जिकाको सन्त्रासप्रति काठमाडौं सचेत


काठमाडौं- दक्षिण अमेरिकी देशमा देखिएको जिका भाइरसले महामारी निम्त्याउन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को चेतावनीसँगै सरकारले नेपाली गर्भवती महिलालाई स्वदेश फर्कन आग्रह गरेको छ। स्वास्थ्य मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संक्रमित देशमा रहेका नेपाली महिलालाई फर्कन भनेको हो।


हालसम्म ल्याटिन अमेरिकाका ब्राजिलसहित २० भन्दा बढी देशका हजारौँ नवजात शिशुमा जिका संक्रमण भइसकेको छ। उक्त भाइरसले गर्भवतीको कोखभित्रै भ्रूणलाई आक्रमण गर्ने र जन्मिएको शिशुमा अपांगतालगायत गम्भीर स्वास्थ्यसमस्या देखिएको छ।

महाशाखाले ती देशमा बसोबास गर्ने अन्य नेपाली महिलालाई तत्काल गर्भवती नबन्नसमेत सुझाएको छ। महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले गर्भवतीहरूलाई सम्भव भएसम्म नेपाल फर्केरै गर्भ परीक्षणलगायत उपचार गर्न आग्रह गरिएको बताए। 'गर्भमा रहेको बच्चालाई यो भाइरसले जुनसुकै बेला आक्रमण गर्न सक्छ,' उनले भने, 'त्यसकारण जोखिमयुक्त देशमा रहेका नेपाली स्वदेश फर्किहाल्नु ठिक हुन्छ। उनीहरूलाई संक्रमित देशका स्वास्थ्यसंस्थामा गर्भजाँच तथा अन्य उपचारसमेत नगर्न भनेका छौं।'

डा. मरासिनीका अनुसार एडिस एजिप्टाई नामक पोथी लामखुट्टेको टोकाइबाट जिका भाइरस सर्छ। यसले गर्भस्थ शिशुको मस्तिष्क विकास रोकिदिन्छ। संक्रमित शिशु टाउकोको आकार अस्वाभाविक (सानो वा ठूलो) भएका, सुस्त मनस्थितिका हुनुका साथै ज्यानै जाने जोखिमसमेत रहन्छ।

'यो भाइरसविरुद्ध हालसम्म कुनै खोप तथा उपचार पत्ता लागेको छैन, त्यसैले सबैले सजग रहन जरुरी छ,' डा. मरासिनीले भने।

एडिस एजिप्टाई लामखुट्टे पाइने देशमा यो भाइरस तीव्र गतिमा फैलन सक्ने भन्दै सचेत रहन डब्लुएचओले चेतावनी दिएको छ। यो जातको लामखुट्टे कालो जिउमा सेता थोप्ला भएको हुन्छ। नेपालमा पनि यो लामखुट्टे पाइने भएकाले महाशाखाले आवश्यक तयारी गरिरहेको डा. मरासिनीले जानकारी दिए। 'हामीकहाँ चैतपछि यो लामखुट्टे देखिन्छ, त्यसैले सबैलाई सजग रहन आग्रह गरेका छौं, महाशाखाले आवश्यक तयारी गरिरहेको छ,' उनले भने।

बर्खाको मौसममा पानी जम्ने खाल्डा तथा बट्टाहरूमा यो लामखुट्टे बढी पाइन्छ। यसले दिउँसोको समयमा टोक्ने भएकाले पूरा बाउला भएको कपडा लगाउँदा धेरै हदसम्म जोगिन सकिन्छ। 'जिका भाइरस र डेंगे फैलाउने लामखुट्टे एउटै प्रजातिका हुन्,' डा. मरासिनीले भने, 'यसबाट जोगिन तराईसहित पहाडका केही जिल्लामा लक्ष्यित कार्यक्रम अघि बढाउन आवश्यक छ।'

चिकित्सकका अनुसार यो लामखुट्टेबाट जोगिन बर्खामा खाल्डाखुल्डी, गाडीका टायर, गमलालगायत पानी जम्ने क्षेत्रबाट टाढा रहनुपर्छ। जिका भाइरस संक्रमितको वीर्यमा समेत पाइएकाले यौनसम्पर्कबाट पनि सर्ने जोखिम उत्तिकै छ। संक्रमितमा मध्यम ज्वरो, आँखा धमिलो हुने, टाउको दुख्ने, जोर्नी दुख्नेजस्ता लक्षण देखिने चिकित्सक बताउँछन्। यो भाइरस पछिल्लोपटक सन् २०१५ मे महिनामा ब्राजिली नागरिकमा देखिएको थियो। ब्राजिलमा गत अक्टोबरयता जन्मिएका ४ हजारभन्दा बढी शिशुमा मस्तिष्क विकास नभएको, टाउको आकार अस्वाभाविक रहेकोजस्ता समस्या देखिएको छ।
जिका संक्रमणको लक्षण
हल्का ज्वरो आउनु

जोर्नी दुख्न

टाउको दुख्नु

आँखा रातो हुनुका साथै भित्री भाग सुन्निनु

टाउको ठूलो भएको बच्चा जन्मिनु

सुस्त बच्चा जन्मिनु

बच्ने उपाय

एडिस एजिप्टाई लामखुट्टेको टोकाइबाट जोगिने। विशेष गरी यो जातको लामखुट्टेले दिउँसो मात्र टोक्छ। लामखुट्टेको बासस्थान पानी जम्ने पोखरी, बाल्टिन, गमला, फूलदानी, ट्यांकर, ड्रम, बसका टायर सफा गरिरहने

ज्वरो आए, जोर्नी दुखे वा आँखा रातो भए प्रशस्त झोल पदार्थ पिउने

आराम गर्ने

संक्रमणको शंका लागे यौनसम्पर्क नगर्ने
nagariknews

Post a Comment

Emoticon
:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget