२०७१ फागुन १६ गते
काठमाडौं, १५ फागुन । एमाओवादी नेतृत्वको तीस दलीय गठबन्धनले शनिबार आयोजना गरेको शक्ति प्रदर्शनमा झडप हुने स्थिति देखिएको छ ।
विपक्षी दलहरुको मोर्चाले लाखौं कार्यकर्ता राजधानीमा उतार्ने लक्ष्य लिएको छ भने जुलुस अराजक भए हस्तक्षेप हुने गृह मन्त्रालयले चेतावनी दिइसकेको छ ।
यो शक्ति प्रदर्शनलाई आफ्नो प्रतिष्ठाका रुपमा लिएको एमाओवादीले युवा संगठन वाइसीएललाई ब्युंताएर राजधानीको सडक तताउने तयारीमा छ । केही दिन अघि नै वाइसीएलले राजधानीमा त्यसको ‘रिहर्सल’ देखाइसकेको छ । वाइसीएलका कार्यकर्ता विशेष पोशाकमा राजधानीका सडकमा तैनाथ हुनेछन् ।
स्वयं सेवकका रुपमा वाइसीएललाई परिचालनको जिम्मा एमाओवादीले आफैले राखेको एमाओवादी गठबन्धनका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । स्वयं सेवकहरूले र्याली र प्रदर्शनलाई व्यवस्थित गर्ने छन् । उनीहरूले सभामा घुसपैठ हुन नदिन विशेष ध्यान दिने प्रवक्ता सिंहले बताउनुभयो । गठबन्धनले राजधानीका साथै उपत्यका बाहिरबाट पनि कार्यकर्ता ल्याउनेछ ।
उहाँका अनुसार बिहान एघार बजेदेखि जुलुस र बिरोध र्यालीहरू खुल्लामञ्चतर्फ जान सुरू गर्नेछन् । खुल्लामञ्चमा सबै जुलुसहरू जम्मा भएपछि एक बजेदेखि सभा सुरू हुने सिंहले जानकारी दिनुभयो ।
राजधानीमा अप्रिय घटना नहोस् भनेर कार्यकर्तालाई सकेसम्म शनिबार नै आ–आफ्नो घर पठाउने सिंहले बताउनुभयो ।
उहाँले करिब दुई लाख कार्यकर्ता सडकमा उतार्ने योजना रहेको सुनाउनु भयो ।
‘फागुन– १६ गते (शनिबार) को सम्पूर्ण तयारी पूरा भएको छ’, सिंहले भन्नुभयो, र्याली, मञ्च व्यवस्थापन, झाँकी, स्वयं सेवक परिचालन लगायतका सबै तयारी भएको छ ।
उहाँले पहिलो चरणको अन्तिम दिनको कार्यक्रम रहेकाले उल्लेख्य कार्यकर्तालाई सहभागी गराइने बताउनुभयो । यो शक्ति प्रदर्शनमा मधेस केन्द्रित दलहरूमा धेरै उत्साह नरहेको स्रोतको भनाइ छ ।
कहाँ- कहाँबाट जुलुस ?
बिरोध ¥यालीलाई एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले माइतीघर मण्डलाबाट नेतृत्व गर्ने कार्यक्रम तय भएको छ । एमाओवादीले माइतीघर मण्डलाका साथै चाबहिल, बालाजु, कालीमाटी र लगनखेलबाट जुलुस तथा बिरोध र्याली निकाल्ने छ । बिरोध कार्यक्रमको प्रमुख शक्ति एमाओवादी हो ।
संघीय समाजवादी पार्टीले स्वयम्भु, डल्लु पुल र बसन्तपुरबाट जुलुस र र्याली निकाल्ने छ भने मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले त्रिपुरेश्वरबाट जुलुस र र्याली निकाल्ने जनाइएको छ ।
साना दलहरूलाई भने भृकुटीमण्डप र भद्रकालीबाट र्याली निकाल्न भनिएको छ ।
पद्मरत्न तुलाधर संयोजक रहेको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले सुन्धाराबाट र्याली निकाल्ने छ ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.