चीनबाट अनुदानको इन्धन ल्याउने अन्तिम तयारी : मन्त्री पुन
काठमाडौँ : वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनले चीनबाट अनुदान प्राप्त इन्धन ल्याउने आवश्यक तयारी भइरहेको बताएका छन् ।
आफ्नै मन्त्रालयमा आइतबार नेपाल आयल निगमका पदाधिकारीसँगको बैठकका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पुनले एक–दुई दिनभित्रै इन्धन प्राप्त गर्न तयारी भइरहेको जानकारी दिए।
'अनुदानमा प्राप्त इन्धनलाई कसरी ढुवानी गरी राजधानी ल्याउने भन्नेबारे विस्तृत कागजात बनाएर यो बैठक बसिरहेका छौँ । यसमा राष्ट्रिय खपतको निश्चित प्रतिशत उहाँहरुसँग व्यापारिक तहमा खरीद गर्न कुराकानी गर्नका निम्ति हामीले एउटा टोली छिट्टै त्यता पठाउने प्रक्रियामा छौँ', उनले भने, 'त्यो अहिले तत्कालको समस्या समाधानका निम्ति सहायक हुन्छ र दीर्घकालीन रुपमा कसरी तयारी गर्ने भन्नेबारे पनि छलफल गरिरहेका छौँ ।'
मन्त्री पुनले आपूर्ति व्यवस्थालाई सहज बनाउन विभिन्न चरणका कूटनीतिक प्रयास भइरहेको जानकारी दिँदै हालै परराष्ट्रमन्त्रीको भारत भ्रमणका बेला भएको प्रतिबद्धताअनुरुप अवरुद्ध नाकाबाट रुट परिवर्तन गरेर ल्याउनेबारे पनि तयारी भइरहेको जानकारी दिए ।
आयल निगम र भारतीय आयल निगमबीच छलफल अघि बढाउन पनि निगमका पदाधिकारीलाई आग्रह गरिएको उनले जानकारी दिए ।
मन्त्री पुनले अहिलेको आवश्यकताअनुरुप जुनसुकै तरिकाले जहाँसुकैबाट, जुनसुकै माध्यमको प्रयोग गरेर भए पनि छिमेकी देश वा अन्य देशबाट इन्धन ल्याउनेबारे परामर्श भइरहेको पनि बताए । रासस
Post a Comment