माघ १५, २०७२- सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको बाँया आँखाको रेटिनाको नसा फाटेपछि उनको एउटा आँखाको दृष्टिमा समस्या भएको छ । सुगर र रक्तचाप अत्यधिक बढेपछि त्यसको असरले महतोले बाँया आँखामा कडा समस्या देखिएको हो ।
महतोको आँखाको उपचारमा संलग्न विराटनगर आँखा अस्पतालका डा. सञ्जयकुमार सिंहले उनको बायाँ आखाको रेटिनाको नसा फाटेको र रगत जमेको छ । ‘ब्लडप्रेसर अत्यधिक बढेपछि हाइपरटेन्सन अटाक्कका कारण आखामा समस्या भएको हो,’ डा. सिंहले भने ।
केही दिन अघि विराटनगरस्थित रानी नाकामा धर्ना बस्ने क्रममा प्रहरीको कुटाईवाट घाइते भएका महतोको सुगर र ब्लडप्रेसर नियन्त्रण नभएपछि उनी उपचारका लागि नयाँ दिल्ली गएका थिए । लामो समयसम्म नयाँ दिल्ली स्थित मेदान्त अस्पतालवाट उपचार गराई फर्केका महतो माघ ६ गते सिरहाको लहानमा फेरि अस्वस्थ्य भएका थिए ।
उच्च रक्तचापका कारण लहानमा अस्वस्थ्य भएका महतो रंगेली घटनाका घाइतेलाई भेट्न धरान पुग्दा एउटा आँखाको दृष्टिमा कडा समस्या भएको थाहा पाएका थिए । महतो रंगेली घटनाका मृतकका परिवारलाई भेट्न गएका बेला बाँया आँखाले हेर्न झन समस्या भएपछि उनी विराटनगर आँखा अस्पतालमा जचाएका थिए ।
विराटनगर आँखा अस्पतालका बरिष्ठ बिशेषज्ञ सिंहको निगरानीमा महतोको आँखाको परीक्षण गरिएको थियो । डा. सिंहले भने, ‘अहिले औषधि दिइएको छ, सुधार भए ठिकै छ नभए अप्रेसन गर्नुपर्ने स्थिति आउँछ ।’ बाँया आँखाको रेटिनाको नसा फाटेर रेटिना वरिपरि रगत जम्मा भई भिजिविलिटी कम भएको अवस्था छ ।
दिल्लीवाट काठमाडौं हुँदै बलिदानी दिवस कार्यक्रममा सहभागी हुन सिरहाको लहान आएका वेला माघ ६ गते विरामी परेका महतोलगतै रंगेली घटना भएपछि चारदिन विराटनगर बसेका थिए । रक्तचाप र सुगर नियन्त्रणमा नआएपछि तीनदिन यता सुनसरीको धरानमा चिकित्सकको निगरानीमा उनले उपचार गराएका छन् ।
‘मेदान्तामा मुल रुपमा टाउकोको चोटको उपचार मात्र भएको थियो, विपी र सुगर बढ्ने क्रमले फेरि समस्या भएपछि धरानमा तीनदिन चिकित्सकको निगरानीमा उपचारसँगै आराम गर्नुभएको छ,’ महतोका एक सहयोगीले भने ।
विराटनगर नाकाको घटनापछि महतोको रक्तचाप र सुगरको स्तर नियन्त्रणमा आउन नसकेको उनले बताए । महतो ३ दिन यता धरानमा चिकित्सको निगरानीमा उपचार गराइरहेको र शुक्रवार साँझ धरानवाट सर्लाही जाने कार्यक्रम रहेको उनले जानकारी दिए ।
ekantipur
Post a Comment