्र्याउन सरकारको ध्यानाकर्षण गरे ।

त्यस्तै ग्यासको सट्टा विद्युतबाट खाना पकाउन जनतालाई बिजुलीको शुल्क सस्तो गर्नसमेत बिजुक्छेले सरकारसँग माग गरेका छन् ।

उनले भारतीय उत्पादन तथा वस्तु बहिस्कार गरेर उसको नाकाबन्दीको जवाफ दिन जनतालाई पनि आह्वान गरेका छन् ।

‘भारतीय नाकाबन्दीविरुद्ध जनतालो पनि भारतीय उत्पादन र वस्तु बहिस्कार गर्नुपर्छ’, उनले भने, ‘भारतीयभन्दा चिनियाँ उत्पादन तथा वस्तु सस्तो र राम्रो छ । त्यसैले चिनियाँ उत्पादन र वस्तु नै प्रयोग गर्नेतर्फ अघि बढ्नुपर्छ ।’

उनले पेट्रोलियम पदार्थमा भारतको मात्रै भरपर्दा अहिले समस्या भएकोले दीर्घकालीन रुपमै चीनबाट पेट्रोलियम पदार्थ ल्याउने बन्दोबस्त गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बिजुक्छेले संस्कृतिविद् सत्यमोहन जोशीलाई नगद २५ हजार रुपैयाँकासाथ विशेष सम्मान गरेका थिए ।

प्रत्येक वर्ष विजया दशमीको दुई दिनपछि द्वादशी र त्रयोदशीका दिन दुई दिन भक्तपुरमा बृहत नेपालभाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम हुँदै आएको छ ।

यस वर्षको ३५ औं संस्करण आइतबारसम्म चल्नेछ । कार्यक्रममा प्रतियोगी र अप्रतियोगी कथा, कविता, निबन्ध सँगसँगै विशिष्ट व्यक्तित्वहरुका मन्तव्य सुन्न सकिने छ ।annapurnapost

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget