प्रधानमन्त्री ओली भन्छन्, ‘धैर्य गरेर बस्नुस् नाकाबन्दी खोल्दैछु’

काठमाडौं, ५ कात्तिक । प्रधानमन्त्री केपी
ओलीले संविधानसभाबाट संविधान जारी भएसँगै
करिब सात दशकदेखिको जनताको राजनीतिक र
सामाजिक अधिकार प्राप्तिको चाहना र
आकांक्षालाई संस्थागत गरेको बताउनुभएको छ ।
विजयादशमीको अवसरमा आज दिनुभएको
शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले नेपाली
जनताको लामो र अथक संघर्षको परिणामस्वरुप
जननिर्वाचित संविधानसभाबाट गएको असोज ३
गते नेपालको संविधान जारी भएको उल्लेख
गर्नुभएको छ ।
मुलुक विश्वमै प्राकृतिक र जैविक विविधता र अन्य
सम्पदाको दृष्टिले अनुपम रहेको बताउँदै सन्देशमा
प्रधानमन्त्री ओलीले यिनै प्राकृतिक सम्पदाहरुको
भरपूर सदुपयोग गरेर अब मुलुकलाई आर्थिकरुपमा
समृद्धिको दिशामा अघि बढाउनु आवश्यक रहेको
बताउनुभएको छ ।
संविधान जारी हुनुअघिदेखि नै देशका केही
भागमा असन्तुष्टिहरू देखिएको उल्लेख गर्दै उहाँले
संविधान जारी भएसँगै ती असन्तुष्टिहरू सकिएको
उल्लेख गर्नुभएको छ ।
मधेस केन्द्रित दलहरूका जायज मागलाई सम्बोधन
गर्न सरकारका तर्फबाट आफूले पत्राचारसमेत
गरिसकेको उल्लेख गर्दै उहाँले सरकारले वार्ताका
लागि गठन गरेको समितिले आफ्नो कार्य प्रारम्भ
गरिसकेको पनि जानकारी दिनुभएको छ ।
‘संविधान निरन्तर गतिशीलताको एउटा दस्तावेज
भएकाले त्यसमा केही कमीकमजोरी छन् भने पनि
सार्थक वार्ता र संवादका माध्यमबाट त्यसलाई
सच्याउन सकिने भएकाले आन्दोलनरत मधेस केन्द्रित
दलहरूलाई बडादसैँको यस अवसरमा फेरि एकपटक
आन्दोलन रोकी वार्तामा आउन आह्वान गर्दछु’,
ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ ।
केही समयदेखि सीमा क्षेत्रमा भएका अवरोधका
कारण इन्धनलगायतका सामान आपूर्ति
व्यवस्थामा असहजता उत्पन्न भएकाले चाँडपर्वको
बेलामा समेत आम नेपालीले कष्ट र अप्ठ्याराहरू
व्योहोर्नु परिरहेको बताउँदै ओलीले आपूर्ति
व्यवस्थालाई सहज बनाउन सरकारले तदारुकताका
साथ पहल थालिसकेको उल्लेख गर्नुभएको छ ।
चाडपर्वका बेला नेपाली जनताले भोग्नुपरेको
अनुचित पीडाप्रति आफू अत्यन्तै संवेदनशील र दुखित
भएको बताउँदै प्रधानमन्त्री ओलीले यस्तो जटिल र
कठिन परिस्थितिमा आम देशवासीले देखाउनु
भएको संयम, धैर्यता र राष्ट्रिय एकताको
भावनाको सम्मान गर्ने उल्लेख गर्नुभयो ।
‘हाम्रो मुलुक बहुधार्मिक, बहुभाषिक र
बहुसांस्कृतिक मुलुक हो । हाम्रा रीतिरिवाज,
संस्कृति र सुन्दर परम्पराहरूले आम नेपालीलाई
शदियौंदेखि एक आपसमा जोड्दै आएको छ । यो
कुरा हाम्रा लागि गौरबको विषय पनि हो ।
गौरवपूर्ण यस्तो इतिहासलाई निरन्तरता दिँदै
मुलुकलाई एकताबद्ध र अखण्ड राख्न हामी सबै
लागिपरौँ भन्ने आह्वान पनि गर्न चाहन्छु’, सन्देशमा
भनिएको छ ।
प्रधानमन्त्रीले सन्देशमा बडादसैँ २०७२ को
उपलक्ष्यमा सरकार र आफ्नो व्यक्तिगत तर्फबाट
स्वदेश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीमा
हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget