चीनबाट विमान ल्याउने अन्तिम तयारी


फोटो : राजधानीमा बुधबार आयोजना गरेको 'उड्डयन क्षेत्रमा चीन र नेपालको सहकार्य: चुनौती र अवसर'विषय कार्यक्रमका सहभागी।तस्बिर: अन्‍नपूर्ण
काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले विगतमा भएको सम्झौताअनुसार चीनबाट चारवटा नयाँ विमान भित्र्याउन सरकारले अन्तिम तयारी गरिरहेको बताएका छन्।
चिनियाँ समाचार संस्था सिन्ह्वाको नेपालस्थित सहप्रकाशन एसिया प्यासिफिक डेलिले बुधबार राजधानीमा आयोजना गरेको ‘उड्डयन क्षेत्रमा चीन र नेपालको सहकार्य: चुनौती र अवसर' विषयक कार्यक्रममा मन्त्री पोखरेलले यस्तो बताएका हुन्। चीन सरकारसँग तीन वर्ष अघि भएको सम्झौताअनुसार एक्जिम बैंकलाई आवश्यक रकमसमेत दिइसकिएको छ।


उनले भने, 'चारवटा विमान चीनमा तयारी अवस्थामा छन् । अब हामीसँग ती विमान ल्याउनु बाहेक अर्को विकल्प छैन।'मन्त्री पोखरेलले चीनले दुई वर्षअघि नेपाललाई दुईवटा विमान (एमए-६०) र (वाई-१२) अनुदास्वरुप उपलब्ध गराइसकेको उल्लेख गर्दै सहुलियतपूर्ण ऋणमा नयाँ चारवटा विमान ल्याउने प्रक्रिया अघि बढिसकेको जानकारी दिए।

मन्त्री पोखरेलले सरकारले चीनबाट पर्याप्त पर्यटक भित्र्याउने लक्ष्य लिएको बताए। 'चीन हाम्रो अत्यन्तै निकट छिमेकी हो । चीन र हाम्रोबीच सुमधुर र मजबुत द्विपक्षीय सम्बन्ध छ। यो सम्बन्ध निर्विवाद छ', उनले भने 'आगामी दिनमा पर्यटन क्षेत्रमा दुई देशबीच महत्वपूर्ण सहकार्य हुनेछ।'

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अलावा निजगढमा दोस्रो अन्‍तराष्ट्रिय विमानस्थल विस्तारको काम जारी छ । छिमेकी चीनको ऋण सहयोगमा पोखरामा क्षेत्रीय विमानस्थलको उद्घाटन यही माघ महिना भित्र गर्नसकिने विषयमा कुराकानी भइरहेको उनले बताए।

'चीनको सहयोगमा विस्तार हुन लागेको गौतमबुद्ध विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा विस्तार गर्ने काम भइरहेको छ', उनले भने। उनका अनुसार सरकारले १८ वटा घरेलु विमानस्थललाई आगामी वैशाखसम्म पूर्ण रूपमा सञ्चालनमा ल्याउन तयारी गरिएको छ।

कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईले भूकम्पपछिको राहत तथा उद्धारका बेला र इन्धन संकटका बेला नेपाललाई चीनले सहयोग गरेको बताए । उनले चीनले आफ्नो विदेश नीतिमा छिमेक नीतिलाई प्राथमिकतामा राखेको बताए।

नेपालले चाहेअनुसार विकास प्रक्रियामा सहयोग उपलब्ध गराउन चीन तयार रहेको उनले जानकारी दिए। उनले 'वन बेल्ट वन रोड' रणनीतिमार्फत् चीनले एसिया र अन्य क्षेत्रको आर्थिक विकासका लागि काम गरिरहेको बताए।

नेपाल पर्यटन नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक सञ्जिव गौतमले चिनियाँ नागरिक उड्डयन निकायसँग क्यानले चिनियाँ विमान सहज रूपमा सञ्चालन गर्न नियमित रूपमा सहकार्य र परामर्श गरिरहेको बताए।नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले पर्यटन मन्त्रालयले चिनियाँ विमान आयात गर्ने सम्बन्धमा दिएको प्रतिवेदन अनुसार बाँकी चारवटा विमान ल्याउने विषयमा निर्णय हुने जानकारी दिए।

उनका अनुसार मंगलबार मात्रै पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य नेतृत्वको टोलीले चिनियाँ विमान आयातका सम्बन्धमा प्रतिवेदन दिएको छ।
कंसाकारले वायु सेवा निगमले चीनका मुख्य सहर ग्वान्जाओ, सांघाई र कुन्मिङ्मा सीधा उडान गर्ने सोच बनाएको बताए। अहिले निगमको हङकङमा मात्रै उडान छ।

एयरलाइन एसोसिएसन अपरेटर्स अफ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले चीन र नेपालबीचको कुटनीतिक सम्बन्ध मजबुत रहेको बताए। चिनियाँ सरकारी संस्था एभिक इन्टरनेसनलका उपाध्यक्ष सु बो ले एभिक इन्टरनेसनलले नेपाल वायु सेवा निगमलाई प्राविधिक सहयोग गरिरहेको बताए।
annapurnapost
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget