बाबुराम अपराधीकरणको बाटोमा लागेः प्रचण्ड

काठमाडौँ, ११ पुस । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले आगामी दुई वर्षभित्र सबै माओवादी पार्टीलाई मिलाएर मुलुककै सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा आफू लागेको दाबी गर्नुभएको छ ।
एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा कोटेश्वरमा आज आयोजित १२२औँ माओत्सेतुङ जयन्ती समारोहलाई सम्बोधन गर्दै उहाँले मुलुक एमाओवादीको एजेण्डामा अगाडि बढे पनि माओवाद मान्ने घटकहरु नै विभिन्न टुक्रामा विभक्त हुनु राम्रो नभएको बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो –‘‘नेतृत्व, कार्यकर्ता तह कसले कहाँ के कति गल्ती गरे त्यसको समग्र समीक्षा गरिनुपर्छ । सबैले आत्मालोचना गरेर नयाँ आधारमा अगाडि बढ्नुपर्छ । अब पनि पुरानै तरिकाले अगाडि बढियो भने न त मुलुकको हित हुन्छ न त नेपाली जनताको नै कुनै प्रगति हुन्छ ।’’
केही दिनअघि सम्पन्न केन्द्रीय समितिको बैठकले सबै माओवादी घटकलाई एकताका लागि आह्वान गरेको र परिणाम सकारात्मक दिशातिर नै गइरहेको उहाँको कथन थियो ।
एमाओवादी तेस्रो पार्टी भए पनि मुलुकको समस्या समाधान गर्न नेतृत्व प्रदान गरिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले लहड र सनकका आधारका कुनै पनि विषय सार्थक निष्कर्षमा पुग्न नसक्ने स्पष्ट पार्नुभयो ।
मुलुक, जनता र राष्ट्रियता तथा सार्वभौमसत्ताको पक्षमा अडान राख्दा आफ्नो पार्टी पटक–पटक टुक्रा पारिएको भन्दै उहाँले एमाओवादी जस्तोसुकै सङ्कटमा फसे पनि जनताको पक्षमा काम गर्न नछाड्ने दृढता व्यक्त गर्नुभयो ।
एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माणमा लाग्नुभएका डा बाबुराम भट्टराईप्रति परिलक्षित गर्दै अध्यक्ष दाहालले भन्नुभयो – “केही मान्छे माओवाद छाडेर आफूखुसी गर्दै हिँडेका छन् । यसले सहिद, घाइते, बेपत्ता नागरिकको भावना विपरीत काम भएको छ । कतै यो अपराधीकरणको दिशामा त लागेको छैन ?’’
आफ्नो कुनै पनि व्यक्तिगत स्वार्थ नभएको स्पष्ट पार्दै अध्यक्ष दाहालले सम्पूर्ण ध्यान राष्ट्रको समुन्नतिमा नै केन्द्रित रहेको बताउनुभयो ।
मुलुकले भोग्नुपरेको विद्यमान समस्या समाधानका लागि आफू र आफ्नो पार्टी क्रियाशील रहेको उल्लेख गर्दै उहाँले तराई–मधेसको समस्या राजनीतिक तवरले हल गर्ने र संविधानको सहज कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
पार्टी बल्ल सही ठाउँमा
एमाओवादीका नेता अमिक शेरचनले पार्टी बल्ल सही ठाउँमा आइपुगेको उल्लेख गर्दै राष्ट्रियताको जगेर्ना र सार्वभौमसत्ताको पक्षमा देखाएको अडान सार्थक रहेको बताउनुभयो ।
पद र प्रतिष्ठाका लागि राजनीतिमा नलागेको भन्दै नेता शेरचनले पछिल्लो पटक आफूलाई राष्ट्रपतिको प्रस्तावसमेत आएको, विगतमा एमालेले अध्यक्ष बन्न अनुरोधसमेत गरेको उल्लेख गर्नुभयो ।
नेता शेरचनले भन्नुभयो – ‘‘म पद र प्रतिष्ठाका लागि पार्टीमा लागेको होइन, मलाई मोह पनि छैन । पार्टीले आन्दोलनको कार्यक्रम ल्याओस् म नेतृत्व गर्न तयार छु ।’’
क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापाले डा बाबुराम भट्टराईले माओवाद असफल भयो भनेर गैरकम्युनिस्ट राजनीतिमा लागेको आरोप लगाउनुभयो ।
उहाँले जनयुद्धका क्रममा मारिएका १७ हजार नागरिकको परिवारलाई डा भट्टराईले कुनै जवाफ दिनुपर्छ कि पर्दैन ? मलाई काम गर्न दिएनन्, पार्टी बिग्रेको भन्दै मझदारमा छोडेर हिँड्न मिल्छ ? भन्ने प्रश्न गर्नुभयो । रासस
dainiknepal
Labels:

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget