काठमाडौं, कार्तिक ८ । भारतको अघोषित नाकाबन्दीको बीचमा छिमेकी राष्ट्र चीनले नेपाल सरकारलाई इन्धन सहयोग गर्ने तयारी गरिरहँदा त्यस निर्णयले मधेशमा तरंग पैदा गरेको छ ।
हुनत यसअघि नै मधेशमा चीनको झण्डा नजलेको पनि होइन । तर, त्यतिबेला मधेशी नेताहरु, विशेष गरेर उपेन्द्र यादवले नै त्यस्तो क्रियाकलापको विरोध गरेका थिए । संघीय लोकतान्त्रिक मधेशी मोर्चाले त्यसबारेमा विज्ञप्ति नै निकालेको थियो । तर, अहिले भने चीनले खुलेरै सरकारलाई सहयोग गर्न खोजेपछि मधेशी नेताहरु क्रुद्ध बनेका छन् ।
मधेशमा चीनविरुद्ध प्रदर्शन गर्ने तयारीमा उनीहरु लागेका छन् । सद्भावना पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले चीनको कदमप्रति गम्भिर आपत्ति जनाएका हुन् । ‘हामी विगत दुई महिनादेखि आन्दोलनरत छौं । दर्जनौंले आन्दोलनमा ज्यान गुमाइसकेका छन् । हामीले अन्तर्राष्ट्रिय शक्तिलाई यसबारे ध्यानाकर्षण गराइरहेका छौं । तर, हाम्रो आन्दोलनलाई वेवास्ता गर्दै चीनले सरकारलाई सहयोग गर्ने कुरा आएको छ, त्यसको हामी घोर भत्सर्ना गर्छौं ।’
चीनले सरकारलाई सहयोग गरे मधेशमा चीनविरुद्ध प्रदर्शन हुने पनि उनले बताए । ‘हामी पनि फ्रितिब्बतको नारा उठाउन बाध्य हुनेछौं । हामीलाई त्यस्तो गर्न बाध्य नपारियोस्,’ उनले भने ।
मधेशमा आन्दोलनको बीच भारतले अघोषित नाकाबन्दी गरेपछि नेपालमा इन्धनको चरम अभाव देखिएको छ । परराष्ट्रमन्त्री कमल थापाको भारत भ्रमणका क्रममा भारतीय नेतृत्वले परावाहन र इन्धन आपूर्ति सहज बनाउने बचन दिएपनि त्यो पूरा नभएपछि नेपालले अन्य देशसँग इन्धन आपूर्तिका लागि पहल गरेको हो । पहिलाे खबर बाट ।
Post a Comment