काठमाडौँ, ६ फागुन, अहिले देशमा चर्चा छ नवयुग श्रेष्ठको । पछिल्लो एक महिनामा दुईवटा अन्तर्राष्ट्रिय उपाधि चुम्न सफल नेपालका लागि नवयुगको भूमिका उत्कृष्ठ रहयो । त्यसैले त नवयुगलाई नेपाली फुटबलमा नवयुग सुरुवात गर्ने योद्धाका रुपमा मूल्याङ्कन गरिएको छ । नवयुगको स्थायी घर इलाम हो । उनका आमाबुवा इलामको देउमाई नगरपालिकाको मंगलबारेमा बस्छन् । आजको नयाँ पत्रिकाले नवयुग श्रेष्ठकी आमा बसुन्धरा श्रैष्ठसँग गरेको कुराकानीको केही अंशः
'नवयुगले पहिलो बोली फुट्दै गोल भनेको हो । त्यसबेला के भनेको बुझ्न सकेनौँ । अहिले बुझ्दा 'गोल' भनेको रहेछजस्तो लाग्छ । खेलौना पनि गोल नै माग्थ्यो । सानोमा ट्याङ्-ट्याङे (प्लास्टिकको सानो बल) खेलाउँथ्यो । हिँड्न थालेपछि दाहिने खुट्टाले गोल हान्न खोज्थ्यो । छोरो भुलाउँदा पनि बल दिएरै भूलाउँथेँ' नवयुगकी आमा भन्छिन् ।
'फुटबल जितिसकेपछि बुवाले फोन गर्नुभएको थियो । त्यतिबेला 'फोटो खिच्न व्यस्त छु' भन्यो, खासै कुराकानी भएन । भोलिपल्ट बिहान उसैले फोन गरेको थियो । मैले बधाई दिएँ । राम्रो प्रगति गरिस्, संसारलाई देखाइस् भनेँ ।
म 'काले' भनेर बोलाउँथेँ । मायाले बोलाउने नाम 'काले' हो । उसले 'काले नभन्नु न' भन्थ्यो । 'कालो त म कालै छु, नाम बिग्रिन्छ, साथीले पनि गिज्याउँछन्', भन्थ्यो । कालो पनि कालैछ, तर अहिले चम्क्यो ।
अहिले टिभीमा पनि, रेडियोमा पनि नवयुगको मात्रै नाम सुन्छु । अरुको नामचाहिँ किन नभनेको होलाजस्तो लाग्छ । अरुको पनि छोरा नै हुन् । उनीहरुको बाबुआमालाई कस्तो लाग्दो हो । नवयुग एक्लैले खेल जितेको त होइन नि । आफू एक्लै खेलेर जितिने होइन । अरुको पनि नाम भन्दिए हुन्थ्योजस्तो लाग्छ ।
फुटबल जित्ने सबै छोराहरुलाई बधाई छ । मेरो मात्र छोराले खेल जितेको होइन । राम्रो खेल्नु । सबैले प्रशंसा गरेको देख्न पाउँ । सधैँभरी हाँस्न पाउँ ।
aajakokhabar
Post a Comment