केपी ओलीको ‘दाहिने हात' भन्दै करोड–करोड उम्काए : गोल्छा

खिलानाथ ढकाल विराटनगर, कात्तिक १०
नेकपा एमालेले सभासद राज्यलक्ष्मी गोल्छालाई पदबाट राजीनामा दिन निर्देशन दिएसँगै उनीसँग पार्टीका विभिन्न नेताले मोटो रकम लिने गरेको सार्वजनिक भइरहेको छ। सभासद गोल्छा आफैंले एमालेका नाममा विभिन्न शीर्षकमा करोडौं बुझाएको खुलासा गरेकी छन्।

सोमबार यहाँ पत्रकार सम्मेलन गरी गोल्छाले पार्टीका नाममा आफूले धेरै खर्च गरिसकेको बताइन्। पार्टी राजनीतिमा इच्छा नहुँदा नहुँदै पर्शुराम बस्नेतलगायत मोरङका केही एमाले नेता–कार्यकर्ताले सभासद बन्न प्रस्ताव ल्याएपछि स्वीकार गरेको उनले खुलाएकी छन्।

उनका अनुसार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको ‘दाहिने हात' भन्दै हिँड्ने युवा संघका उपाध्यक्ष गोविन्द थापालाई पर्शुरामले गोल्छासँग परिचय गराएका थिए।

‘मलाई पर्शुरामजी लगायत जिल्लाका केही साथीले गोल्छा परिवारको मान्छे भन्दै सिफारिस गर्नुभएको हो,' थापाले मंगलबार सेतोपाटीसँग भने, ‘हो, मैले केपी कमरेड र विद्या भण्डारीसँग उहाँको भेट गराएकै हुँ।'

उनै थापाले केपीको नातेदार र नजिकको भन्दै संविधानसभाको दोस्रो निर्वाचनताका आफूसँग बारम्बार पैसा उठाएको गोल्छाले बताएकी छन्। ‘युवा संघले निर्माण गरेको भूकम्प सहयोग समिति संयोजक बनेर पनि थापाले मसँग मोटो रकम असुल्नुभयो,' उनले भनिन्, ‘चुनावको बेला त हिसाबै नगरौं कति भयो भयो।'

‘भूकम्पको बेला नै ८/९ करोड त गोविन्द थापाको नामबाट मात्र गएको मसँग प्रमाण छ,' गोल्छाले भनिन्।

‘पार्टीलाई सहयोग होस्' भनेर आफूले चुपचाप दिएको तर अहिले उनै थापाको षडयन्त्रमा आफू परेको उनले बताइन्। गोल्छाका अनुसार थापाले अहिले पनि धम्की दिइरहेका छन्। ‘तपाईं लास्टमा म कहाँ रुँदैरुँदै आउनुपर्ने परिस्थिति बन्नेछ,' थापालाई उद्धृत गर्दै गोल्छाले भनिन्।

युवा संघ उपाध्यक्ष थापाले भूकम्पको बेला आफू संयोजकत्वको समितिले महेन्द्र गोल्छा मेमोरियल ट्रस्टबाट सहयोग लिएको स्वीकारेका छन्। तर उनले धम्क्याएको वा सहयोग भन्दै पैसा लिएको आरोप अस्वीकार गरे।

‘मैले सहयोग रकम लिएको छैन, धम्क्याएको पनि छैन,' उनले भने, ‘मैले भेटाइदिएको चाहिँ हुँ, भूकम्पको बखत महेन्द्र गोल्छा मेमोरियल ट्रस्टबाट सहयोग भएको हो, त्यो सबै रेकर्ड मसँग छ।'

विद्यार्थी राजनीति हुँदै युवा संघको केन्द्रीय सदस्य र अहिले उपाध्यक्ष थापाले आफूले गल्ती गरेको महसुस भइरहेको बताए। ‘मैले त राम्रो मान्छे भन्ठानेको थिएँ, पर्शुरामजी लगायत पार्टीका साथीहरूले पनि भनेकाले मैले भेट गराएँ,' उनले भने, ‘अहिले मलाई ग्लानी भइरहेको छ।'

गोल्छाले राजीनामा नदिए हटाउने तयारी एमालेले गरेको छ। पार्टी स्थायी समितिले साताअघि उनलाई पदबाट राजीनामा गर्न निर्देशन दिएको थियो।


‘एक–एक हिसाब बुझाउनुपर्छ'

एमाले स्थानीय नेतृत्वले नचाहँदा नचाहँदै गोल्छालाई केन्द्रबाट सभासद बनाइएको थियो। अहिले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, विद्या भण्डारीदेखि थापा र बस्नेत, विनोद ढकाल, ऋषि पोखरेललगायतले पैसा लिएको पोल गोल्छाले खोलेकी छन्।

एमाले स्थानीय नेतृत्वले पार्टीलाई आधिकारिक रुपमा सहयोग प्राप्त भएको जानकारी नभएको बताएको छ। साथै उसले पार्टी वा नेताको नाममा गोल्छाबाट लिइएको रकम कि पार्टीलाई फिर्ता हुनुपर्ने कि गोल्छालाई बुझाउनुपर्ने तर्क अघि सारेको छ।

‘नेता र पार्टी भजाएर खानेलाई कारबाही हुनुपर्छ,' एमाले मोरङ अध्यक्ष महेश रेग्मीले भने, ‘जसजसले लिएका छन् त्यो पैसा कि पार्टीको कोषमा जम्मा हुनुपर्छ कि उनै (गोल्छा) लाई फिर्ता गराउनुपर्छ।'

विचार, सिद्धान्त र अनुशासनमा बस्ने नेता कार्यकर्ताको इमानदारीमाथि यो घटनाले गम्भीर प्रहार भएको भन्दै रेग्मीले पार्टीको विचार र सिद्धान्तलाई भन्दा पैसालाई प्राथमिकतामा राखेर कम्युनिष्ट राजनीति गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। ‘म पार्टीको सिद्धान्त र विचारलाई सधैं प्राथमिकतामा राखेर लडिरहेको छु, मैले पहिलेदेखि नै गोल्छालाई सभासद् बनाउन नहुने भनेर संघर्ष गरेको हो,' रेग्मीले भने।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget