काठमाडौं, १२ कात्तिक । नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा धर्नामा बसेर नाकाबन्दी लगाइ जनालाई सास्ती दिइरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सरकारवीच आज पनि वार्ता हुँदैछ ।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज हुने वार्तामा मधेसी मोर्चाले अघि सारेका मागका विषयमा छलफल हुनेछ ।
सरकारले मोर्चाका मागलाई आयोग बनाएर क्रमशः पूरा गर्दै जानुपर्ने प्रस्ताव राख्दै आएको छ । तर मधेसी मोर्चाले सरकारको प्रस्तावलाई ठाडै अस्वीकार गर्दै आएको छ ।
मधेसी मोर्चाले तराईका सबै जिल्लाहरू समेटेर दुई प्रदेश बनाउनु पर्ने, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाइनु पर्ने, नागरिकतालगायतका माग राखेर आन्दोलन गर्दै आएको छ । मधेसी मोर्चाका केही माग राष्ट्रियता विरोधी रहेको भन्दै आलोचना पनि हुने गरेको छ ।
मधेसी मोर्चाको मागका विषयमा सरकार र प्रमुख विपक्षी दल नेपाली कांग्रेस पूरा गर्ने विषयमा सकारात्मक छन् । तर नाकाबन्दीको कार्यक्रम फिर्ता लिन गरेको सरकार र कांग्रेसलगायतकाको आग्रहलाई मधेसी मोर्चाले मान्ने गरेको छैन ।
सरकारले वार्ताको वातावरण बनाउन विभिन्न निर्णय गरे पनि मधेसी मोर्चाले वार्ताका लागि आवश्यक पर्ने वातावरण भने नबनाएको आरोप छ ।
वार्ताको वातावरण बनाउन मधेसी मोर्चाले पनि नाकाबन्दीसहितका आफ्ना कार्यक्रममा हेरफेर गर्नुपर्ने दवाव छ । वार्ता दिउँसो एक बजे हुने कार्यक्रम छ ।
Post a Comment