काठमाडौं— संसदमा बुधबार साँझ ५ बजे राष्ट्रपति निर्वाचनको मत परिणामको प्रतीक्षा भइरहेको थियो। संसद बैठकको जनाउ दिन घन्टी बज्यो। त्यति बेलासम्म सबै संसद सदस्य तथा सञ्चारकर्मीहरु आ–आफ्नो स्थानमा बसिसकेका थिए। संघीय गणतान्त्रिक नेपालकाे पहिलाे राष्ट्रपति निर्वाचित भएकाे घाेषणा सुन्न फाेटाे तथा भिडयाे पत्रकारहरूकाे भिड थियो।
सभामुख ओनसरी घर्ती मगरले केही हडबढाएको स्वरमा संसदको बैठक सुरु गरिन्। 'संसदका महासचिव मनहोरप्रसाद भट्टराई मतदान अधिकृत भएको राष्ट्रपति निर्वाचन समितिले मत परिणाम दिइसकेको छ', उनले भनिन्, 'कूल संख्या ९९७, खसेको मत, कुलबहादुर गुरुङ २१४ र विद्यादेवी भण्डारी २२७।'
उनले राष्ट्रपति निर्वाचित विद्यादेवी भण्डारीको प्राप्त मत एक सय कम पढेकी थिइन्।
भण्डारीको विजयमा ढुक्क देखिएका सांसदहरु सभामुखले 'विद्यादेवी भण्डारीको प्राप्त मत २२७' सुनेर चकित खाए। पूरै हल छक्क परेकाे मुद्रामा देखियो। केही पट्याक पुटुक ताली बजे पनि अधिकांश सांसद चुप रहे। राष्ट्रपतिमा निश्चित विजेता रहेकी विद्यादेवी भण्डारी समेत अाफूले प्राप्त गरेकाे मत १०० कम सुनेर प्रतिक्रियाबिहीन भइन्। उनको अनुहार भावहीन देखियो। मत परिणामप्रति उनको शारीरिक हाउभाउबाट कुनै प्रतिक्रिया अाएन।
संसद बैठकको अनपेक्षित प्रतिक्रिया देख्ना साथ सभामुख छक्क परिन्। याे दृश्यपछि उनी केही 'नर्भस' देखिइन्। नजिकै रहेका संसदका महासचिव तथा निर्वाचन अधिकृत मनमोहर भट्टराईले 'विद्या भण्डारीको मतसंख्या २ सय होइन ३ सय २७ हो' भनेर सम्झाए।
सभामुखले लगत्तै परिणाम सुनाइन्।
पहिलो पटक गलत मतपरिणाम सुनाएकी उनले दोस्रो पटक मत परिणाम सुनाउँदा क्षमायाचना नगरी घोषणा गरिन्, 'कूल संख्या ९९७, खसेको मत, कुलबहादुर गुरुङ २१४ र विद्यादेवी भण्डारी ३२७। नेपालको संविधानअनुसार विद्यादेवी भण्डारी नेपालको राष्ट्रपति निर्वाचित हुनु भएको छ।'
हलमा तालीको गड्गडाहट हुटिङ सहितको हाँसो एकै साथ सुनियो।nagariknews
Post a Comment