चिसोका कारण धादिङ, गोरखा, ललितपुर, दोलखा, रसुवालगायत जिल्लामा भूकम्पपीडितको निधन भएको समाचार सार्वजनिक हुन थालेपछि आयोगले चासो व्यक्त गरेको हो ।
चिसोका कारण बिरामी परेका र बढी समस्या भएका क्षेत्रमा सोमबारै औषधिमूलो उपलब्ध गराउन आयोगले स्वास्थ्य मन्त्रालयका सचिवलाई निर्देशन दिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र साझाको पेट्रोल पम्पबाट इन्धन उपलब्ध गराउन र कुनैपनि बहानामा भूकम्पपीडितले दुःख पाउन नहुनेमा आफूहरुले सम्बन्धित सरोकार भएका पक्षको ध्यानाकर्षण गराएको आयोगका प्रवक्ता कृष्णहरि पुष्करले जानकारी दिए ।
तत्कालका लागि न्यायो कपडा किन्न भन्दै सरकारले भूकम्पपीडितलाई रु १० हजार उपलब्ध गराउने भनेर जिल्ला जिल्लामा पठाइएको रकम वितरण नभएको र राहत वितरण प्रभावकारी नभएको भन्दै नागरिकको तहबाट व्यापक गुनासो आएपछि आयोगले सात दिनभित्रै भूकम्प प्रभावित १४ ओटै जिल्लामा उक्त रकम वितरण गर्न र त्यसको जानकारी आयोगलाई गराउन आग्रहसमेत गरेको छ ।
कतिपय जिल्लामा राहत रकमको अख्तियारी गएको भएपनि कर्मचारीको अभाव, प्रक्रियागत झन्झट, यातायातको असुविधा र इन्धनको अभाव रहेको भन्दै वितरण नगरेको पाइएको छ ।
यस्तै, विभिन्न भन्डारणस्थलमा राहत सामग्री थुप्रिएको भएपनि पीडितलाई वितरण नभएको, न्यानो कपडा झापा र मोरङमा आएको लामो समय भएपनि पीडितकहाँ नलगिएको र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गोदाममा भूकम्प प्रभावित क्षेत्रका लागि भनेर आएको औषधिसमेत नपठाइएकाले तत्काल सम्बन्धित क्षेत्रमा पठाउन आयोगले ध्यानाकर्षण गराएको छ ।
जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत् तत्काल राहत वितरण गरेर त्यसको जानकारी दिन र अटेर गर्ने कर्मचारी तथा संयन्त्रलाई तत्काल विभागीय कारबाही गर्न आयोगले आग्रह गरेको छ ।
स्थलगत अनुगमन
आयोगले राहत वितरण प्रक्रियाको स्थलगत अध्ययनसमेत गर्ने जनाएको छ । ‘गोरखा भूकम्प’का कारण प्रमुख प्रभावित १४ र प्रभावित ३१ जिल्लामा आयोगको टोली अनुगमनका लागि परिचालन हुने प्रवक्ता पुष्करले जानकारी दिए ।
प्रकोपपीडित जनतालाई लामो समयसम्म प्रभावकारी रुपमा सम्बोधन गर्न नसक्नु सरकार र सरकारी निकायको कमजोरी रहेको भन्दै आयोगले किन त्यस्तो गरिएको हो भन्ने प्रश्न गरेको थियो ।
दलको विवादका कारण भर्खरमात्र पूर्णता पाएको भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणले कामसमेत सुरु गरिनसकेको अवस्थामा सरकारी निकायको दायित्व जनतालाई सेवा दिने भएपनि त्यसतर्फ ध्यान नदिएको नागरिक तहबाट असन्तुष्टि व्यक्त हुँदै आएको थियो ।
पाल तथा जस्ताको अस्थायी छाप्रोमा बस्दै आएका नौ भूकम्पपीडित चिसोका कारण अकालमा ज्यान गुमाउन बाध्य भएका छन् ।
राहत नपाए गोरखा, धादिङ, रसुवा, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगालगायत उच्च पहाडी तथा हिमाली क्षेत्रका भूकम्पपीडित थप मर्कामा पर्ने देखिएको छ ।
छलफलमा सहभागी मन्त्रालयका सचिवले आफूहरुले तत्काल नै राहत वितरण प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए । रासस
imagekhabar
Post a Comment