भट्टराईसँग भेट होला भनेर सोचेकी पनि थिइनँ : करिस्मा (अन्तर्वार्ता)

भट्टराईसँग भेट होला भनेर सोचेकी पनि थिइनँ : करिस्मा (अन्तर्वार्ता)
लामो नेपाली रजतपटमा एकछत्र राज गरेकी अभिनेत्री करिस्मा मानन्धर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति प्रवेश गर्दा ठूलै तरङ्ग पैदा भयो। करिस्मा र नयाँ शक्तिको समग्र गतिविधिलाई फिल्मकै दर्जा दिँदै सामाजिक सञ्जालमा खिल्ली उडाउने काम भयो। तीन दशकभन्दा बढी कलाकारितामा बिताएर सम्मानित स्थान हासिल गरेकी करिस्माको राजनीतिक भविष्य कस्तो होला? यही सेरोफेरोमा रहेर नागरिकन्युजका लागि स्मृति ढुंगानाले गरेको अन्तर्वार्ताः


तपाइँको फिल्म फागु प्रदर्शनको तयारीमा छ, फिल्म प्रवर्द्धन गर्न छाडेर एक्कासि राजनीतितिर लाग्नु भयो नि?
राजनीति र फिल्म एक अर्कासँग मेल खाँदा रहेनछन्। दुवैको लागि समय मिलाइरहेकी छु । तराईको कथावस्तुमा आधारित 'फागु' रिलिजको तयारीमा छ। फिल्म निर्माताको हैसियतले फिल्म प्रवद्र्धनको लागि विभिन्न कार्यक्रममा सहभागी भइरहेकै छु। राजनीति प्रवेशको सही समय आएको हुँदा म त्यतातिर लागेकी हुँ। दुवैलाई मिलाएर लगिरहेकी छु ।

कलाकारितामा यति लामो समयको अनुभव भइसकेको र निकै सम्मानित स्थान पाइसकेपछि पनि किन राजनीतितिर जान आवश्यक पर्‍यो?
पछिल्लो समय म फिल्म करियरप्रति सन्तुष्ट छैन। एक किसिमको वितृष्णा उत्पन्न भएको छ। त्यसैले दुई वर्षदेखि फिल्ममा आएका भूमिका समेत नगरी यसै बसिरहेको छु। शुभचिन्तकको लागि केही म्युजिक भिडियो भने गरेँ। फागु फिल्मको टिमसँग आवद्ध भएपछि फेरि फिल्ममा देखिएको हुँ। नेपालमा राजनैतिक अस्थिरताका कारण सबै निरास छन्। त्यसैले अरुबाट आशा गर्नुभन्दा आफैँ राजनीतितिर लागेकी हुँ।

फिल्मतिर तपाइँको उपस्थिति पातलो बन्दै गएको र आफ्नो व्यापार पनि केही नभएकाले फुर्सदको समय उपयोग गर्न नयाँ शक्तितिर लाग्नुभएको हो?
ठ्याक्कै त्यस्तै भन्न नमिल्ला। राजनीतिले सबैतिर असर गरिरहेको छ। हामीमा नेतालाई गाली गर्ने प्रवृत्ति हाबी छ। म साँच्चै डा.भट्टराईको नयाँ शक्तिबाट प्रभावित छु। उहाँको नेतृत्वमा सहभागी भएर जनताको सेवा गर्न पाउनु ठूलो कुरो हो भन्ने ठानेकी छु। फेरि हामीले सबै नेताहरुलाई हेरिसकेका छौं। एकपटक आफँैले राजनीतिको केन्द्रमै रहेर काम गर्न इच्छा लागेर आएकी हुँ।

बाबुराम भट्टराई आफैँले तपाइँलाई फोन गरेर, भेटेर अफर गरेका हुन् कि तपाइँ आफैँ म पनि आउँछु भनेर जानुभएको हो?
डा.भट्टराई र उहाँको निकट व्यक्तिहरुसँग करिव एक वर्षदेखि नियमित सम्पर्कमा थिएँ। राजनीतिमा लाग्न उहाँले नै मलाई प्रोत्साहन गर्नु भएको हो। म उहाँको सोचबाट प्रभावित भएकाले निर्णय गर्न अझ ढिला पो भयो कि जस्तो लागेको छ। नयाँ शक्तिका एजेन्डालाई लिएर पछिल्लो समय करिव तीन पटकजति भेटघाट भयो। यसलाई अफर वा पछ्याएर भन्दा पनि यस्तै भेटघाट र कुराकानीको उपजको रुपमा म नयाँ शक्तितिर लागेको भनेर बुझ्दा सही हुन्छ होला।

सोह्र हजार मान्छेको ज्यान जानेगरी भएको जनयुद्धको मुख्य योजनाकार बाबुराम भट्टराईलाई पछ्याउँदै नेता बन्छु भन्ने निर्णयमा पुग्न तपाइँलाई कति समय लाग्यो ?
पछिल्लो चुनावपछि देशमा उत्पन्न स्थितिलाई लिएर निराश भएको थिएँ। युवा जुटेर केही गर्ने सोच थियो । करिव १ वर्षको अन्योलपछि सही ठाँउ र सही सोचाई आवश्यक छ भन्ने लागेर नयाँ शक्ति प्रवेश गरेकी हुँ। त्यही एक वर्ष राजनीति भनौं वा नयाँ शक्ति प्रवेशका लागि भनौं मैले चिन्तन मनन्मा बिताए। भटराईको टोलीमा बसेर काम गरौंला भनेर कहिलै सोचेकी थिइनँ। जीवनमा भेटघाट होला भन्ने पनि ठानेकी थिइनँ। अहिले मलाई उहाँको नेतृत्वमा जनताको सेवा गर्न सक्छु भन्ने लागेको छ ।

भिडियो हेर्नुस्



नेता बनेर तपाइँले गर्न चाहेका योजना वा सपना के छन्?
पछिल्लो समय मैले गर्दै आएको काम अर्थात् कलाकारिताप्रति रुचि कम हुँदै गएको थियो। म सन्तुष्ट थिइनँ। फिल्म निर्देशनमा हात हालौं कि भनेर सोच्दै गर्दा फागु टिमसँग आवद्ध भएँ। अब समाजका लागि केही गर्नुपर्छ, देशका लागि केही गर्नुपर्छ भन्दा राजनीति आइहाल्दो रहेछ। हाम्रो देशमा धेरै कुराहरु राजनीति केन्द्रित छन्। त्यसैले जनताको सेवा गर्न राजनीतितिर लागेकी हुँ।

राजनीतिमा तपाइँको लक्ष्य कहाँसम्म पुग्छु भन्ने हो ? मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति त्यस्तो केही छ?
जनताको सेवा गर्न राजनीति यात्रा सुरु गरेको हुँ। पदको लोभले राजनीतिमा नआएको हुँदा सेवा गर्न उत्साहित छु । पदको लोभ हुन्थ्यो भने धेरैअघि राजनीति सुरु गरिसक्थेँ होला। म नितान्त जनताको सेवा गर्न राजनीतिमा लागेकी हुँ।

तपाइँ नयाँ शक्तिमा प्रवेश गरेपछि फ्यानहरुले रिसाएर पोष्टर नै डिजाइन गरेर सामाजिक सञ्जालमा राखेको सम्म भेटियो। उनीहरुलाई के भन्नुहुन्छ?
त्यसरी गाली गर्नेहरु मेरा फ्यान होइनन् जस्तो लाग्छ। मेरो फ्यानहरुले मलाई गरेको प्रतिक्रिया त्यो होइन जस्तो लाग्छ। नेपाली राजनीतिमा जोडिने बित्तिकै कोही नराम्रो भयो भन्ने मिल्दैन। पछिल्लो समय नेपाली राजनीतिले सबै जनतालाई निराश बनाएको छ। सामाजिक सञ्जालमा पनि त्यही वितृष्णा देखिएको हुनुपर्छ। विस्तारै उहाँहरुले नेपाली राजनीतिलाई सम्मान गर्नुहुनेछ भन्नेमा म आशावादी छु।

अनि तपाइँको परिवार त कांग्रेस समर्थक हुन् तपाइँ बाबुरामको पार्टीको ठुलै नेताको रुपमा देखिनुभएको छ। परिवार सबै खुशी छन् त ?
घरपरिवारको साथ नभएको भए मैलेमात्र एक्लै राजनीतिमा लागेर समाज र जनताको सेवा गर्नु भनेर निर्णय गर्न सक्ने थिइन्। अहिले देशमा जातियता, संघियता र अखण्डताका विषय उठिरहेका छन्। मलाई लाग्छ हामी सबैजना सर्वप्रथम नेपाली हुनुपर्छ। म यही सोचका साथ नयाँ शक्ति प्रवेश गरेकी हुँ। मेरो यही सोचले गर्दा परिवारले समेत साथ दिएको छ। आगामी दिनमा मेरो परिवारमा राजनीतिलाई लिएर समस्या उत्पन्न हुनेछैन्। मेरो निर्णयमा श्रीमानको समर्थन पाएकी छु। मेरी आमा समेत अचेल राजनीतिक गतिविधिबारे धेरै जानकारी राख्नुहुन्छ। उहाँ आफैँ मेरो प्रिय नेता डा.भट्टराई हुनुहुन्छ। मेरो राजनीतिमा प्रवेशको खबरले आमा समेत उत्साही छिन्।

पार्टीहरुले हिरोइनलाई एउटा सो पिसको रुपमा देखाएर जनतालाई भुलभुलाईमा पार्ने प्रचलन पनि देखिएको छ । तपाइँको भूमिका चाहिँ पार्टीभित्र के हो?
अहिलेसम्म पार्टीको सिद्धान्त बुझ्नै लागिपरेको छु। नयाँ शक्तिमा लागेका मध्ये म आफ्नो भूमिकाबारे अनविज्ञ नै छु। त्यसैले पार्टीको सबै कुराहरु थाहा पाउन मलाई केही समय लाग्छ। अहिले म नयाँ नै छु। मुद्दाहरु बुझ्न, पार्टीको नीति र रणनीतिहरु थाहा पाउन गृहकार्य गर्दैछु।
nagariknews

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget