म्याच फिक्सिङको आरोप पक्राउ खेलाडी तथा प्रशिक्षक विशेष अदालतमा - दीपेन्द्र विष्ट, काठमाडौं फाइल तस्बिर : कान्तिपुर कार्तिक १०, २०७२- म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक
प्रशिक्षकलाई प्रहरीले म्याद थपका लागि मंगलबार विशेष अदालतमा उपस्थित गराएको छ । अदालत परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय टोलीका निलम्बित कप्तान सागर थापाले आफूहरु निर्दोष भएको दाबी गरेका छन् । उनले समय आएपछि सबैकुरा छर्लङ्ग हुने जनाउँदै भने, 'हामीले देशका लागि १५/२० वर्ष खेल्यौं । हामीलाई अहिले तपाईहरुको साथ चाहिएको छ । हामी निर्दोष छौं ।’ उनले पत्रकारहरुप्रति असन्तुष्टि जनाउादै भने, 'जुनबेला हामीलाई पत्रकारहरुको साथ चाहिन्थ्यो । उहाँहरुले पहिले नै हामीलाई दोषी करार गरिसक्नु भएको छ । उहाँहरुले सजायँ पनि दिसक्नुभएको छ । जुन दिन थाहा पाउँछौँ, त्यो दिन आएर हामी अवश्य बोल्नेछौं ।' उपकप्तान सन्दीप राईले अनुसन्धानका क्रममा रहेका र सबै कुरा अनुसन्धानपछि मात्र बोल्ने बताए । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई म्याद थपमा लागि अदालतमा पेश गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) विश्वराज पोखरेलले बताए । उनीहरुलाई राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएको छ । पक्राउ पर्नेमा प्रशिक्षक अन्जन केसी तथा कप्तान थापासँगै उपकप्तान सन्दीप राई, रितेश थापा र विकाससिंह क्षेत्री छन् ।ekantipur
Post a Comment