नेपाली नक्कली नोट छपाइ र मार्केटिङ गर्ने गिरोहका ६ पक्राउ, खनेर निकालियाे नाेट छाप्ने मेसिन

रौतहट— मधेस आन्दोलनको समयमा संगिठत रुपमा नेपाली १००० र ५०० दरका नक्कली नोट छाप्ने र बजारमा पठाउने गिरोहलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान प्रहरी टोलीले माटो मुनि गाडेको अवस्थामा नोट छाप्ने मेसिन समेत बरामद गरेको छ।

केही दिनअघि रौतहट प्रहरीले गौर—९ का रामप्रवेश यादबलाई गैरकानुनी लागू औषध गाँजा सेवन गरेको अवस्थामा पक्राउ गरेको थियो। टेम्पो चालक उनको शरीर खानतलासी गर्दा एउटा एक हजारको नोट भेटियो। शंका लागि प्रहरीले अनुसन्धान गर्दा सो हजारको नोट नक्कली भएको पुष्टि भयो। बैंकिङ निकायले हजारको सो नोटलाई जाली भएको पुष्टि गरेपछि प्रहरीले टेम्पो चालक रामप्रवेश यादवसँगको फेरि बयान लियो।

'कहाँबाट आयो यो नोट? यसको स्रोत को हो?' यो पटक उनले नयाँ तथ्य बताइदिए।

'हजारको यो नोट गौर—७ कै जुगल किशोर महतोले दिएका हुन्। मेरो केही दोष छैन', उनले प्रहरी समक्ष बयानमा भने।
अान्दाेलनकाे माैकामा नक्कली नाेट काराेबारी सक्रिय
अब प्रहरी निसानामा जुगल परे। उनको खोजी तीब्र भयो। अन्ततः जुगललाई प्रहरीले पक्राउ गर्न सफल भयो। प्रहरी अपेक्षाआनुसार नै उनको साथबाट १००० र ५०० दरका ४५ हजार जाली नोट बरामद भयो। यो तथ्यले प्रहरी मधेस आन्दोलनको मौकामा नक्कली नोट कारोबारी सक्रिय भएको निष्कर्षमा पुग्यो।

तर आफू जाली नोट कारोबारको मुख्य व्यक्ति नभएको बयान जुगलले दिए। प्रहरीले प्रकरण अझ ठूलो हुन सक्ने अनुमान गर्दै अझ संयमित भएर अनुसन्धानतर्फ अघि बढायो।

'जाली नोट प्रिन्ट गर्ने मान्छे म होइन। १००० र ५०० का नक्कली नोटहरु मार्केटिङ गर्ने अर्थात् बजारमा पठाउने काम मात्रै मेरो हो', जुगल किशोरले प्रहरी समक्ष बयान दिए।

जाली नाेट छाप्ने र फैलाउने कार्यमा संलग्नहरू। तस्विर: मदन ठाकुर
उनले आफूभन्दा माथि नारायाण चौधरी भन्ने व्यक्ति रहेको र उनले नोटहरु आफूलाई दिने गरेको बयान प्रहरी समक्ष दिएका थिए। त्यही बयान पछ्याउँदै प्रहरीले रौतहट सखुअवा—२ धमौरा निवासी चौधरीलाई पक्राउ गर्याे। उनको साथबाट ३५ सय रुपैयाँ नक्कली नोट समेत प्रहरीले बरामद भयो।

झन्डै एक हप्तादेखि चल्दै आएको अनुसन्धान अझै निष्कर्षमा पुगेन। चौधरीले बयानमा भने, 'नक्कली नोटको मुख्य कारोबार मेरो होइन चन्द्रपुर—१५ को बालुवाटोलको ओसिम महम्मद हो।'

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले ओसिमको फोन डायल गरे। 'एउटा व्यापारिक काम छ। तत्काल भेट्नु पर्याे', प्रहरी प्रस्तावमा उनी सहमत भए। बिजनेस डिल गर्न आएका थिए। सादा पोशाकको प्रहरी फन्दामा परे। प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढायो।

ओसिमको बयानबाट अब प्रहरी टोली गिरोहको मुख्य नाइके नजिक पुग्यो। यी दुईको खोजी भइरहँदा प्रहरीले पक्राउ गरेकाहरुलाई अलग अलग ठाउँमा राखेर अनुसन्धान भइरहेको थियो। नेपाल प्रहरीको अनुसन्धानले भारतीय नागरिक नक्कली नोट छाप्ने गिरोहको मुख्य नाइके भएको देखायो। भारत चम्पारम जिल्लाको घोडासाहन, नुनौरा घर भएका अभयकुमार साह र धनुषा घर भएका मनोज महतोको खोजी प्रहरीले तीब्र पार्याे।
मुख्य काराेबारी भारतीय नागरिकले नेपाली नागरिकता लिएकाे पुष्टि
भारतीय नागरिक साह बाराको पिपरपाटी—६ मा बस्ने गरेको प्रहरीले थाहा पायो। सूचना चुहेमा भारत भाग्ने सम्भावनालाई ध्यानमा राख्दै रौहट प्रहरीले गोप्य रुपमा हतारहतार उनलाई पक्राउ गर्न तत्परता देखायो। पक्राउपछि अर्को वास्तविकता खुल्यो उनले नेपाली नागरिकता पो लिइसकेका रहेछन्। उनले दुई सय रुपैयाँमा १ हजारको नोट दिने गरेको रहस्य प्रहरी अनुसन्धानबाट खुलेको छ।

मनोज महतो र साहलाई पक्राउपछि बिहीबार बिहान जिप्रपाका निरीक्षक रामप्रकाश चौधरी र इलाका प्रहरी कार्यालय गरुडा निरीक्षक सन्तुलाल जैसबारको कमान्डमा एउटा टोली सखुअवा—२ तफ हुँकियो।

प्रहरीले हत्कडी लगाएर नक्कली नोटक काण्डका मुख्य अभियुक्तहरु लिएर सो टोली त्यता लागेको थियो। उनीहरुले बयान दिएका थिए— नक्कली नोट छाप्ने मेसिन नारायाण चौधरीको काठ निर्मित घरको भर्याङमुनि लुकाएको छ। प्रहरी त्यही मेसिनको तलासमा त्यहाँ पुग्यो र जाली नोट छाप्ने मेसिन खनेर बाहिर निकाल्यो। हेर्नुहाेस् भिडियाे

भिडियाे: मदन ठाकुर
रौतहट प्रहरीले जाली नोटक गिरोहमा संलग्नहरुबाट झन्डै ५० हजार जाली नोट बरामद गरेको छ। '६ जनालाई पक्राउ गरेका छौं। अनुसन्धानबाट जाली नोट छाप्ने मेसिन पनि बरामद गरेका छौं। खोटा चलनअनुसार मुद्दा चलाउने तयारी भइरहेको छ', रौतहट प्रहरी प्रमुख एसी गणेशराज रेग्मीले नागरिकन्युजसँग भने।

यो प्रकरणबारे जानकारी दिन बिहीबार प्रहरीले गौरमा पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ।nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget