महन्थले भने, ‘हो, पुस १९ गते आन्दोलनका कार्यक्रम परिवर्तन गर्दैछौं’
पुस १४, २०७२- तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आन्दोलनका कार्यक्रम परिवर्तन गर्ने जानकारी दिएका छन् । उनले पुस १९ पछि बस्ने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी अन्त्य गर्ने सहितको विषयमा छलफल हुने बताए ।
मंगलबार कान्तिपुर दैनिकमा मोर्चाले सिमाको धर्ना छाड्नेबारे समाचार प्रकाशित भएको थियो ।
‘अहिले पुस १९ गते सम्मको कार्यक्रम चलिरहेको छ,’ आन्दोलनका कार्यक्रम समय समयमा परिवर्तन हुँदै आएको बताउँदै ठाकुरले मंगलबार पत्रकारहरुसित भने, ‘त्यसपछि बस्ने मोर्चाको बैठकमा नाकाबन्दी अन्त्यसहितका एजेण्डाहरुमा छलफल हुन सक्छ ।’
ठाकुरलाई ज्ञापन पत्र बुझाउन रिपोर्टर्स क्लवको टोली तमलोपा कार्यालय पुगेको थियो ।
अध्यक्ष ठाकुरले आफूहरुको ११ बुँदे प्रस्तावमा बुँदा गत रुपमा छलफल गर्दै सहमति भएका विषयलाई एकातिर राखेर सहमति नबनेका विषयमा छलफल गर्दै जानु पर्ने बताए । उनले राज्यले विश्वासिलो बातावरण बनाए तीन महिनामा सीमांकन मिलाउने विषयमा पनि सहमति हुन सक्ने संकेत गरे । ‘तीन महिनामा सीमांकन मिलाउने विषयमा हामीलाई विश्वास दिलाउन सक्नु पर्यो नि,’ उनको भनाइ थियो ।
अध्यक्ष ठाकुरले सरकारले वार्ताबाट समस्याको समाधान नचाहेकोले अहिलेसम्म समाधान नभएको भन्दै कांग्रेस र एमाओवादीसँगको वार्ता पनि कुनै निष्कर्षमा पुग्न नसकेको बताए ।
नाकाबन्दीकारण भूकम्प पीडितले ज्यान गुमाउनुपरेको आरोपमा सत्यता नभएको ठाकुरको भनाइ छ । उनले भने, ‘प्राधिकरण विद्येयक पारित गर्न सहयोग गर्यौं । भर्खर सीईओ नियुक्त गरिएको छ । हामीले होइन, सरकारका कारण पीडितको ज्यान गएको छ ।’
ekantipur
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.