लामो समयपछि नेपालले अन्तर्राष्ट्रिय उपाधि उचाल्दा तपाईंलाई कस्तो लागिरहेको छ ?
देश नै खुसीले रमाइरहेको यस क्षणमा खुसी नलाग्ने त कुरै भएन । हामीले २३ वर्षपछि नयाँ इतिहास रचेका छौँ । देशमा राजनीतिक अस्थिरता छाएका बेला यस सफलताले सिंगो देश र जनतालाई खुसी मिलेको छ, त्यसमै म पनि खुसी छु ।
यसमा तपाईंको भूमिका पनि महत्वपूर्ण रह्यो नि ?
एउटा टीममा भइसकेपछि, टीमबाट खेलिसकेपछि टीमको जितका लागि सवैले आफ्नो स्थानबाट भूमिका निभाउनुपर्ने हुन्छ । गोल रक्षकले बल रोक्ने, डिफेन्डरले विपक्षी खेलाडी रोक्न र बललाई आफ्नो नियन्त्रणमा लिँदै अगाडी खेलाउने, मिड फिल्डरले फरवार्डलाई बल पास गरिदिने अनि फरवार्डले गोल गर्ने मैले पनि यही भूमिकालाई निभाएको हुँ र अन्य साथीहरुले पनि निभाउनु भयो । त्यसैले हामी सफल भयौँ ।
टुर्नामेन्टकै मस्ट भ्यालुलेबल प्लेयर बन्नु भयो, के यसको अपेक्षा गर्नु भएको थियो ?
लागेको थिएन । मलाई यसरी टुर्नामेन्टकै उत्कृष्ट खेलाडी बन्छु भन्ने कत्ति पनि लागेको थिएन । मैले आफ्नो, टीमको र देशको लागि राम्रो खेल्नुपर्छ, राष्ट्रिय टीममा पाएको अवसरको सदुपयोग गर्नुपर्छ भन्ने सोचेको थिएँ । पछि खेल राम्रो भयो । सफलता पनि हात पर्यो । खेल न हो कतिपय सोचेका कुरा हुँदैनन् र कतिपय नसोचेका कुरा पनि भइदिन्छन् ।
माल्दिभ्ससँगको खेलमा ह्याट्रिक गरेपछि सवैभन्दा पहिला कसलाई सम्झनुभयो ?
त्यो मेरा लागि निकै महत्वपूर्ण क्षण बन्यो । त्यस समयमा मैले कसैलाई सम्झने सोच्नै सकिन या भनौँ मौका नै पाइन ।
फाइनल खेलमा गोल गरेपछि खुसीयाली मनाउने क्रममा जर्सी निकाल्न लाग्नुभएको थियो । तर, पछि फेरि रोकिनुभयो नि किन ?
हो त्यो गोल मेरा लागि निकै महत्वपूर्ण रह्यो किन कि त्यस गोलकै कारण म टुर्नामेन्टकै उत्कृष्ट खेलाडी बन्न पुगे । सुरुमा जर्सी निकाल्नै लागेको थिए तर पछि फेरि कार्ड खाने डर लाग्यो । राम्रो खेल्दा खेल्दै किन नकारात्मक सन्देश दिने, फलानाले कार्ड खायो भनेर खराब इतिहास किन बनाउने भनेर रोकिएको थिएँ ।
नेपाली फुटबलको भविष्य कस्तो देख्नुहुन्छ ?
हिजोको दिनमा नेपाली फुटबल माथि उठेको हो । तर, बीचमा पछि फेरि खस्कियो । हामीले राम्रो खेल पस्कँदै गयौँ, मेहनत गर्दै गयौँ, खेलक्षेत्रसँग जोडिएका प्रविधिको विकास हुँदै गयो, खेलाडीलाई यसरी नै हौसला मिल्दै गयौँ, दर्शककोे यसरी नै साथ भइरह्यो भने नेपाली फुटबल उकदिन माथि नपुग्ला भन्न सकिदैन । यही खेललाई निरन्तरसता दिँदै गयौँ भने दक्षिण एसियाकै राम्रो टीमका रुपमा स्थान बनाउन पनि हामी सक्षम छोँ जस्तो लाग्छ ।
नेपाल सरकार, एन्फा लगायतका फुटबलको क्षेत्रमा काम गर्ने सम्बन्धित निकायले फुटबलको विकासका लागि के गर्नुपर्छ जस्तो लाग्छ ?
फुटबलको विकासका लागि अर्झै धेरै गर्नुपर्ने देखिन्छ । अहिले पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका लागि दशरथ रंगशाला बाहेकको राम्रो दर्शक अटाउन सक्ने क्षमता भएको फुटबल ग्राउण्ड हामीसँग छैन । फुटबलको विकासका लागि सम्बन्धित निकायले राम्रो व्यस्थापन, ट्रेनिङ गर्दा चाहिने सामग्री, डाइटहरु, कोच खेलाडीलाई चाहिने हरेक कुराहरु उपलब्ध गराउनु पर्ने देखिन्छ । फुटबलको क्षेत्रमा लगानी बढाउँदै त्यसको सदुपयोग गर्नुपर्ने देखिन्छ । सुधारका अन्य धेरै पाटोहरु छन् यदी त्यसलाई मध्यनजर गर्दै अघि बढ्न सकियो भने पक्कै पनि फुटबलको विकास गतिशिल रुपमा अघि बढ्छ ।
पूराना खेलाडीहरु घरिघरी टीममा परिरहँदा नयाँले अवसर नपाएको र नतिजा नेपालको पक्षमा नपरेकोे भन्दै आलोचना हुने गरको छ । के अब पूराना पिढीलाई विश्राम दिँदै नयाँ पिढीलाई टीममा अवसर दिनुपर्ने अवस्था आएको हो र ?
खेलाडी छनोट गर्ने निकायहरु, कोच हुनुहुन्छ । यसमा नयाँलाई अवसर दिने र पुरानालाई नदिने भन्ने होइन । जसले राम्रो पर्फमेन्स गर्छ त्यसलाई मूल्यांकन गर्नुपर्छ । त्यसकै आधारमा खेलाडी छनोट गर्नुपर्छ जस्तो मलाई लाग्छ । जसले राम्रो खेल्छ उसले अवसर पाउनुपर्छ ।
सरकारी तथा अन्य संघसंस्थाले सहयोग स्वरुप खेलाडीलाई लाखौँ रुपैया सहयोग गर्ने भएका छन् । तपाईंले सो पैसाको उपयोग कसरी गर्ने सोच्नु भएको छ ?
मेहनतको फल हो । मेहनग गरे फ अवस्य पाइन्छ हामीले पनि मेहनत गर्यौँ र नेपालको एउटा इतिहास रच्यौँ त्यसको फलस्वरुप पुरस्कार पाउनु स्वभाविक हो । कसैले परिवारमा सेयर गर्ने सोच्नुभएको होला, कसैले जग्गा किन्ने, कसैले खेलका लागि आवश्यक भौतिक पुर्वाधार जुटाउने त कसैले बचत गर्ने । मैले अहिल्यै कुनै योजना बनाएको छैन । पैसा हातमा पनि परिसकेको छैन । हेरौँ के हुन्छ सायद बचत गरेर राख्छु कि ।
फुटबल क्षेत्रमा प्रवेश गर्नुको विशेष काराण वा अवस्था केही छ की ?
त्यस्तो कारण र अवस्था भन्दा पनि मेरो साने देखि रुची यही षेत्रमा भयो । मेरो बुबा, काका फुटबल खेलाडी भएकाले पनि होला घरमा बलहरु हुन्थे, बाहिरबाट आउँदा उहााहरुले मलाई पनि ल्याइदिनुहुन्थ्यो त्यसरी खेल्दै जाँदा यही क्षेत्रमा लागियो । पछि स्थानीयस्तरमा खेल्दै जाँदा, राष्ट्रिय हुँदै आज अन्तर्राष्ट्रियस्तरमा खेल्ने अवसर मिलेको छ । त्यही हो, सानै देखि यस क्षेत्रमा रुचि भएको र घरपरिवारबाट पनि सहयोग मिलेकाले आज यहाँसम्म आइपुगेको हुँ ।
तपाईंको जीवनको सवैभन्दा महत्वपूर्ण क्षण ?
मैले माल्दिभ्स विरुद्धको खेलमा गरेको ह्याट्रिकको क्षण मेरा लागि निकै महत्वपूर्ण रह्यो । त्यो मेरो लागि अन्तर्राष्ट्रियस्तरमा पहिलो सफलता पनि थियो र मलाई लाग्छ आगामी दिनमा प्रेरणाको स्ेत पनि बन्नेछ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
नेपालीहरु फुटबललाई निकै माया गर्नुहुन्छ । अर्थात भनौँ न ‘डाइ हर्ट फ्यान’ हुनुहुन्छ । उहाँहरको माया, साथ र सहयोगको अझै अपेक्षा गर्दछु र मैले मेरो दशे र नेपाली फुटबलका लागि सक्दो राम्रो गर्ने प्रयास गर्नेछु । अब हामीले सार्कलाई तयारीका रुपमा लिएका छौँ । त्यसमा पनि राम्रोे खेल्ने र खस्कदो फुटबल क्षेत्रलाई माथी उठाउने तर्फ लाग्ने छौँ ।
kathmandutoday
Post a Comment