६७औं गणतन्त्र दिवसमा नेपाललाई भारतले दियो ४० एम्बुलेन्स र आठ बस उपहार


काठमाडौँ, १२ माघ । भारतका राष्ट्रपति प्रणव मुखर्जीले मुलुकको शान्ति, स्थायित्व र छिमेकको विकासमा जोड दिनुभएको छ ।
भारतको ६७औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रका नाममा दिनुभएको सन्देशमा उहाँले उक्त कुरामा जोड दिनुभएको हो । यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित समारोहमा नेपालका लागि उक्त मुलुकका राजदूत रणजित रायले राष्ट्रिय झन्डा फहराई भारतीय राष्ट्रपतिको सन्देश वाचन गर्नुभएको थियो ।
कार्यक्रममा राजदूतावासको रक्षा विभागद्वारा नेपालमा बस्ने भारतीय भूतपूर्व सैनिकका लागि भारत सरकारले प्रदान गर्ने कल्याण कार्यक्रम समेटेर प्रकाशित ‘भूपू २०१५’ शीर्षक पुस्तक विमोचन गरिएको थियो ।

राजदूतले भारतीय सेनाका भूपू सैनिकका विधवा, आश्रित तथा शारीरिक रुपले अशक्त भूपू सैनिकलाई चेक तथा कम्बल समेत वितरण गर्नाका साथै र नेपालका दुर्गम सहित विभिन्न स्थानमा रहेका पुस्तकालय, शैक्षिक तथा तालिम प्रतिष्ठानलाई पुस्तक समेत उपहारस्वरुप प्रदान गर्नुभयो ।
उक्त अवसरमा नेपालको विकासको यात्रामा भारत सरकारको सहयोगको प्रतिबद्धतासहित भारत सरकारद्वारा नेपालका विभिन्न जिल्लाका अस्पताल, नाफा कमाउने उद्देश्य नभएका परोपकारी संस्था तथा शैक्षिक संस्थालाई नेपालमा स्वास्थ्य तथा शैक्षिक सेवा अभिवृद्धि गर्न ४० एम्बुलेन्स र आठ बस उपहारस्वरुप प्रदान गरियो ।

राजदूतले राजदूतावास परिसरमा आयोजित कार्यक्रममा ३३ एम्बुलेन्स र छ बस उपहारस्वरुप प्रदान गर्नुभयो भने बाँकी सात एम्बुलेन्स र दुई बस वीरगन्जस्थित भारतीय महावाणिज्यदूतले वीरगञ्ज महावाणिज्यदूतावासको क्षेत्रअन्तर्गत पर्ने संस्थालाई उपहारस्वरुप प्रदान गर्नुभयो ।
भारतले सन् १९९४ देखि नेपालका ७३ जिल्लामा अवस्थित विभिन्न संस्थालाई ५४२ एम्बुलेन्स प्रदान गरिसकेको छ । नेपालका २५ जिल्लामा रहेका विभिन्न शैक्षिक तथा कल्याणकारी संस्थाका हजारौं विद्यार्थीको विद्यालयमा सहज पहुँचका लागि १०६ बस उपहारस्वरुप प्रदान गरेको छ ।
समारोहमा राजदूतावासका कर्मचारी, तिनका परिवार, भारतीय समुदायका सदस्य तथा अन्य अतिथिको सहभागिता थियो । केन्द्रीय विद्यालय, मोर्डन इन्डियन स्कुल र भारतीय सांस्कृतिक केन्द्रका विद्यार्थीले गाएका राष्ट्रभक्तिका गीतसाथ कार्यक्रम समापन गरिएको थियो । रासस
dainiknepal

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget