काठमाडौं: बंगलादेशमा जारी आईसीसी यू-१९ विश्वकपमा नेपालले टेस्ट राष्ट्र न्युजिल्यान्डलाई हराएर सुखद सुरुवात गरेको छ । तर शनिबार हुने खेलमा आयरल्यान्डलाई हराउन नसके नेपालको न्युजिल्यान्डमाथिको सफलता केवल टेस्ट राष्ट्रमाथिको जितका रूपमा मात्र सीमित हुन सक्छ । शनिबारको खेलमा नेपालले आयरल्यान्डलाई र भारतले न्युजिल्यान्डलाई हराए विजेता दुवै टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।
नेपालले यसअघि सन् २००० को संस्करणमा मात्र क्वार्टरफाइनल अर्थात् तत्कालीन सुपर लिगको यात्रा तय गरेको थियो । त्यतिबेला सुपर लिग चरणमा पुग्ने नेपाल पहिलो एसोसिएट राष्ट्र बनेको थियो । नेपालपछि अफगानिस्तानमात्र एसोसिएटका रूपमा सन् २०१४ को विश्वकपको संस्करणमा क्वार्टरफाइनल पुगेको थियो ।
सन् २००० मा नेपाल पहिलो चरणमा सुरुका दुई खेल रद्द भएपछि प्राप्त अंक र तेस्रो खेलमा केन्यामाथि प्राप्त सफलतापछि दक्षिण अफ्रिकालाई जिल्याउँदै सुपर लिग पुगेको थियो । त्यसपछि सन् २००२ र सन् २००४ को विश्वकपमा नेपाल पहिलो चरणमा समूहको शीर्ष टोलीसँग समान अंक भएर पनि अगाडि बढ्न सकेन । दुर्भाग्यवश दुवै प्रतियोगिताको पहिलो चरणमा तीन टोलीको समान अंक भयो भने नेपाल नेट रनरेटका आधारमा तेस्रो स्थानमा रह्यो ।
सिनियर क्रिकेटमा आयरल्यान्ड एसोसिएटमध्ये शीर्ष टोली हो । निकै सशक्त देखिएको अफगानिस्तान समेत आयरल्यान्डसामु कमजोर देखिने गरेको छ । उक्त स्तरमा आयरल्यान्डले टेस्ट मान्यता प्राप्त राष्ट्रलाई ठूला प्रतियोगितामा पटकपटक निराश बनाएको छ । तर यू-१९ स्तरमा भने आयरल्यान्डको अवस्था बेग्लै छ । अस्ट्रेलियाले नाम फिर्ता लिएपछि यस पटक आयरल्यान्डले विश्वकप खेल्ने अवसर पाएको हो ।
केही महिनाअघि सम्पन्न विश्वस्तरको छनोटमा नेपालले सबै खेल जितेको जसमा नेपालले राउन्ड रोबिन र फाइनल दुवैमा आयरल्यान्डलाई हराएको थियो । अफिसियल यू-१९ अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र आयरल्यान्डबीच हालसम्म पाँच पटक भेट भएकोमा नेपाल चार पटक विजयी भएको छ । सन् २०१२ मा भएको विश्वकपमा आयरल्यान्डले नेपाललाई १४ रनले हराएको थियो ।
नेपाल र आयरल्यान्डबीच पहिलो भेट भने सन् २००६ को विश्वकपमा भएको थियो जसको समूहगत चरणमा नेपाल ६० रनले विजयी भएको थियो । यी दुई टोलीबीच त्यसपछि सन् २०११ मा आयरल्यान्डमा भेट भएको थियो, विश्वकप छनोटमा । उक्त खेलमा नेपालले घरेलु टोलीलाई डकवर्थ लुइस नियम आधारमा १० रनले निराश बनाएको थियो ।
सन् २०१५ मा आयोजना भएको विश्वकप छनोटमा नेपालले राउन्ड रोबिन लिगमा आयरल्यान्डलाई आठ विकेटले हराएको थियो । पाँच टोली सहभागी उक्त प्रतियोगिताबाट एक टोली मात्र विश्वकपमा छनोट हुने प्रावधान थियो । पहिलो चरणमा पहिलो भएको नेपालले छनोट हुन आयरल्यान्डलाई नै हराउनुपर्ने थियो, साथमा उपाधि जित्न पनि ।
नेपाल तीन विकेटले विजयी भएर छनोट भएको हो । न्युजिल्यान्डविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालको आत्मविश्वास उच्च छ । नेपालले विश्वकप सहभागितामा अहिलेसम्मकै व्यक्तिगत उच्च दुई सय ३८ रन जोडेको थियो । आयरल्यान्ड भने पहिलो खेलमा भारतसँग ७९ रनले पराजित भएको थियो ।
शनिबार हुने अर्को खेलमा भारतले न्युजिल्यान्डलाई हराएमा र आयरल्यान्ड पराजित भएमा नेपाल सुपर लिग पुग्नेछ । नेपालले समूहको आफ्नो अन्तिम खेल भारतसँग खेल्नेछ ।
annapurnapost
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.