मङ्गलबार १५ मंसिर, २०७२
कुनै बेला सँगै थिए दाहाल-भट्टराइ
काठमाडाैं—एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी परित्याग गरेर हिँडेका बाबुराम भट्टराईको भण्डाफोर गर्न कार्यकर्तालाइ लिखित निर्देशन दिएका छन्।
मंगलवारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत् अचानक पार्टी परित्याग गरी 'नयाँ शक्ति'को बहसमा लागेका भट्टराई नियोजित रुपमा अघि बढेको निष्कर्ष निकाल्दै दाहालले लिखित रुपमा निर्देशन दिएका हुन्। भट्टराईको पार्टी परित्यागपछि एमाओवादीको केन्द्रीय समिति बैठक पहिलाे पटक बसेको हो।
'बाबुराम भट्टराईमा विकसित भएको वैचारिक, राजनैतिक र साँस्कृतिक विचलनको सैद्धान्तिक खण्डन, आलोचना र भण्डाफोर गर्दै आफ्नो पंक्ति र आम श्रमजीवी जन–समुदायलाई प्रशिक्षित गर्नु पार्टीको नीति हुनेछ' दाहालले बैठकमा पेश गरेकाे प्रतिवेदनमा उल्लेख गरेका छन्। भण्डाफाेरकाे निर्देशन दिए पनि दाहालले सैद्धान्तिक विरोधका सन्दर्भमा व्यक्तिगत गाली गलैज, लान्छना र चरित्र हत्या गर्ने शैलीलाई नअपनाउन कार्यकर्तालाइ निर्देशन दिएका छन्।
भट्टराईको पार्टी परित्याग अाकस्मिक नभई नियोजित रूपमा भएको पनि दाहालकाे प्रतिवेदनमा उल्लेख छ। 'बाबुराम भट्टराईको पार्टी परित्यागको निर्णय कुनै आवेगमा आएर भूलबस गरिएको निर्णय होइन बरु नियोजित रुपमा चालिएको कदम हो, जसबाट यो निर्णयका पछाडिको गम्भीरतालाई स्पष्ट हुन्छ' दाहालको निष्कर्ष आएको छ, 'त्यसमाथि नयाँ संविधानप्रति भारतको असन्तुष्टि र नेपालमाथि लगाइएको अघोषित नाकाबन्दी कै समय छानेर पार्टी परित्यागको घोषणा गर्नुले प्रश्न अझ गम्भीर बन्न गएको छ।' दाहालले भट्टराईले पार्टी परित्याग गरेकोमा भन्दा समय रोजेको बिषयलाई प्रतिवेदनमा महत्वका साथ उठाएका छन्।
भट्टराईमा चरम अराजकतावादी ब्यक्तिवाद हावी भएको र गैरमार्क्सवादी शक्तिहरुसँग रमाउने थालेको बिषयलाई महत्वका साथ हेरिनु पर्नेमा जोड गरेका छन्। 'पार्टी र आफ्ना सबै सहयोद्धाहरुलाई छलेर कसैको सल्लाहबिना एकलौटी र व्यक्तिगत रुपमा पार्टी छोड्नु, पार्टी कमरेडहरुलाई छाडेर मार्क्सवादी विरोधीहरुसँग सहकार्यमा रमाउनु, आफूलाई मत दिएर संविधानसभा र व्यवस्थापिका संसदमा विजयी गराउने जनतालाई पत्तो समेत नदिई संसद छोड्नु जस्ता क्रियाकलापले बाबुराम भट्टराईमा रहेको चरम अराजकतावादी व्यक्तिवादलाई छर्लङ्ग पारेकाे छ', दाहालले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
दाहालले नयाँ शक्तिको बैचारिक आधार मार्क्सवाद नभएको ठोकुवा पनि गरेका छन् । 'नयाँ शक्तिको वैचारिक आधार माक्र्सवाद होइन बरु सामाजिक लोकतन्त्रका रुपमा पुँजीवादी सुधारवाद हो' उनले भनेका छन् ।
भट्टराईले मिसनमा लागेको निष्कर्ष निकाल्दै अध्यक्षले सर्तकर्ता अपनाउनु पर्नेमा जोड गरेका छन्। 'तथ्यहरुले आज यो पनि स्पष्ट गरिरहेका छन् कि वहाँको मिसन नयाँ शक्तिका नाममा माओवादी शक्तिलाई क्षतविक्षत पार्न प्रतिक्रियावादीहरुलाई सहयोग पुर्याउनु हुन गएको छ' दाहालको भनाई छ, 'देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरुले चाहेका जस्तै माओवादी पार्टी र यसको नेतृत्वविरुद्ध 'रातो स्टीकर' र 'अख्तियार'सम्मका कुरा उठाउनुले उहाँको त्यो मिसनलाई नै संकेत गर्दछ।'
वस्तुतः बाबुराम भट्टराईको पार्टी परित्याग, माक्र्सवाद, कम्युनिष्ट आन्दोलन, जनयुद्ध र त्यसका महान् सहिद, वेपत्ता योद्धा र श्रमजीवी जनतालाई परित्याग गर्नु तथा प्रतिक्रियावाद र अवसरवादसँग नयाँ सम्बन्ध कायम गर्नु बन्न गएको दाहालको निष्कर्ष छ।
माअाेवादी जनयुद्धकाे सैद्धान्तिक तथा राजनीतिक प्रतिपादक भट्टराइले असाेज ९ गते पार्टी र संसद परित्यागको घाेषणा गरेका थिए। त्यसपछि उनी नयाँ शक्ति निर्माण गर्ने भन्दै छलफल र अन्तरक्रियामा व्यस्त छन्। उनले नयाँ शक्तिका लागि दाैडधुप गरिरहेकाे अवस्थामा पूर्व सहयात्री अध्यक्ष दाहालकाे यस्ताे टिप्पणी अाएकाे हाे।
nagariknews
Post a Comment