भारतीय राजदूतले रोक्न खोजे पनि रक्सौल रोकिएका चार लाख सिलिन्डर ग्यास रिरुट गरी ल्याउन स्वीकृति
स्रोतका अनुसार नयाँ दिल्लीमा ग्यास रि–रुट गर्ने समाचार आउनेबितिकै रायले रोक्ने प्रयास गरेका थिए। उनले रोक्ने प्रयास असफल भएपछि औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर ग्यास रि–रुट गर्न राजस्व लगायतका समस्या हुने बताएका थिए।
विज्ञान अधिकारी/पहिलोपोस्ट -
काठमाडौँ : रक्सौलमा रोकिएका तीन सय ग्यास बुलेट रि–रुटको कागजपत्रलाई इन्डियन आयल कर्पोरेसन (आइओसी)ले स्वीकृति दिएको छ।
भारतीय राजदूत रणजित रायले रोक्न खोजे पनि नेपाल आयल निगम र आइओसीका अधिकारीबीच नयाँ दिल्लीमा भएको वार्तामा जुटेको सहमतिका आधारमा आइओसीले स्वीकृति दिएको हो।
आइओसीको स्वीकृतिपछि अब केन्द्रीय भन्सारको स्वीकृति लिनुपर्छ। निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले रि–रुटका लागि आइओसीले स्वीकृति दिइसकेको बताउँदै भन्सारबाट स्वीकृति पाएपछि ग्यास बोकेका बुलेट अन्य नाकाबाट ल्याइने जानकारी दिए।
‘आइओसीसँगको सबै प्रक्रिया सकिइसकेको छ। राजस्व सम्बन्धी प्रक्रिया पूरा गरेपछि रक्सौलमा रोकिएका ग्यास बुलेट अन्य नाकाबाट ल्याउन सकिन्छ, उनले पहिलोपोस्टसँग भने, ‘आयल निगमका कर्मचारीले सोमबार नै कागजपत्र लिएर पटनास्थित भन्सारमा गएर सबै प्रक्रिया पूरा गर्नेछन्।’
उनका अनुसार ग्यास बोकेका बुलेट रि–रुटका लागि कुनै समस्या छैन। ‘ग्यास रि–रुटमा कुनै समस्या छैन। सबै काम सहजै अघि बढेको छ, खड्काले भने, ‘सोमबार कागजपत्र पेश भएर स्वीकृत हुनेबितिकै अन्य नाकाबाट ग्यास ल्याउने प्रक्रिया अघि बढ्छ।’
नेपालस्थित भारतीय राजदूत रणजीत रायले रक्सौलमा रोकिएको ग्यास बुलेट रि–रुट गर्न कठिन रहेको पत्रकार सम्मेलनमार्फत् जानकारी दिएका थिए।
स्रोतका अनुसार नयाँ दिल्लीमा ग्यास रि–रुट गर्ने समाचार आउनेबितिकै रायले रोक्ने प्रयास गरेका थिए। उनले रोक्ने प्रयास असफल भएपछि औपचारिक रुपमा पत्रकार सम्मेलन गरेर ग्यास रि–रुट गर्न राजस्व लगायतका समस्या हुने बताएका थिए।
स्रोतका अनुसार आइओसीले कागजात स्वीकृत गरे पनि राजस्वबाट केही झन्झट हुनसक्नेछ।
‘आइओसीले स्वीकृति दिए पनि राजस्वमा समस्या हुनसक्छ। भारतीय राजदूतले त्यतैतर्फ संकेत गरेर रोक्नसक्ने आधार पनि छ', स्रोतले भन्यो, ‘अझै पनि आश्वस्त हुनसक्ने अवस्था भने छैन।’
तर निगमका अधिकारीहरुले आइओसीले भारतको केन्द्रीय राजस्व विभागलाई जानकारी गराइसकेकोले रि–रुटमा समस्या नहुने बताएका छन्।
‘निमित निर्देशक मुकुन्द घिमिरेलाई नै केन्द्रीय राजस्व विभागलाई जानकारी गराइसकेको सूचना दिएको थियो, ती अधिकारीले भने, ‘उनीहरुले राजस्वको काम पनि सहजै स्वीकृति दिन्छन् जस्तो हामीलाई लागेको छ।’
रक्सौलमा रोकिएका ३ सयभन्दा बढी बुलेट नेपाल ल्याउन सकेमा खाना पकाउने ग्यासको समस्या केही समयका लागि भए पनि हल हुने भन्दै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आयल निगमलाई निर्देशन दिएका थिए।
यही निर्देशन अनुसार निगमका निमित निर्देशक मुकुन्दप्रसाद घिमिरे नयाँ दिल्ली गएर आइओसीका नेपाल हेर्ने मार्केटिङ तथा कमर्सियल महाप्रवन्धक एसएस बोससँग छलफल गरेर सहमति जुटाएका थिए।
यो सहमतिपछि ती बुलेटका कागजपत्र बरौनी र हल्दिया लगेर परिवर्तन गरिएको थियो।
मधेश आन्दोलनका कारण रक्सौल वरपर झन्डै तीन सय बुलेट (चार लाख सिलिन्डर) ग्यास रोकिएका छन्। यो रोकिएका बुलेटको डेमरेज चार्ज (ढुवानी लगायतका अतिरिक्त शुल्क) मात्रै १८ करोड भन्दा बढी भइसकेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
संघका अनुसार रक्सौलको भन्सारमा कागजपत्र पेश भएका १ सय ५३ बुलेट र कागजपत्र पेश हुन बाँकी १ सय ९ बुलेट छन् । रक्सौल भन्दा १ सय १५ किलोमिटर पर ६५ वटा बुलेट रोकिएका छन्।
ग्यास बोकेका बुलेट रोकिँदा अन्य नाकाबाट ग्यास ल्याउन सकिएको छैन। ग्यास बोक्ने चार सय बुलेट सबै भारतीय हुन् र तीन सय रक्सौलमा रोकिएकोले अन्य नाकाबाट ग्यास ल्याउन पनि सकिएको छैन।pahilopost
Post a Comment