काठमाडौँ, १३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसमितिको बैठकले यही पुस २७ गते पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय गरेको छ । बैठकले सरकारमा पार्टीको सहभागिताको समीक्षा गर्न नेता बुद्धिमान तामाङको संयोजकत्वमा प्रेमबहादुर भण्डारी र बाबुराम बस्नेत सदस्य रहने गरी समिति गठन गरेको छ ।
मधेस आन्दोलनलाई यथार्थ रुपमा अध्ययन गरी त्यसलाई सम्बोधन गर्न विभिन्न उपायको खोजी गर्ने र सरकारलाई सुझाव दिने निर्णय बैठकले गरेको छ । त्यसैगरी राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन पुनःलेखन समिति गठन गरिएको सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।
यही पुस ११ गते पार्टी अध्यक्ष पशुपतिशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकमा सोही दिन पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पार्टीको अध्यक्षका रुपमा केन्द्रीय समितिले सर्वसम्मत पारित गरेको थियो । यसअघि नै पार्टीको महाधिवेशन हुन अब बाँकी रहेको १८ महिनाको समयमा चक्रीय प्रणालीअनुसार पार्टीको नेतृत्व चन्द, राणा र नेता डा प्रकाशचन्द्र लोहनीलाई प्रदान गर्ने निर्णय बैठकले गरेको थियो । रासस
/purbelinews
Post a Comment