पहिलो खेलमा टेष्ट मान्यताप्राप्त टिम न्यूजिल्याण्डलाई ३२ रनले हराएको नेपालले दोस्रो खेलमा फतुल्लाहमा भएको खेलमा आयरल्याण्डविरुद्ध ८ विकेटको शानदार जित निकाल्यो ।
खेलमा पहिले ब्याटि गरेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा एक सय ३१ रनमात्र बनाउन सक्यो । सन्दीप लामिछानेले कीर्तिमानी ह्याट्रिकसहित पाँच विकेट लिएपछि आयरल्याण्ड खुम्चिएको हो । सन्दीपले ३२ औं ओभरको चौथो, पाचौं र छैटौं बलमा ह्याटिक गरेका थिए । सन्दीपले २७ रनमात्र खर्चेका थिए । त्यसैगरी दीपेन्द्र सिंह ऐरीले २ तथा सुनील धमला र सुशील कर्णेलले समान १–१ विकेट लिए ।
जवाफमा नेपालले २५.३ ओभरमै २ विकेट गुमाएर खेल जित्यो । तेस्रो विकेटका लागि अविजित ७५ रनको साझेदारी गर्ने क्रममा योगेन्द्र सिंह कार्कीले ८१ बलमा ६१ तथा आरिफ शेखले ३६ बलमा ३१ रनको योगदान दिए । ओपनिङ्ग ब्याट्सम्यान सन्दीप सुनार इनिङ्गको पहिलो बलमै डकआउट भएपछि दवावमा परेको नेपालका लागि सुनील धमलाले २८ रन जोडेका थिए ।
यो जितसंगै नेपाल सोमबार भारतसंग खेल्नुअघि नै क्वार्टरफाइनलमा पुगेको छ । समूह डी बाट भारत पनि एक खेलअघि नै क्वार्टरफाइनलमा पुगेको छ । भारतले पहिलो खेलमा आयरल्याण्ड र दोस्रो खेलमा न्यूजिल्याण्डलाई एक सय २० रनले पराजित गर्दै अन्तिम आठमा ठाउँ बनाएको हो । अब समूह विजेताको छिनोफानो सोमबारै हुनेछ । यो समूहबाट आयरल्याण्ड र न्यूजिल्याण्ड बाहिरिएका छन् ।
सातौं पटक विश्वकप खेलिरहेको नेपाल सन् २००० पछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो ।
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.