काठमाडौं– भारतको बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले मधेसको विषय नेपालको आन्तरिक मामिला भएको भन्दै यसलाई सम्बोधन गर्न नेपालका नेताहरु सक्षम भएको टिप्पणी गरेका छन्।
'पहाडी, मधेसी र जनजाति सबै नेपाली हुन्। यहाँका नेताहरु उनीहरुको समस्या सम्बोधन गर्न सक्षम छन्,' रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, 'हामी त केवल नेपालको प्रगति र सद्भाव चाहन्छौं।' कार्यक्रममा नितिशले मधेसी नेताहरुले आफूलाई भेटेर अन्तरिम संविधान भन्दा पनि कम अधिकार बर्तमान संविधानले दिएको भनी असन्तुष्टी ब्यक्त गर्ने गरेको सुनाउँदै आफूले उनीहरुलाई यो समस्या नेपालमै समाधान गर्न सुझाव दिएको बताए।
'नेपालको जति पनि समस्या छ, त्यो समस्या नेपालीहरुले नै समाधान गर्ने हो,' उनले भने, 'नेपालको आन्तरिक मामिलामा भारतलाई तान्न हुँदैन। नेपालका दलहरुले समस्या समाधान गर्न सक्छन भन्ने प्रमाणित भईसकेको छ।' नितिश कुमारले नेपालको संविधान नेपालीहरुको लागि आएकोले यसमा भारतको कुनै आपत्ति नभएको समेत धारणा राखे। उनले नेपाल भारत सम्बन्ध अटुट भएको उल्लेख गर्दै भारतको एकमात्र चाहना नेपालको विकास भएको बताए।
'भारतीयहरु नेपालसँग भावनात्मक रुपमा जोडिएकोले नेपालले पनि विकास गरोस् भन्ने चाहन्छन्। नेपालमा विकासको धेरै सम्भावना छ । भुटानको भन्दा धेरै नेपालमा जलविद्युतको सम्भावना छ। मैले सुनेको छु,' उनले भने, 'यहाँ एक लाख मेघावाट विद्युत उत्पादनको क्षमता छ। यसलाई उपयोग गर्न सके नेपालको आर्थिक विकास हुन्छ।' उनले नेपालमा आवश्यकबाहेकको विद्युत् भारतले खरिद गर्ने बताउँदै नेपालको विकासको सम्भावना सबैले बुझ्नु पर्ने र यसैमा आफुहरुको स्वार्थ रहेका बताए।
'नेपालको विकास भए भारतलाई राम्रो लाग्छ। दुई देशवीच राम्रो सम्बन्ध छ,' उनले भने, 'मैले प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुसँग कुरा गरे उहाँहरुको पनि यही भावना छ।' नेपालमा धार्मिक पर्यटनसहित जलविद्युत्, कृषि र उद्योगको सम्भावना रहेको भन्दै यस विषयमा सबै सम्बेदनशिल हुनु पर्ने आफ्नो धारणा सुनाए।
नितिश कुमारले काँग्रेसको १३ औं महाधिवेशनको कारणले पहिलो पटक नेपाल आउने अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पूर्व प्रधानमन्त्री र महत्वपूर्ण व्यक्तित्वहरुसँग कुराकानी गर्ने अवसर पाएको भन्दै यसले आफूलाई हर्षित बनाएको बताए।
nagariknews
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.