वासिंटन, माघ १४ । अर्बौंको सम्पत्ति भएका मानिसको जीवन कस्तो होला ? सामान्य दर्जाको मानिसले अर्बपतिको जीवनशैली कल्पना गर्दा विलासी महल, लक्जरी कार, डिजाइनर कपडालाई पक्कै पनि छुटाउँदैनन् । तर अर्बपतिका बारेमा आम मानिसको त्यो सोच विपरीत छन् ‘फेसबुक’ का मालिक मार्क जुकरवर्ग ।
उनले हालै आफ्नो पोशाक सार्वजनिक गरेका छन् । फेसबुक वालमा उनले आफ्नो एक दर्जनभन्दा बढी कपडा देखिनेगरी एउटा तस्वीर पोस्ट गरेका छन् । अचम्म त यो छ कि उक्त तस्वीरमा देखिएका उनका कपडा केवल दुईथरी मात्र छन् । रङ र डिजाइनमा केवल दुईथरी मात्र देखिएका ती कपडा कुनै अर्बपतिका हुन् भनेर सायदै कसैले विश्वास गर्न सक्छ । तर वास्तविकता त्यही नै हो ।
जुकरवर्गले फेसबुकमा उक्त फोटो राखेपछि उनका प्रशंसकहरुले पनि निकै चासो देखाएका छन् । ३७ हजार पटकभन्दा बढी शेयर गरिएको उक्त तस्वीरमा ८० हजारभन्दा बढी प्रतिक्रिया छन् ।
केवल दुईथरी पोशाक देखिइएकोमा धेरैले जुकरवर्गलाई सामान्य जीवनशैलीको मानिस भनेर प्रशंसा गरेका छन् भने केहीले उनलाई धन भएर पनि प्रयोग गर्न नजानेको भन्दै व्यंग पनि गरेका छन् ।
मार्क जुकरवर्ग कुनै औपचारिक कार्यक्रममा सहभागी हुँदा फेसनमा त्यति ध्यान दिदैंनन् । उमेरले युवा पुस्ताकै भए पनि उनी सामान्य ढंगले टिसर्ट, पाइन्ट लगाएर कार्यक्रममा सहभागी जनाउँछन् । उनी आफ्नो कार्यालयमा पनि त्यस्तै पोशामा जाने गर्दछन् ।
जुकरवर्गले एकैखालको पोशाक किन लगाउँछन् ? धेरैको मनमा प्रश्न उठिरहेको पनि हुन सक्छ । एउटा अन्तरवार्तामा अन्तरवार्ताकारले पनि उनलाई यो प्रश्न गरेका थिए । जवाफमा जुकरवर्गले भनेका थिए, ‘मलाई लाग्छ, यस्ता सानातिना कुराका लागि मेरो जीवनमा समय छैन ।’
सामान्य किसिमका पोशाक लगाउनुको कारण दर्शाउँदै उनले भनेका थिए, ‘एउटा अध्ययनका अनुसार यदि कोही बिहानीको खाजा, आफ्नो कपडाजस्ता सानातिना कुराका बारेमा पनि सोच्दछ भने त्यो उसको आफ्नै उर्जा खेर फाल्नुमात्र हो ।’ यस्ता कुरालाई ध्यान दिएर आफू उर्जा खेर फाल्ने पक्षमा नरहेको उनको भनाई थियो । उनले भनेका थिए, ‘म समाजका लागि हर पल केही न केही नयाँ कुरा गरिरहन चाहन्छु, त्यसैले पोशाकमा ध्यान दिन्नँ ।’ (एजेन्सी)
Post a Comment