'इन्धन संकटबाट मुक्त गर्न सघाउँछौं'

२०७२ कार्तिक ११ बुधवार
काठमाडौं: उत्तरी छिमेकी चीनले नेपाललाई इन्धन संकटबाट मुक्त गराउने आश्वासन दिएको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुवा चुन्याङ्ले नेपाल सरकारले अनुरोध गरेबमोजिम इन्धन सहायता उपलब्ध गराएर इन्धन संकटबाट नेपाललाई मुक्त गराउन चीन तयार रहेको बताएकी हुन्।


'नेपाललाई इन्धन उपलब्ध गराउने विषयमा अहिले हामी गहिरो संवादमा छौं', चिनियाँ विदेश मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले भनिन्।चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच नेपाललाई इन्धन उपलब्ध गराउने विषयमा छलफलमा बसेका छन्।

चीनसँग प्रारम्भिक वार्ता
इन्धन संकटबारे नेपाल र चीनका उच्च सरकारी अधिकारीबीच मंगलबार पहिलो चरणको वार्ता भएको छ। सोमबार बेइजिङ पुगेको आठ सदस्यीय नेपाली टोली र चिनियाँ विदेश मन्त्रालय एवं वाणिज्य मन्त्रालयका अधिकारीबीच एक घन्टा प्रारम्भिक छलफल भएको हो।

दुई देशका वार्ताटोलीबीच अल्पकालीन र दीर्घकालीन रूपमा चीनबाट नेपालतर्फ पेट्रोल र ग्यास निर्यात गर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ।
बैठकमा चिनियाँ अधिकारीले नेपालसँग दीर्घकालीन इन्धन सम्झौताका लागि आफ्ना आन्तरिक प्रक्रिया पूरा गर्न समय लाग्ने बताएका थिए।

वार्तामा नेपालको प्रस्तावअनुसार एक हजार मेट्रिक टन इन्धन अनुदानमा उपलब्ध गराएकोमा नेपाली पक्षले धन्यवाद दिएको थियो।चीनसँग दीर्घकालीन इन्धन सम्झौता गर्ने या प्रारम्भिक समझदारी गर्ने भन्ने विषयमा केही दिनमा टुंगो लाग्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए।

टोलीले चिनियाँ पेट्रोलियम कर्पोरेसनका अधिकारी पनि अलग्गै भेट्ने कार्यक्रम छ। वार्तामा नेपालबाट परराष्ट्र, अर्थ, वाणिज्य मन्त्रालय, नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभागका अधिकारी सहभागी थिए।

वार्तापछि नेपाली टोलीले केरुङतर्फ इन्धन आइसकेकाले काठमाडौंबाट सक्दो चाँडो ट्यांकर पठाउन आग्रह गरेको थियो। आयल निगमले केरुङतर्फ ट्यांकर पठाउन प्रक्रिया थालिएको परराष्ट्रलाई जानकारी गराएको छ। टोली बेइजिङपछि चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासा पुग्नेछ।

नेपाल सरकारकै आग्रहअनुसार चीनले एक हजार मेट्रिक टन इन्धन अनुदान सहायतास्वरूप उपलब्ध गराउने सहमति यसअघि नै भइसकेको छ। सोही सहमतिअनुसार केही दिनभित्रै उक्त परिमाणको इन्धन चीनको केरुङबाट रसुवागढी सीमानाका हुँदै नेपाल भित्रिनेछ।annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget