काठमाडौं, ११ माघ । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल भारतवीचको सम्बन्धमा सामान्य असमझदारीले समस्या ल्याएपनि त्यो पछिल्लो समयमा हट्दै गएको बताएका छन् ।
मित्र राष्ट्र भारतको ६७ औं गणतन्त्र दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले राजधानीमा आज आयोजना गरेको नेपाल भारत सम्बन्धः सम्भावना र चुनौति विषयका अन्तक्र्रिया कार्यक्रमलाई संबोधन गर्दै भने, ‘सामान्य असमझदारीले नेपाल भारतवीचको सम्बन्धमा समस्या ल्याएको हो । दुबै देशको साझा प्रयासमा असमझदारीका काला बादल हट्दै गएको छ । अब सम्बन्ध सुमधुर र प्रगाढ बन्दैछ ।’
उपप्रधानमन्त्री थापाले विगतका घटनाक्रमबाट पाठ सिकेर सम्बन्ध अगाडि बढाउनेमा सकारात्मक सोच हुनु पर्ने धारणा राख्दै निकट छिमेकी रहँदा सम्बन्धमा उतार चढाव आउनु अस्वभाविक नभएको टिप्पणी गरे ।
उनले भने, ‘नेपाल र भारतवीच बहुआयामिक सम्बन्ध छ । निकट छिमेकी भएको कारणले सम्बन्धमा उतार चढाव अस्वभाविक होइन । अब सम्बन्ध सुदृढ बनाउन, असमझदारी हटाउन विश्वास बढाउनु पर्छ । अबको ध्यान आर्थिक विकासको लागि भारतसँगको सम्बन्ध राम्रो बनाउनु पर्छ । छिमेकीको प्रगतिबाट हामीले लाभ लिनु पर्छ । नेपाल प्रति भारतमा सद्भावको कमि छैन त्यसलाई कायम राख्नु पर्छ ।’
उपप्रधानन्त्री थापाले विविध विचारका विचबाट साझा संविधान निर्माण गर्नु पर्ने भएकोले संविधान सम्झौताको दस्तावेजको रुपमा आएको भन्दै संविधान गतिशिल दस्तावेज भएको कारण समय अनुकुल परिमार्जन गर्न सकिने भएकोले आन्दोलन रोकेर समस्या समाधानको दिशामा अघि बढ्न मधेसी मोर्चालाई आब्हान गरे ।
नेपाली काग्रेसका उपसभापति रामचन्द्र पौडेलले अन्तरिम संविधानले प्रत्याभुत गरेको अधिकारलाई तलमाथि हुन नदिने स्पष्ट पारे ।
उनले भने,‘ हामीले मधेसको भावना अनुसार संविधान संसोधन गर्यौ तर मधेसी मोर्चाले माग पुरा भएन भनेको छ । पुरा हुन बाँकी कुराहरु बार्ताबाट समाधान गन प्रतिबद्ध छौ अन्तरिम संविधानमा भएको अधिकार कटौति हुन दिन्नौ ।’
पौडेलले मोर्चालाई बार्ताको लािग आब्हान गर्दै राष्ट्रप्रति उत्तरदायी भएर आउनु पर्ने सुझाव दिए ।
उनले भने, ‘आफ्नो अधिकार खोज्दा अरुको अधिकार हनन गर्नु हुँदैन । मलाई विश्वास छ उहाँहरुले आन्दोलनको स्वरुप परिवर्तन गरेर सहयोगात्मक भावनाका साथ आउनु हुन्छ ।’
पौडेलले लोकतन्त्रमा एकले अर्काको सम्मान र अस्तित्व स्विकार गर्ने प्रचलन स्मरण गर्दै मोर्चाले काग्रेसको महाधिवेशन सम्पन्न गर्न गाँउ, क्षेत्र र जिल्ला अधिवेश निर्वाध रुपमा सम्पन्न गर्न सहयोग गर्ने विश्वास ब्यक्त गरे ।
नेपाल भारतवीच आत्मीय सम्बन्ध भएकोले कहिले काही उतार चढाव आउनु स्वभाविक भएको भन्दै अब सङ्क्रिण मानसिकताबाट मुक्त भएर उदार भावले अघि बढ्नु पर्ने धारणा उनले राखे ।
पौडेलेले भने, ‘दाजु भाई, श्रीमान्, श्रीमाती एक ठाँउमा सुत्दा लात्ती लाग्छ । छिमेकी भएपछि ठाकठुक हुन्छ । सबै दृष्टिले नेपाल भारत सम्बन्ध अभिन्न छ । राजनीतिक नेताहरुले अब पारदर्शि ब्यवहार गर्नु पर्छ र एकको प्रगतिबाट अर्कोले लाभ लिनु पर्छ ।’
नेपालकालागि भारतीय राजदुत रञ्जित रेले कस्ले के गर्यो भन्दा पनि आफूहरुको सरोकार मन्त्रीपरिषदले पास गरेको चार बुँदे प्रस्तावमा रहेको भन्दै त्यसै अनुसार संविधानमा संसोधन हुनु पर्ने धारणा राखे ।
उनले भने, ‘हामी मन्त्री परिषदले अनुमोदन गरेको प्रस्तावलाई चिन्छौ । संविधान संसोधन नेपालको राजनीतिक समस्या समाधानको लागि सकारात्मक विकासक्रम भएकोले भारतले त्यसै अनुसार लिएको छ ।’
राजदूत रेले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको मिति अहिलेसम्म तय भईनसकेकोले मिति तय भएपछि भारतले स्वागत गर्ने भन्दै भ्रमणको क्रममा धेरै विकासका मुद्दाहरुमा साझदोरी हुने विश्वास ब्यक्त गरे ।
उनले भारतसँग जोडिएको तराई अशान्त हुँदा त्यसले भारतलाई समेत असर पर्ने भन्दै त्यसलाई बार्ताबाट छिटो समाधान गर्नु पर्ने सुझाव दिए ।
राजदूत रेले भने,‘हामी हाम्रो विकास गर्न चाहन्छौ । दोहोरो अंकको आर्थिक बृद्धिदर चाहन्छौ तर छिमेकी अशान्त भए हाम्रो ध्यान स्वभाविक रुपमा त्यता तिर ध्यान जान्छ त्यसैले नेपालमा स्थायीत्व हुनु पर्छ भन्ने हाम्रो भनाई हो । त्यसको लागि लचकताकासाथ प्रयास गर्नु पर्छ । एसियाले विकास गरिरहेको छ भने हाम्रो अर्थतन्त्र पनि त्यसै अनुसार अगाडि बढाउनु पर्छ । द्धन्द्धमा बसिरहे भविष्याको पुस्तालाई के दिने ?’
उनले भारत र नेपालवीचको सम्बन्ध सस्कृतिक, धार्मिक र जनतावीचको मात्रै नभई भौगोलिक र प्राकृतिक रुपमा घनिष्ट भएकोले घनिष्ट सम्बन्धमा कहिले काही समस्या हुनु स्वभाविक भएकोले त्यसलाई मिलेर सुधार्नु पर्ने भन्दै यस्ता घटनाक्रमहरुपछि सम्बन्ध झनै बलियो भएको ईतिहास रहेको उल्लेख गरे । राजदुत रेले भने देपालको हितमा भारतको हित छ । अर्थात एक अर्काको हितसँग एक अर्काको हित जोडिएको छ । अहिले सम्बन्ध राम्रो हुँदैछ ।’
उनले नेपालको प्राकृतिक स्रोत साधनको उपयोग र विकासको लागि भारतको सहयोग अनिवार्य भएको भन्दै भारतसँग जोडिएको योजनामा नेपालमा राजनीतिक किन धेरै हुन्छ भनि प्रश्न गरे ।
राजदूत रेले नेपालले अब विकासकोलागि प्राथमिकता निर्धारण गर्नु पर्ने भन्दै ढिला भए लगानी गर्न समस्या हुने जिकिर गरे ।
उनले नेपालमा राजनीतिक घटनाक्रममा भारतको नाम धेरै जोडिने गरेको भन्दै यो धारणालाई अगाडि बढाएर सम्बन्ध राम्रो हुन नसक्ने तर्फ सचेत गराए ।
राजदुत रेले भने,‘ नेपालका सबै आन्दोलनमा भारतको चर्चा गरिन्छ । अहिले मधेस आन्दोलनमा पनि भारतको सर्मथनको कुरा गरिदैछ । यस्तो धारणा बढाएर सम्बन्ध राम्रो हुँदैन । अब दुबै देशले फाईदा लिने गरी आर्थिक साझेदारी गर्नु पर्छ । आर्थिक विकासमा ब्यवहारिक हुनु पर्छ । नेपालमा सहि बातावरण भए विदेशी लगानी आउँछ । त्यसकोलागि सरकारले बातावरण सृजना गर्नु पर्छ ।’
नेपाली काग्रेसकी विदेश विभाग प्रमुख सुजाता कोइरालाले संविधान संसोधनले पनि मधेसको समस्या समाधान नहुनु रहस्यपूर्ण रहेको भन्दै यो अस्थिरता ल्याउने षडयन्त्र भएकोले यसमा गंभिर हुनु पर्नेमा जोड दिईन ।
उनले नेपाली काग्रेस र मधेसको सम्बन्ध तोड्न मधेसी मोर्चा नियोजित षडयन्त्रमा लागेको आरोप लगाउँदै त्यो भए नेपाल कमजोर हुने तर्क गरिन ।
उनले भुकम्पको पीडामा रहेका नेपालमा नाकाबन्दीले गर्दा भारतप्रतिको हेर्ने दृष्टिकोण फेरिएको भन्दै नाकाबन्दी खोलेर समस्या समाधान गर्न भारतसँग आग्रह गरिन ।
कोइरालाले भनिन, ‘भारतले पनि समस्या समाधानमा भूमिका खेल्नु पर्छ । यसमा गंभिर भएर नसोचे यसले कसैलाई पनि फाईदा गर्दैन । नेपालमा नाकाबन्दी र अस्थिरताको अवस्था छ । सभासदहरु जिल्ला जान सकिरहेका छैनन । भारतले समस्या समाधान गर्न आफ्नो ध्यान आर्कषित गर्नु पर्छ ।’
उनले अहिले नेपाललाई कमजोर पार्ने ग्राईण्ड डिजाईन भईरहेको दावी गर्दै नेपाल गरिब भए भारतलाई पनि असर पर्ने भएकोले प्रजातान्त्रिक आन्दोलनमा रहेको जस्तै सद्भाव विकासमा पनि हुनु पर्ने तर्क गरिन ।
dainiknepal
Post a Comment