माघ १४, २०७२- हामीले खाएका खानेकुरामा पाइने गुलियोजन्य वस्तु, ग्लुकोज, सुक्रोज आदिलाई ब्याक्टेरियाले घातक अम्लमा परिवर्तन गरेपछि दाँतका तन्तुहरूमा स्थायी क्षय हुन्छ, यसैलाई जनजिब्रोमा किरा लागेको भनिन्छ । अनि यसरी किरा लागेर क्षय भैसकेको दाँतलाई दन्तचिकित्सककोमा गएर भर्नु नै एकमात्र उपचार हो । यसलाई सोझो भाषामा खन्ने र भर्ने (ड्रिल एन्ड फिल) पनि भन्ने गरिएको छ । तर हालैमात्र एउटा अनुसन्धानले दन्तचिकित्साको यस्तो पद्धतिलाई नै चुनौती दिंँदै दाँतको किरा लागेको अवस्थामा नभरेर पनि उपचार गर्न सकिने तथ्य बाहिर ल्याएको छ । इभान्स, क्लार्क र जियाको समूहले अस्ट्रेलियामा गरेको चार वर्ष लामो अनुसन्धानका क्रममा यस्तो तथ्य प्रकाशमा आएको हो ।
एक्सेल्सनले सन् २००४ मा गरेको अनुसन्धानले दाँतको संरक्षणात्मक विधि अपनाउँंदा किरा लाग्ने रोग धेरै नियन्त्रण भएको पाइएको थियो । यो प्रणाली पनि यस्तै अनुसन्धानमा आधारित भएर प्रस्तुत भएको हो । यो प्रणाली खासगरी दुई खालका उपलव्धि हासिल गर्नेतर्फ केन्द्रित छ । पहिलो, दाँतमा किरा लाग्नै नदिने र दोस्रोचाहिँ खाल्टो नपरिसकेका ससाना किरा लागेका घाउलाई त्यही अवस्थामा रोक्ने अनि सम्भावित भराइको उपचारबाट बचाउने । दोस्रो उपलव्धि नै वास्तवमा परम्परागत उपचार पद्धतिको विपरीत रहेको पाइन्छ । यस कार्यक्रमले खाल्टो नपरिसकेका किरा लागेका घाउको भरेर उपचार गर्ने हैन कि सक्रिय रूपले तिनीहरूलाई रोक्ने, क्षय भएका तन्तुको प्रतिस्थापन हुनदिने र नजिकबाट हेरचाह गर्ने पद्धतिलाई अँगालेको छ ।
यस कार्यक्रममा एक खालको विशिष्ट प्रोटोकललाई अंगिकृत गरिएको छ, जस अन्तर्गत जोखिमको मूल्यांकन, निदान, जोखिम व्यवस्थापन, निरन्तर अनुगमन गर्ने लगायतका कार्यक्रम पर्छन् । त्यसैले कुनै विरामी आउनासाथ किरा लागेको दाँतको अवस्थालाई हेरेर उसको जोखिमको मूल्यांकन गरिनुपर्छ । जस्तै, खाल्टो परिसकेको अवस्थालाई उच्च जोखिममा रहेको भन्न सकिन्छ भने इनामेलमात्र चोइटिएको वा बाइटविङ एक्सरेमा हेर्दा डेन्टिनको बाहिरी एक तिहाइ ओगटेको अवस्थालाई मध्यम अनि एक्सरेमा हेर्दा कम गहिराइ भएका घाउलाई न्युन जोखिममा सूचीकृत गर्न सकिन्छ । त्यस्तै वार्षिक रूपमा एकभन्दा बढी किरा लाग्ने घाउ हुनेलाई उच्च, एकसम्म हुनेलाई मध्यम र एकभन्दा कम हुनेलाई न्युन जोखिमका भनेर पनि वर्गीकरण गरिएको छ ।
जोखिमको निदान गरिसकेपछि यो प्रणालीले बिरामीको आदत परिवर्तनमा जोड दिन्छ । यसमा मुख स्वास्थ्यबारे जानकारी दिने, स्वस्थ खानेकुरा छनोट गराउने, मूल खानेकुराको बीचमा खाइने गुलियो पदार्थ सेवनमा कमी ल्याउने जस्ता कार्यक्रम पर्छन् । यस्तै खाल्टो नपरिसकेका घाउको उपचारमा गैर—शैल्यविधि, जस्तै— फ्लोराइड र सिलेन्ट प्रयोग गरिनु पनि यो प्रणालीमा पर्छ । अनुसन्धानले यो प्रणालीको पक्षमा वकालत गर्दै डेन्टल शिक्षालयमा यसको उपयोग गरिनुपर्ने र डेन्टल जगतमा पनि व्यापकीकरण हुनु उपयुक्त हुने निष्कर्ष निकालेको छ ।
हाम्रो देशमा सम्भाव्यता छ त ?
नेपालको मानव विकास सूचकांक ०.५५ रहेको छ, जसको श्रेणीस्तर १४४ हो । मुख स्वास्थ्य नीति २०७० मा उल्लेख गरिए अनुसार सन् २०१२—२०१३ मा एक चौथाइ जनतामा मुखको पीडा र मुखको असहजता रहेको पाइन्छ भने सन् २००४ मा भएको पाथफाइन्डर सर्भेले ५—६ वर्ष उमेर समूहमा ५८ प्रतिशतमा दाँत किराले खाएको जनाएको थियो । नेपालको सन् २०११ को जनगणना अनुसार ५ वर्ष मुनिका बच्चामा नबढ्ने समस्या ४१ प्रतिशतमा, दुब्लाउने ११ प्रतिशतमा र कम तौल हुने २९ प्रतिशतमा रहेको पाइन्छ, जसले कुपोषणको विकराल रूपलाई छर्लङ्ग बनाएको छ । अझ २९.६ प्रतिशत जनसंख्या झाडापखालाको उपचारसमेत गर्न असमर्थ रहेको पाइएको छ ।
यी तथ्यबाट के प्रस्ट हुन्छ भने नेपालमा डेन्टल स्वास्थ्यमै सरकारी लगानी हुनसक्ने अवस्था छैन । अनि जनस्तरमा व्याप्त गरिबी र अशिक्षाको बीचमा विकसित देशमा भए—गरेका कार्यक्रमको अक्षरश: उपयोग गर्न गाह्रो पनि छ । तर यो अनुसन्धानले डेन्टल जगतमा कार्यशील जनशक्तिले भने फाइदा लिने अनुमान गर्न सकिन्छ र यस्तो प्रणालीलाई आफ्नो ज्ञानको मद्दतले बिरामीको उपचारमा लागु गर्न स्वास्थ्यकर्मी सक्षम हुनसक्ने अपेक्षा राख्न सकिन्छ । तर सामुदायिक स्तरमा व्यापक जनचेतना नहुने हो भने दाँतलाई भर्ने विधिभन्दा यो प्रणाली सफल हुनसक्दैन । किनभने यसको सफलता बिरामीको उच्चतम सतर्कता र चनाखोपनसँग अन्योन्याश्रित रूपले गाँसिएको देखिन्छ । जे होस्, यो अनुसन्धान परम्परागत ढाँचाको उपचार पद्धतिलाई पनि बेलाबखत पुनर्ताजगी गर्नुपर्ने र आवश्यकता अनुरूप फेरबदल गर्नुपर्ने कुराको दृष्टान्त बनेको छ ।
ekantipur
Post a Comment