काठमाण्डु, ८ कात्तिक– एकीृकत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीलाई राष्ट्रपति बनाउन चाहेको भन्ने हल्ला निराधार भएको बताएका छन् ।
केही सञ्चार माध्यममा काँग्रेस सभापति सुशील कोइरालाले खिलराजको नाम अघि सारेको र प्रचण्डले समेत त्यसमा समर्थन जनाएको समाचार आएको थियो ।
दक्षिण छिमेकी भारतले समेत राष्ट्रिय सहमतिका आधारमा खिलराजलाई राष्ट्रपति बनाउन लविङ गरिरहेको चर्चा चलेको छ ।
‘मैले खिलराजलाई राष्ट्रपति बनाउन समर्थन जनाएको भन्ने हल्ला निराधार हो’, प्रचण्डको भनाइ उद्धृत गर्दै स्वकीय सचिव एवं एमाओवादी केन्द्रीय सदस्य चुडामणि खड्काले काठमाण्डु टुडेसँग भने, ‘यो वाहियात हल्ला हो, यसमा कुनै सत्यता छैन ।’
राष्ट्रपतिमा खिलराजको नाम चर्चामा ल्याइएपछि प्रचण्डलाई पार्टीभित्र समेत हल्लीखल्ली भएको छ ।
सरकार नेतृत्वकर्ता एमालेसहित सत्ता गठबन्धनका नेताले त्यसबारे स्पष्ट हुन प्रचण्डलाई टेलिफोन गरेको बुझिएको छ । जवाफमा उनले सबैलाई समाचारमा आएको विषय सत्य नभएको जवाफ दिएका छन् ।
केही दिनअघि सिंहदरबारमा प्रधानमन्त्री केपी ओलीसमक्ष प्रचण्डले राष्ट्रपतिमा एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रपति प्रस्ताव गरेका थिए ।
एमाओवादीका एक नेताले पनि खिलराज कुनै हालतमा राष्ट्रपति हुनै नसक्ने बताए ।
तत्कालिन मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसमेत दोश्रो संविधानसभा निर्वाचनमा एमाओवादी हराउन षड्यन्त्रमा सामेल भएकाले उनलाई राष्ट्रपति स्वीकार गर्न नसकिने उनको भनाइ छ ।
एमाओवादीले निर्वाचन परिणामपछि तत्कालिन प्रधानन्यायाधीश रेग्मीलाई चुनावी मन्त्रिपरिषदको अध्यक्ष बनाउनु राजनीतिक भुल भएको निष्कर्ष निकालेको थियो ।
Post a Comment