यू–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध ह्याट्रिक गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने । तस्बिर स्रोत : रमन सिवाकाेटी/क्यान
माघ १६, २०७२- यू–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध ह्याट्रिक गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले त्यो उपलब्धी आँफैमा अविश्वसनीय रूपमा बताएका छन् । यो प्रतियोगिताको पहिलो ह्याट्रिक पनि हो ।
यही प्रदर्शनको मद्दतले नेपालले आयरल्यान्डलाई आठ विकेटले पराजित गरेर क्वाटरफाइनलको यात्रा तय गरेको छ । उनी खेलकाे म्यान अफ द म्याच पनि चुनिएका छन् ।
पहिलोपटक युवा विश्वकप खेलिरहेका सन्दीपले मिडियासँग कुराकानी गर्दै भने, ‘यो ह्याट्रिक निकै महफ्वपूर्ण क्षणमा आएको थियो । मलाई लाग्छ, यही क्षणले नेपाललाई क्वाटरफाइनलमा पुर्याउन मदत गर्यो । मलाई विश्वास छ, नेपालको यस्तै राम्रो प्रदर्शन प्रतियोगिताका बाँकी खेलमा पनि जारी रहने छ ।’
यू–१९ विश्वकपमा आयरल्यान्डविरुद्ध ह्याट्रिक गरेका नेपाली लेग स्पिनर सन्दीप लामिछाने म्यान अफ द म्याचकाे उपाधी लिँदै।
उनले आफ्नो चौथो ओभरको अन्तिम दुई बलमा लोरकन टकर र एडम डेनिसनको विकेट लिएका थिए । त्यसपछि उनले पाँचौँ ओभरको पहिलो बलमा फिचर टकनरको पनि विकेट लिँदै दुर्लभ ह्याट्रिक पूरा गरे । नेपाली टिमका कप्तान राजु रिजालले सन्दीपको खेलको प्रशंसा गरे ।
कप्तानले थपे, ‘आजको जितले नेपालमा धेरै खुसियाली चलेको हुनुपर्छ । हाम्रो देशमा क्रिकेट धेरै लोकप्रिय छ र आजको जस्तो प्रदर्शनले क्रिकेट अझ लोकप्रिय हुनेछ । हाम्रो टिम निकै बलियो छ र यसको कारण खेलाडीबीच रहेको टिम भावना हो । अब हाम्रो लक्ष्य सेमिफाइनल पुग्नु हो ।’
प्रतियोगिताको चौथो दिन दक्षिण एसियाली देशका लागि सुखद रह्यो । नेपाल मात्र होइन, भारत, पाकिस्तान र श्रीलंका पनि प्रतियोगितको क्वाटरफाइनल पुगे । सबै टिमले सुरुआती दुई/दुई खेल जितेर यो उपलब्धी हात पारेका हुन् ।
प्रतियोगितामा अर्को दक्षिण एसियाली देश अफगानिस्तानको माथि उक्लने चुनौती भने समाप्त भएको छ । आयोजक बंगलादेशले पनि प्रतियोगिताको क्वाटरफाइनल यात्रा तय गर्ने हो भने अन्तिम आठको सुपर लिगमा दक्षिण एसियाका पाँच देशसहित प्रभुत्व हुनेछ ।
ekantipur
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.