अाजदेखि निजी सवारीलाई तेल दिइँदै। राजधानीमा ९ लाख लिटर तेल बाँडिने

आजबाट निजी सवारीलाई पेट्रोल
काठमाडौं-लामो समयदेखि पेट्रोल भर्न नपाएका निजी सवारी साधनले अब पाउने भएका छन्। लटको आधारमा मोटरसाइकललाई मात्र पेट्रोल दिइएकोमा अब निजी सवारीलाई पनि दिन लागेको नेपाल आयल निगमले जनाएको छ।



निगमले थानकोटका अतिरिक्त विराटनगर, नेपालगन्ज र भैरहवा डिपोबाट ल्याएर निजी सवारीलाई दिने तयारी गरेको छ । बुधबारबाट राजधानीमा करिब नौ लाख लिटर पेट्रोल बाँड्ने निगमका निमित्त उपकार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

'इन्धन आयात बढे पनि राजधानीमा नपाएको गुनासो धेरै आयो,' भट्टराईले भने, 'त्यसैले तीन डिपोबाट ल्याउन थालेका छौं ।' सो पेट्रोल निजीसहित ट्याक्सी, मोटरसाइकललाई दिने उनले बताए । 'एकैपटक नौ लाख लिटर पठाउँदा उपभोक्तालाई राहत हुने अपेक्षा गरेका छौं,' उनले भने ।

निगमले थानकोट डिपोमा भारतीय आयल कर्पोरेसनबाट सिधै आउनेबाहेक विराटनगर, नेपालगन्ज र भैरहवा डिपोबाट पनि पेट्रोल ल्याउन थालेको छ । रक्सौल नाकाबाहेक भारतबाट करिब ३५÷४० प्रतिशत लोडिङ भइरहेकोले पेट्रोलमा देखिएको समस्या कम गर्न एकैपटक ठूलो परिमाणमा वितरण गर्ने तयारी गरेको हो ।

निगमले सकेसम्म सबै निजी पम्पलाई तेल दिएर बाँड्ने प्रबन्ध मिलाएको जनाएको छ । 'पहिलो लटमा लामो समय पेट्रोल नपाएका ट्याक्सी र निजी सवारीले पाउने छन्,' उनले भने, 'सकेसम्म सबै पम्पबाट मोटरसाइकललाई पनि दिने प्रयास गरिरहेका छौं ।'

इन्धन वितरणप्रति प्रधानमन्त्री केपी शर्मा ओली र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अघिल्लो साता चासो व्यक्त गरेर आपूर्ति सहज बनाउन निर्देशन दिएपछि निगमले बाहिरका डिपोबाट तेल ल्याउन थालेको हो । सरकारका चारजना मन्त्रीले पनि थानकोट डिपो निरीक्षण गरेर मौज्दात तेल पारदर्शी ढंगले वितरण गर्न निर्देशन दिएका थिए । बजारमा सहज रुपमा तेल वितरण नगरेको, कमिसनको आधारमा बाँडेको, कालोबजारी बढाएको भन्दै चौतर्फी आलोचना भएपछि निगमले राजधानीलाई बढी ध्यान दिएको छ ।

जिल्लामा रहेका डिपोबाट दैनिक ७ सय किलोलिटर डिजेल र पेट्रोल ल्याएर वितरण गर्ने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए । 'चार लाख लिटर डिजेल र तीन लाख लिटर पेट्रोल दैनिक राजधानी भिœयाउने प्रयास गरिरहेका छौं,' प्रवक्ता घिमिरेले भने, 'यसले सवारी साधनलाई राहत हुनेछ ।'

काठमाडौंका ५९ पेट्रोल पम्पलाई बुधबार पेट्रोल दिने निगमले जनाएको छ । 'निजी चारपांग्रेलाई १५ लिटरका दरले पेट्रोल दिन्छौं,' प्रवक्ता घिमिरेले भने, 'वितरण चुस्त बनाउन वाणिज्य र प्रहरीले अनुगमन गर्ने व्यवस्था मिलाएका छौं ।'

निगमले निजी पेट्रोल पम्पबाट पेट्रोल दिए पनि उपभोक्ता कालोबजारको किनेर प्रयोग गर्न बाध्य छन् । ठूलाबडाको तोक आदेशमा तेल दिइरहेको निगमले पछिल्लो समय यसलाई बन्द गरेर सकेसम्म निजी पम्पमार्फत बेच्ने व्यवस्था मिलाएको जनाएको छ ।

अधिकांश पेट्रोल र डिजेल सरकारी पेट्रोल पम्पबाट वितरण गर्दै आएको भन्दै पेट्रोलियम डिलर्स एसोसिएसनले सच्याउन माग गर्दै आएको छ । निगमले अहिले पनि सरकारी र निजी पम्पमार्फत नै वितरण गरिरहेको जनाएको छ ।

उपत्यकामा भित्रिएको तेलमध्ये सातवटा सरकारी स्वामित्वका (नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी, साझा) लाई ३० प्रतिशत र निजी १ सय २५ पेट्रोल पम्पलाई ७० प्रतिशत वितरण गरिँदै आएको पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले बताए । 'वितरण प्रणाली अझै व्यवस्थित बनाउन माग गरेका छौं,' प्रधानले भने, 'तोक आदेशमा वितरण गरेको तेल निजी पम्पलाई दिने व्यवस्था मिलाउनु पर्छ ।'

सरकारी स्वामित्तका पेट्रोल पम्पमा पहुँचवालाकै तोक आदेश चल्ने भएकाले निजी पेट्रोल पम्पमार्फत वितरण गर्न आग्रह गरेको उनले बताए ।

इन्धन वितरण व्यवस्थित बनाउन पहल भइरहेको आपूर्ति सचिव विष्णु लम्सालले बताए । 'अनुगनम संयन्त्रलाई सक्रिय बनाउने प्रयास गरिरहेका छौं,' लम्सालले भने, 'वितरणमा अनियमितता नहोस् भनेर विभागबाट टोली खटाएर गल्ती गर्नेलाई कारबाही गरेका छौं ।'
nagariknews
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget