जापानमा थप नेपाली कामदार जान पाउने

काठमाडौँ, फागुन १२
जापानमा थप नेपाली कामदार पठाउने सम्बन्धमा नेपालले राखेको प्रस्तावप्रति जापानी उच्चअधिकारीहरु सकारात्मक देखिएकाले आगामी दिनमा जापानमा थप नेपाली युवाले काम पाउने विश्वास बढेको छ ।

श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले हालै जापान भ्रमणका क्रममा समकक्षीसँगको भेटवार्तामा जापानमा नेपाली कामदार बढाउन गरेको आग्रहलाई त्यहाँका उच्च अधिकारीहरुले सकारात्मक प्रतिक्रिया दिएको श्रम तथा रोजगार मन्त्रालयले आज जारी विज्ञप्तिमा जनाएको छ ।

राज्यमन्त्री गुरुङले सन् २०२० मा टोकियोमा आयोजना गर्न लागेको ओलम्पिक तथा जापानमा सन् २०११ मा गएको भूकम्पबाट भएको क्षतिको पुनःनिर्माणका लागि थप श्रमिकहरु विभिन्न मुलुकबाट ल्याउन लागेको हुँदा नेपाली युवालाई विशेष प्राथमिकता दिन अनुरोध गरेका थिए।

उक्त अवसरमा जापानका स्वास्थ्य, श्रम तथा कल्याण मन्त्री यासुहिसा सिओजाकीले नेपाल र जापानको सम्बन्ध सुमधुर भएकाले जापानमा थप श्रमिकहरु ल्याउन सकिने विषयमा आफू सकारात्मक रहेको धारणा व्यक्त गरेका थिए।

यही फागुन ६ गते जापान इन्टरनेसनल ट्रेनिङ कोपरेशन अगनाइजेसन (जेआइटिसिओ) का अध्यक्ष, उपाध्यक्षलगायतका टोलीसँगको छलफलमा नेपालले जापान आउने प्रशिक्षार्थीको सङ्ख्या बढाउन अनुरोध गरेको थियो भने जापानी पक्षले उनीहरुले पाउने पारिश्रमिक पुनरावलोकन हुनसक्ने र प्रशिक्षार्थीको बसाईलाई वृद्धि गरी पाँच वर्ष बनाउन लागिएको जानकारी पनि दिएका थिए।

राज्यमन्त्री गुरुङको नेतृत्वमा सचिव भोलाप्रसाद सिवाकोटीसहितको टोली यही फागुन ५ गते जापान प्रस्थान गरेको थियो । रासस


Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget