पुस १३, २०७२- गृहमन्त्री शक्ति बस्नेतले मधेसी मोर्चाका नेता राजेन्द्र महतो विराटनगर नाकाका प्रदर्शनका क्रममा शनिबार प्रहरीको कुटाइबाट घाइते नभएको दाबी गरेका छन् ।
'कतिपय आन्दोलनकारी नेपालतर्फ थिए भने कतिपय जोगवनीतर्फ गएर नेपालतर्फ ढुंगा हानेका थिए' बस्नेतको भनाइ उद्धृत गर्दै आयोगका एक अधिकारीले भने- 'पछि महतो घाइते भएको भन्दै भारततर्फबाट एम्बुलेन्समा ल्याइयो । महतो आन्दोलनकारीले हानेको ढुंगा लागेर घाइते हुनुभएको हो कि भारतीय प्रहरीको लाठी लागेर अझै खुल्न बाँकी छ ।' गृहमन्त्रीले महतोको स्वास्थ्य अवस्था अहिले गम्भीर नरहेको दाबीसमेत गरेका थिए ।
मधेस समस्याको समाधान तत्काल खोज्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले तराई-मधेसमा जारी आन्दोलनले सर्वसाधारणलाई दैनिक जीवन चलाउन अत्यन्त कठिन भएकाले तत्काल वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका पदाधिकारीले सोमबार गृह मन्त्री शक्ति बस्नेतलाई आफ्नो कार्यकक्षमा बोलाई तराई-मधेसमा जारी आन्दोलन, भारतको नाकाबन्दी र त्यसबाट आमजनताको दैनिकीमा पारेको समस्या र मधेसमा भइरहेका हिंसात्मक झडपका बारेमा छलफल गरेको थियो ।
गृह मन्त्रीसितको छलफलपछि आयोगले सोमबार नै विज्ञप्ति जारी गरी लामो समयदेखि तराई-मधेसमा जारी आन्दोलनले गर्दा मानव अधिकारको उपभोगमा गम्भीर असर परेको उल्लेख गर्दै तत्काल वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको हो । आयोगले लामो समयदेखि तराई-मधेस बन्द र भारतले गरेको नाकाबन्दीका कारण जनताको दैनिक जनजीवनमा गम्भीर समस्या आएको भन्दै समाधानका लागि सरकार र सरोकारवाला निकायसँग छलफल गर्दै आएको छ ।
आयोगले आम नागरिकको अभिभावकको रूपमा मानव अधिकारको सम्मान, संरक्षण र परिपालन गर्नमा राज्यले अझ बढी गम्भीर भूमिका निर्वाह गर्नुपर्ने आग्रहसमेत गरेको छ ।
ekantipur
Post a Comment