मकवानपुर पदमपोखरीका गुन्डानाइके वीरे भनिने वीरबहादुर लामालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ। नवजात शिशुको हत्या गरी जंगलमा फालेको अभियोगमा उनी पक्राउ परेको मकवानपुरका डिएसपी शिशु शर्माले जानकारी दिए।
उनले २०५४ साल माघ २६ गते पदमपोखरीकै बनस्पति जंगलमा नवजात शिशु जन्मने वित्तिकै हत्या गरी खाल्डोमा पुरेका थिए। अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुलाई उनले जंगलमा लगेर मारेका थिए। सर्वोच्च अदालतले समेत उनलाई २०६२ कात्तिक २२ गते नवजात शिशुको हत्या गरेको आरोपमा ४ वर्ष ६ महिना १२ दिन कैद सुनाएको थियो ।
हेटौंडा १७ मा जुवातास खेलिरहेका बेला प्रहरीले उनलाई पक्राउ गरेको हो । १५-२० वर्षअघि उनी पदमपोखरी क्षेत्रमा गुन्डागर्दीमा सम्लग्न थिए। दिउँसै हतियार बोकेर स्थानीय ठेकदार, व्यापारीबाट उनले रकम उठाउने गर्दथे।
आपराधिक क्रियाकलापमा सक्रिय उनी तत्कालिन नेकपा माओवादीले कारबाही गर्ने सुइँको पाएपछि विदेश गएर लुकेका थिए । देशको राजनैतिक स्थिति सहज भएपनि उनी स्वदेश आएका थिए। पछिल्लो समय उनी पदमपोखरीबाट जंगल जंगल हुँदै भारतमा हुने गाई गोरु तस्करीमा लागेका थिए ।
पक्राउपछि कर्तब्य ज्यान मुद्दाको कैद भुक्तानीका लागि केन्द्रीय कारागार भिमफेदी पठाइएको मकवानपुरका डिएसपी शर्माले बताए।
Post a Comment